वासमा प्रविधि : सेल्फी हाजिरी बन्यो, कर्मचारीको लागि लगाम


काठमाडौ : नयाँ ठाउँमा पुग्न पाएको छैन सेल्फी खिचेर भ्याईसक्छौं । बर्षौं पुराना साथी भेट्यो कि सेल्फी खिचौं भनिहाल्छौं । नयाँ साथीसँग चिनजान भयो भने पनि सेल्फी खिचेर फेसबुकमा टाँसिहाल्छौं । बिहे ब्रतबन्ध जस्ता सामाजिक कार्य, सार्वजनिक कार्यक्रममा पनि सेल्फी खिच्न अघि सरिहाल्ने बानी तपाई सँग पनि धेरथोर मेल खायो होला ? जहाँ खिचौं, जसरी खिचौं, तपाई हामी रहरले सेल्फी खिच्छौं । फोटो पोस्ट गर्छौं । कतिपय सेल्फी त सार्वजनिक नगरी मोबाइलमै डिलिट गर्छौं । तपाई हामीले खिच्ने सबै सेल्फी आफ्नै प्रयोजनका लागि हुन्छन् ।

कतिपय अवस्थामा कर्मचारीले फोन नउठाउने, उठाएपनि झर्किने, सही विवरण नदिने, आयोजनाको वास्तविक प्रगति र प्रतिवेदनमा उल्लेख भएको प्रगतिमा मेल नखाने जस्ता समस्या झेल्दा झेल्दा आजित भईसक्नु भएकी श्रेष्ठ भन्नुहुन्छ ‘अहिले त फोन गरिरहनु पनि पर्दैन, सबै सेल्फी हाजिरी र फोटोबाटै थाहा पाईन्छ ।’

तर ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का फिल्ड कर्मचारीहरुले भने अनिवार्य सेल्फी खिचेर एपमा अपलोड गर्नैपर्छ । एक दिन होइन, सधैं । रहरले होइन, जिम्मेवारी पूरा गर्न । कोष विकास समितिका सूचना व्यवस्थापन प्रणाली अधिकृत रबिन्द्र आचार्यका अनुसार फिल्डमा कार्यरत टिम लिडर तथा इञ्जिनियरले प्रत्येक दिन सेल्फी हाजिरी गर्नुपर्छ । यसका लागि उनीहरुले सेल्फी खिच्नैपर्छ । उक्त दिन साईट अनुगमन गरी त्यसको विवरण समेत फोटो नै अपलोड गर्नुपर्छ ।
यसका लागि हरेक कर्मचारीको मोबाइलमा RWSSDFB.CSM एप इन्स्टल गरिएको हुन्छ । उक्त एपको प्रयोग गरी आयोजना सञ्चालन भईरहेको स्थलमा पुगेर सेल्फी हाजिरी गरिन्छ । फोटो खिचेर अपलोड गर्ने बेला अपलोड गर्ने स्थान, अक्षांश तथा देशान्तर रेखा समेत एपमा भर्नुपर्ने भएकाले सम्बन्धित कर्मचारीले कहाँ बसेर अपलोड गरेको हो भन्ने सजिलै पत्ता लगाउन सकिन्छ ।

फिल्डमा सम्बन्धित कर्मचारीले भरेको विवरण केन्द्रमा बसेका विभागीय प्रमुखहरुले हेर्छन् । उक्त दिन आफू मातहतको कर्मचारीले के कति काम सम्पादन गर्‍यो भन्ने सजिलै पत्ता लगाउन सकिन्छ । एपमा सेल्फी फोटोको साथमा आफूले गरेको कामको विवरण समेत फोटो नै अपलोड गर्नुपर्ने भएपछि कर्मचारी पनि आफ्नो कामप्रति बढी जिम्मेवार हुन्छन् ।

छलछाम गर्ने बानी हट्यो

कोष विकास समितिकी कार्यक्रम व्यवस्थापक ईन्जिनियर अमृत सिन्धु श्रेष्ठको आधा काम त सेल्फी हाजिरीले घटाई दिएको छ । फिल्डमा के भईरहेको छ ? कति प्रगति भयो ? भन्ने कुराहरु फोनबाटै अपडेट गर्नुपर्दा उहाँ हैरान हुनुुहुन्थ्यो । कतिपय अवस्थामा कर्मचारीले फोन नउठाउने, उठाएपनि झर्किने, सही विवरण नदिने, आयोजनाको वास्तविक प्रगति र प्रतिवेदनमा उल्लेख भएको प्रगतिमा मेल नखाने जस्ता समस्या झेल्दा झेल्दा आजित भईसक्नु भएकी श्रेष्ठ भन्नुहुन्छ ‘अहिले त फोन गरिरहनु पनि पर्दैन, सबै सेल्फी हाजिरी र फोटोबाटै थाहा पाईन्छ ।’

सेल्फी हाजिरीले कर्मचारीलाई काम प्रति उत्तरदायी बनाएको उहाँको ठहर छ । श्रेष्ठ भन्नुहुन्छ ‘फोनमा भईरहेको छ मात्र भन्थ्यो, ८० प्रतिशत काम भयो भनेर रिपोर्टिङ भएको आयोजना फिल्डमा गएर हेर्दा ४० प्रतिशत मात्र हुन्थ्यो, अब त झुट बोल्न बन्द भएको छ ।’

कोष विकास समितिका अर्का कार्यक्रम व्यवस्थापक सुनिल तिमल्सिनाको कामलाई पनि सजिलो बनाएको छ, सेल्फी हाजिरीले । रामेछाप, सिन्धुपाल्चोक, उदयपुर लगायत जिल्लाको ५३ वटा आयोजना हेरिरहेका तिमल्सिनालाई सबै जिल्लामा पुगेर योजना अनुगमन गर्न सम्भव थिएन । कतिपय कागजातहरु जोखिम मोलेरै फरवार्ड गरिन्थ्यो । कार्यक्रम व्यवस्थापक तिमल्सिना भन्नुहुन्छ ‘पहिले समयमा प्रतिवेदन नआउने, प्रतिवेदन आएपनि अपूरो आउने, यथार्थमा आधारित नहुने लगायत समस्याले काम गर्न गाह्रो थियो, अहिले चाहिं हाम्रा कर्मचारी कहाँ छन् ? के गरिरहेका छन् ? आयोजनाको प्रगति के हुँदैछ भन्ने सम्मको जानकारी दैनिक प्राप्त हुन्छ ।’

कर्मचारी भन्छन् ‘सर आउनुहुन्छ भनेर मिस्त्री र ठेकेदार पनि चनाखो हुन्छन्’

सेल्फी हाजिरीको बारेमा ठेकेदार, मिस्त्री र खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु सबैलाई त थाहा छैन । तर सेल्फी हाजिरीमा बाँधिएपछि कर्मचारी प्रायः फिल्डमा पुगिरहन्छन् । यसले खानेपानी आयोजनामा काम गर्ने मिस्त्री, ठेकेदार तथा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई समेत चनाखो बनाएको कर्मचारीहरुको अनुभव छ । कोष विकास समितिका सर्लाही र धनुषा जिल्ला सुपरभाईजर बुद्धि प्रकाश शर्मा भन्नुहुन्छ ‘ हामी कार्यालयमा जाँदा पनि हाजिर त गर्नैपर्छ, फिल्डमा हुँदा फिल्डबाट हाजिरी गर्ने हो, हामीलाई भन्दा पनि यसले ठेकेदार, मिस्त्री र उपभोक्ता समितिलाई सक्रिय बनाएको छ ।’

कार्यस्थलबाटै सेल्फी हाजिरी गर्नुपर्ने भएपछि प्रायः कुनै न कुनै आयोजना स्थलमै हुन्छन् कर्मचारी । काम गर्ने क्रममा अन्यौल भएमा जत्तिबेला चाहियो त्यत्ति नै बेला मिस्त्रीले सोध्न पाएपछि कामको गुणस्तर पनि बढ्ने सुपरभाइजर शर्माको आंकलन छ । शर्मा भन्नुहुन्छ ‘हामीले ठेकेदार, खानेपानी उपभोक्ता समितिलाई नम्बर त उपलब्ध गराएका हुन्छौं, तर फोनबाट भन्नु र साईटमै गएर भन्नुमा त फरक छ, यसले काममा तीब्रता ल्याउने र गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा छ ।’

कर्मचारी काम प्रति कर्तव्यनिष्ठ

सेल्फी हाजिरीले कर्मचारी कार्यस्थलमा पुग्यो या पुगेन भन्ने ट्रर्‍याकिङ गर्ने मात्र नभई काम प्रति जिम्मेवार पनि बनाएको छ । कर्मचारी काम प्रति जिम्मेवार भएपछि खानेपानी आयोजनाको गुणस्तर पनि बढेको छ । मिस्त्रीले डिजाइन भन्दा फरक तरिकाले काम गर्न लागेमा फिल्डमै भएका कर्मचारीबाट नियमित सल्लाह सुझाव र निर्देशन पाईरहने भएकाले काम बिग्रन नपाएको सम्बन्धित आयोजनाका प्रमुखहरु बताउँछन् ।

कर्मचारी सम्बन्धित फिल्डमै खट्न थालेपछि आयोजनाको भौतिक प्रगति पनि बढ्न थालेको छ । यसले सम्बन्धित आयोजना समयमै सक्ने सुनिश्चितता बढाएको कोष विकास समितिका सूचना व्यवस्थापन प्रणाली अधिकृत रबिन्द्र आचार्यले बताउनुभयो । कोष विकास समितिले सहयोगी संस्था मार्फत तराईका विभिन्न जिल्लामा १ सय १६ वटा ओभरहेड ट्याङ्कमा आधारित खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिरहेको छ भने सय भन्दा बढी आयोजनाहरुमा कार्यान्वयन पश्चातको चरण सञ्चालन भईरहेको छ । कोष विकास समितिले २०७६ भदौ १९ गतेदेखि सेल्फी हाजिरी लागु गरेको हो ।

यसरी सुरु भएको थियो सेल्फी हाजिरी

विभिन्न जिल्लामा छरिएर रहेका सहयोगी संस्थाहरुले खानेपानी तथा सरसफाइ आयोजनाहरुको प्रगति विवरण ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिमा बुझाउँथ्यो । सहयोगी संस्थाले बेला बेलामा बुझाएको प्रतिवेदनले मात्र कार्यालयका लागि आवश्यक पर्ने पर्याप्त जानकारी नपाईने र वास्तविकता थाहा पाउन नसकेपछि कोष विकास समितिको शीर्ष तहमै छलफलको बिषय बन्यो ।

अन्त्यमा निश्कर्ष निस्कियो ‘कन्स्ट्रक्सन साईट मनिटरिङ एप’ बनाउने, उक्त एप सबै कर्मचारीको मोबाइलमा इन्स्टल गरेर सम्बन्धित साईटबाटै फोटो सहितको विवरण अपलोड गर्ने ।

केही कर्मचारीको असहमतिकै बीच पनि उक्त एप २०७४ माघ देखि लागु भयो । सुरुमा सहयोगी संस्थाबाट दुई÷तीन महिनाको अन्तरालमा मात्र आउने प्रतिवेदन अब दिनहुँ जसो नै आउन थाल्यो । केन्द्रमा बसेर कर्मचारीको अनुगमन गरिरहेका विभागीय प्रमुख पनि मख्ख भए ।

तर समयक्रममा रिपोर्टिङको यो प्रणाली पनि त्यत्ति भरपर्दो भएन । कोष विकास समितिका सूचना व्यवस्थापन प्रणाली अधिकृत रबिन्द्र आचार्य भन्नुहुन्छ ‘केन्द्रमा आउनुपर्ने विवरणहरु त आए, तर युजरनेम र पासवर्ड एक कर्मचारी र अर्को कर्मचारी बीच आदानप्रदान गरेर काम हुन थाल्यो, यसबाट विज्ञ सेवा हरायो ।’

‘कर्मचारीलाई काम प्रति कसरी जिम्मेवार बनाउने ? जसबाट विज्ञ सेवा पनि प्राप्त होस्, मिस्त्रीले खोजेकै बेला फिल्डमा इन्जिनियर तथा टिम लिडर पनि हाजिर भएको होस्’ कोष विकास समितिको माथिल्लो तहमा यो बिषयमा केही दिन मन्थन भयो ।

साईटको सुपरिवेक्षण एपबाटै गर्न थालेको कोष विकास समितिका लागि एउटा विशेषता थप्न खासै गाह्रो थिएन । त्यसपछि कोष विकास समितिले सेल्फी हाजिरी पनि अनिवार्य गर्नैपर्ने नियम बनायो, त्यही अनुरुप एप बन्यो । अहिले एपकै कारण कर्मचारी आफ्नो काम प्रति बढी उत्तरदायी भएका छन् । सम्बन्धित विभागीय प्रमुखले फिल्डमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिईरहनु परेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार