सल्यान : दार्मा गाउँपालिकाले दुई आर्थिक वर्षमा ४ करोड २० लाख खर्चेर १२ वटा लिफ्ट खानेपानी योजना सम्पन्न गर्यो । चालु आर्थिक वर्षमा थप तीन वटा योजनाका लागि बजेट छुट्याएको छ ।
कपुरकोट गाउँपालिकाले वडा नं. १ को लामपोखरा र ३ को कपुरकोट बजारमा ४६ लाख लागतमा दुई लिफ्ट खानेपानी योजना सञ्चालन गरेको छ । वडा नं. ४ को किमुचौरमा लिफ्ट खानेपानी योजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । यसको लागि गाउँपालिकाले १ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।
यी केही उदाहरण मात्र हुन्, पछिल्लो समय सल्यानमा लिफ्टबाट खानेपानी योजना सञ्चालन गर्ने लहरै चलेको छ । बस्तीदेखि तल रहेको पानीको मुहानबाट मोटर सञ्चालन गरी पानी माथि आपूर्ति गर्ने प्रविधि लिफ्ट खानेपानी हो । जिल्लाका १० स्थानीय तहले पछिल्लो दुई आर्थिक वर्षमा लिफ्ट खानेपानीमा ३४ करोड रुपैयाँ छुट्याएका छन् ।
खानेपानी, सरसफाइ तथा सिँचाइ डिभिजन कार्यालयले थप करिब ६ करोड विनियोजन गरेको छ । स्थानीय तहले मात्र २९ वटा लिफ्ट खानेपानी योजना सम्पन्न गरिसकेका छन् । यसबाट करिब १ हजार २ सय घर लाभान्वित भएका सम्बन्धित स्थानीय तहले बताएका छन् । चालु आर्थिक वर्षमा थप १६ योजना निर्माण हुँदैछन्, जसबाट समेत गर्दा ३ हजार ४ सय घर लाभान्वित हुने स्थानीय तहहरूको भनाइ छ ।
शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले डाँडामा रहेका मुहान सुक्दै गएकाले बाध्य भएर नगरभित्रका जनतालाई खानेपानीको सहज आपूर्तिको लागि लिफ्ट योजना सञ्चालन गर्नुपरेको बताए । ‘डोकोमा गाग्री राखेर पानीको लागि खोला धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘डाँडामा भएका बस्तीका लागि लिफ्टबाहेक अन्य विकल्प पनि छैन ।’ गत र चालु आर्थिक वर्षमा चार योजना सम्पन्न भइसकेका र स्यालीखालमा थप एक योजना सञ्चालनको तयारी भइरहेको उनले बताए ।
सबैभन्दा बढी लिफ्ट खानेपानी योजना दार्मा गाउँपालिकामा छन् । १५ योजनाको लागि ४ करोड २० लाख रुपैयाँ छुट्याइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । उनका अनुसार यी योजनाबाट ४ सय ५० घरमा खानेपानी पुगेको छ । बागचौर नगरपालिकामा ३ वटा योजना सम्पन्न भइसकेका छन् भने ५ योजना सञ्चालनको तयारीमा रहेका छन् । त्यस्तै, कपुरकोट गाउँपालिकामा ४, शारदा नगरपालिकामा ५, कुमाख गाउँपालिकामा ५, कालीमाटी गाउँपालिकामा २, छत्रेश्वरी गाउँपालिकामा ३ लिफ्ट खानेपानी योजना रहेको सम्बन्धित स्थानीय तहको भनाइ छ । अन्य तीन स्थानीय तहमा समेत लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
खानेपानी सबडिभिजन तथा सिँचाइ कार्यालयका इन्जिनियर विपिन ज्ञवाली लेचालु आर्थिक वर्षमा मात्र १६ वटा लिफ्ट योजनाको सर्भे गरिएको बताए । बस्तीभन्दा माथिका मुहान सुक्दै गएपछि खोला र नदीबाट लिफ्ट गरेर डाँडाका बस्तीमा पानी पुर्याउनुपर्ने अवस्था रहेको उनले औंल्याए ।
‘फर्किए सुखका दिन’
लिफ्टबाट गाउँमा पानी पुगेपछि स्थानीय बासिन्दा खुसी छन् । निगालचुलाकी ३५ वर्षीया तीला रोकाले २० वर्षपछि गाउँमै पानी पुग्दा सुखका दिन फर्किएको बताइन् । गाउँभन्दा माथिको मुहान सुकेपछि उनले दुई दसकसम्म करिब २० मिनेट तल पर्ने खोलाबाट पानी ल्याउने गरेकी थिइन् ।
‘खोलामा झर्न त खासै समस्या हुन्थेन, डोकोमा गाग्री राखेर ल्याउन गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘अब त गाउँमै धारा आएपछि दुःख हटेका छन् ।’ शारदा नगरपालिका–६, मधमकाँडाका प्रेमबहादुर थापाले अब पानीकै कारण बस्ती सर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनका अनुसार पानी नहुँदा गाउँका धेरै मान्छेहरू बस्ती सरेर अन्यत्र गइसकेका छन् ।
दार्मा गाउँपालिकाकी दीला बस्नेतले लिफ्टबाट खानेपानी आएपछि पानीको सदुपयोग गर्दर् ैकरेसाबारीमा तरकारी लगाएको बताइन् । ‘पहिले त पिउनको लागि पनि पानी अड्कल्नुपर्थ्यो,’ उनले भनिन्, ‘अहिले त बचेको पानीबाट तरकारी पनि लगाएका छौं ।’
जलवायु परिवर्तन र जथाभावी डोजर प्रयोगका कारण खानेपानीका मुहान सुकेका छन् । यसले गर्दा डाँडामा रहेका बस्तीमा खानेपानीको संकट हुने गरेको छ । अहिले पनि थुप्रै बस्तीका बासिन्दाले एक गाग्री पानीको लागि तीनरचार घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ ।