बाँके : नेपालगन्ज उपमहानगरपालिकामा ‘एक ठाउँको फोहोर अर्को ठाउँमा थुपार्न’ मात्र बर्सेनि झन्डै ५ करोड खर्च हुने भएको छ। ‘फोहोरबाट मोहर आर्जन गर्ने’ महत्वकांक्षी लक्ष्यका साथ वडा नम्बर २३ हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (सेनेटरी ल्यान्डफिल्ड साइट) को ‘डिजाइन फेल’ हुँदा लक्ष्यअनुसार मल उत्पादन नभइ उपमहानगरपालिकालाई बर्सेनि सवा ३ करोडको भार थपिने भएको हो।
उपमहानगरको सरसफाइ बजेट वार्षिक डेढ करोड हाराहारीमा छ। साइट निर्माणअघि बीडीए नेपालले सन् २०१४ मा गरेको अध्ययन अनुसार नेपालगन्जको फोहोरमा सबैभन्दा बढी अर्गानिक (कुहिने) फोहोर ६९ दशमलव ५५ प्रतिशत थियो। फोहोर वर्गीकरण गरी सड्नेबाट प्रांगारिक मल उत्पादन गरी बिक्री गर्ने र प्लास्टिक, फलाम लगायत कबाडी सामान बेचेर भएको आम्दानीबाट ल्यान्डफिल्ड साइटको सम्पूर्ण सञ्चालन खर्च व्यवस्थापन गर्ने लक्ष्य हो। साइट व्यवस्थापनका लागि मासिक कम्तीमा २७ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ। जुन वार्षिक ३ करोड ३० लाख रुपैयाँ हुन्छ।
ल्यान्डफिल्ड साइट निर्माण कम्पनी रेम्की एनएएनसी जेभीका स्टोरकिपर शिव लामिछानेका अनुसार २ जेठ यता झन्डै ७ हजार टन फोहोर संकलन भएको छ। यसबाट १ हजार ६ सय किलो मल उत्पादन भएको छ। अहिलेसम्म मलको परीक्षण यकिन भइसकेको छैन। नर्सरीमा मल प्रयोग गर्न दिए पनि मलको प्रभावकारिता आकलन भइसकेको छैन। मूल्य पनि तोकिएको छैन। साढे ९ महिनामा ल्यान्डफिल्ड साइट घाटामै छ। प्लास्टिक फोहोर भएकाले बिक्री नभएर थन्किएको छ।
नेपालगन्जको फोहोर डम्पिङ साइटमा थुपार्न मात्र साढे नौ महिनामा झन्डै साढे २ करोड रुपैयाँ खर्च भइसकेको छ। सम्झौताअनुसार एक वर्षसम्म निर्माण कम्पनीले नै खर्च बेहोर्नेछ। त्यसपछि मात्र उपमहानगरलाई हस्तान्तरण हुनेछ। ‘यो ल्यान्डफिल्ड साइटको डिजाइन नै फेल खाएको हो। ७० प्रतिशत कुहिने फोहोरबाट मल उत्पादन गर्ने लक्ष्य हो,’ लामिछाने भन्छन्, ‘तरकारी बजारको फोहोर सुँगर पाल्नेले प्रयोग गरिरहेका छन्। घरको कुहिने फोहोर पनि मिसिएर आउँछ। छुट्याउन गाह्रो भएकाले लक्ष्यमा पुग्न गाह्रो भएको छ।’
उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरेको भए पनि नगरवासीले भने फोहोर मिसाउने गरेको आयोजनाले जनाएको छ। ल्यान्डफिल्ड साइटमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन भइरहेको छ। यसकारण जैविक फोहोर पनि डम्पिङ साइटमा पुर्ने गरिएको छ। उपप्रमुख उमा थापा मगर पनि लक्ष्यअनुसार निकै कम मल उत्पादन भएको स्विकार्छिन्। यो खबर अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।
‘अझै ल्यान्डफिल्ड साइट हस्तान्तरण भइसकेको छैन। अहिलेसम्म फोहोर व्यवस्थापनको सबै काम निर्माण कम्पनीले नै गरिरहेको छ,’ उनले भावी योजना सुनाइन्, ‘हामी कुहिने र नकुहिने फोहोर संकलन गर्ने काम पाइलट प्रोजेक्टको रूपमा वडा नम्बर २ बाट सुरु गर्न गइरहेका छौं। स्थानीयलाई कुहिने फोहोर संकलन गर्ने बाल्टी र नकुहिने फोहोरका लागि बोरा निःशुल्क बाँड्नेछौं। स्रोतमै फोहोर वर्गीकरण गर्नसके जैविक फोहोर धेरै संकलन भइ मल उत्पादन गर्न सक्छौं।’
ल्यान्डफिल्ड साइटको ३२ वर्षसम्म नगरको फोहोर व्यवस्थापन हुने अर्को लक्ष्य पनि असफल हुने छाँट देखिएको छ। फोहोर डम्पिङ गर्न ४ वटा सेल (ठूला खाल्डो खनिएका) छन्। एउटाले कम्तीमा ८ वर्ष धान्ने लक्ष्य थियो। यो अवधिको डम्पिङको अवस्था हेर्दा एउटा खाल्डोले ४ वर्ष पनि नथेग्ने देखिन्छ। ४ वर्षमा एउटा खाल्डो भरिँदा १६ वर्षमै साइटका सबै ४ खाल्डा भरिनेछन्।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा पनि साइट सञ्चालन चुनौतीपूर्ण भएको बताउँछन्। उनले दक्षिण एसियामै असफल भएको महत्वाकांक्षी प्रोजेक्ट निर्माण गरेको बताए। उनले भने, ‘यो दक्षिण एसियामै सफल छैन। युरोप र अमेरिकामा मात्र सफल छ। यसलाई सञ्चालन गर्न ठूलै चुनौती छ।’
सहरी विकास मन्त्रालयको १५ प्रतिशत, एसियाली विकास बैंकको ५५ प्रतिशत ऋण, सहरी विकास मन्त्रालय नगर विकास कोषको १५ प्रतिशत ऋण र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत गरी ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँको लागतमा साढे १३ बिघामा साइट निर्माण गरिएको छ।