काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानी आयोजना निर्माणको क्रममा उब्जिन सक्ने गुनासाको सम्बोधनका लागि गुनासो निदान संयन्त्र बनाएको छ । कोष विकास समितिले ‘गुनासो निदान संयन्त्र मार्गदर्शन’ तयार गरी तीनै तह (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सहयोगी संस्था र कोष विकास समिति) मा गुनासो निदान संयन्त्र बनाएको हो ।
खानेपानी तथा सरसफाइ आयोजनाहरुलाई बढी भन्दा बढी पारदर्शी र प्रभावकारी बनाउन सामुदायिक खरिद प्रक्रिया, सार्वजनिक लेखा परीक्षण, विस्तृत अनुगमन र मुल्याङ्कन जस्ता कार्यपद्धति अपनाए पनि आयोजना कार्यान्वयन गर्दा आयोजनाको वित्तिय कारोबार, कार्यशैली, सामग्री खरिद व्यवस्थापन, कार्यान्वयन प्रक्रिया जस्ता विविध पक्षमा कहिलेकाहीं उपभोक्ता समूहको गुनासो, मतभेद वा असहमति हुने भएकाले त्यस्ता गुनासोको व्यवस्थापन पद्धति स्थापना गर्ने उद्देश्यले मार्गदर्शन तयार गरी लागु गरिएको कोष विकास समितिका मानव संसाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीले बताउनुभयो । ‘बृहत बजेट, धेरै सरोकारवालाहरुको उपस्थिति, धेरै उपभोक्ताहरुलाई समतामूलक ढंगले सुविधामा पहुँच पुर्याउनु पर्ने दायित्व जस्ता कुराहरुले गर्दा सामुदायिक विकासका कार्यक्रममा सामान्य असहमतिहरु देखिनु स्वभाविक हो, तर स्वभाविक हो भन्दैमा त्यत्तिकै राख्ने कुरा हुँदैन । यसलाई कुनै न कुनै तवरबाट सम्बोधन गरिनुपर्छ । यसैका लागि गुनासो निदान संयन्त्र बनाएका हौं ।’ उहाँले भन्नुभयो ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानी तथा सरसफाइ आयोजनाहरु कार्यान्वयन गर्दा सहयोगी संस्थाहरुको प्राविधिक सहयोगमा उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने गर्दछ ।
गुनासो निदानका लागि तहगत संयन्त्र
कोष विकास समितिले उपभोक्ता समितिसँग मात्र सीमित रहेका गुनासोहरुलाई उपभोक्ता समितिले नै गुनासो सम्बोधन गर्ने, सहयोगी संस्था सँग सम्बन्धित गुनासोहरु सम्बोधनका लागि सहयोगी संस्था स्तरमा गुनासो निदान संयन्त्र बनाएको छ । त्यो भन्दा पनि माथिको गुनासो भएमा मात्र कोष विकास समितिको तहमा आईपुग्ने संयन्त्र निर्माण गरेको छ ।
समुदाय स्तरमा उपभोक्ता समिति, त्यसपछि सहयोगी संस्था र कोष विकास समितिमा गरी तहगत संयन्त्र बनाईएको छ । निश्चित समयभित्र आ आफ्नो स्तरमा गुनासो दर्ता गर्नेदेखि समस्या समाधानका लागि गुनासो निदान संयन्त्र पूर्ण रुपमा जिम्मेवार हुन्छन् । समुदाय र सहयोगी संस्थाबाट समाधान नभएको गुनासो तोकिएको समयभित्र कोष विकास समितिको गुनासो निदान समितिमा पठाउनुपर्ने ‘गुनासो निदान संयन्त्र मार्गदर्शन’ मा उल्लेख छ ।
कुन तहको संयन्त्रमा को – को ?
खानेपानी तथा सरसफाइ उपभोक्ता समूह/समिति
कोष विकास समितिको सहयोगमा सम्पन्न भएका खानेपानी तथा सरसफाइ आयोजनाहरुका खानेपानी तथा सरसफाइ उपभोक्ता समूह÷समितिमा एक गुनासो निदान समिति गठन गरिन्छ । जसमा तीन देखि पाँच जना सम्म सदस्य रहनेछन् । यस समितिमा कम्तीमा एक वा सो भन्दा बढी संख्यामा महिला सदस्यहरु रहनुपर्नेछ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी तथा खरिद समितिका पदाधिकारीहरुलाई भने यसमा सामेल हुँदैनन् । यद्यपि गुनासो निदान प्रति जवाफदेही बनाउने उद्देश्यले आयोजना क्षेत्रमा गठित जागरण समितिका पदाधिकारीहरु भने यस समितिका सदस्य हुन्छन् ।
सहयोगी संस्थामा कार्यकारी निर्देशक अध्यक्ष
कोष विकास समितिका सम्पूर्ण सहयोगी संस्थाहरुमा विवाद निवारण समिति गठन गरिन्छ । समितिमा सहयोगी संस्थाका सल्लाहकार समितिका दुई जना प्रनिनिधी र कार्यकारी निर्देशक सहित तीन जना सदस्य हुनेछन् । कार्यकारी निर्देशक अध्यक्ष रहेको यस समितिले सहयोगी संस्थामा प्राप्त सम्पूर्ण गुनासोहरुको समीक्षा, प्रमाणीकरण र निदान गर्नेछ ।
उपकार्यकारी निर्देशक गुनासो निदान संयन्त्रको अध्यक्ष
कोष विकास समितिमा आयोजनासँग सम्बन्धित गुनासोहरुका लागि उपकार्यकारी निर्देशकको अध्यक्षतामा गुनासो व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख, योजना तथा सञ्चालन महाशाखा प्रमुख, मानव संसाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख र अनुगमन तथा मूल्याङ्कन अधिकृत हुनुहुन्छ । कोष विकास समितिका कर्मचारी तथा संस्थासँग सम्बन्धित गुनासो प्राप्त भएको अवस्थामा त्यसको सम्बोधनका लागि कार्यकारी निर्देशकको निर्णय नै अन्तिम निर्णय हुने व्यवस्था ‘गुनासो निदान संयन्त्र मार्गदर्शन’ ले गरेको छ ।
यसरी दर्ता गर्नुहोस् गुनासो
तपाई खानेपानी तथा सरसफाइ उपभोक्ता हुनुहुन्छ र खानेपानी आयोजना सँग सम्बन्धित केही गुनासो भएमा गुनासो दर्ता गर्न सक्नुहुन्छ । तपाईले प्रत्यक्ष रुपमा कोष विकास समिति वा सहयोगी संस्था वा उपभोक्ता समितिको तहमा गठन गरिएको गुनासो निदान समितिमा गुनासो दर्ता गर्न सक्नुहुनेछ । यसका लागि कोष विकास समितिद्वारा निम्न माध्यमहरुको व्यवस्था गरिएको छ ।
व्यक्ति अथवा समूहले लिखित वा मौखिक रुपमा निवेदन दर्ता गरेर
एसएमएस र टेलिफोनद्वारा गुनासो दर्ता गरेर
कोष विकास समितिको वेभसाईट www.rwssfdb.org/grievances मा दिईएको फाराम भरेर ।
कोष विकास समितिको टोल फ्रि नम्बर १६६००१०३०१० मा फोन गरेर
कोष विकास समितिको इमेल rwssgrm@gmail.com मा इमेल पठाएर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खानेपानी मन्त्रालय वा हेलो सरकारमा निवेदन दर्ता गरेर ।