रुपन्देही : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको काम राष्ट्रिय अभियान बन्ने बताउनुभएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गर्दै मन्त्री भुसालले हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकास्तरबाट सुरु भएको वातावरण संरक्षणको यात्रा देशव्यापी हुने बताउनुभयो । शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख भएको देशकै पहिलो नगरपालिका बनेको छ तिलोत्तमा नगरपालिका।
कार्यक्रममा प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तिलोत्तमाका छिमेकी स्थानीय तहहरुलाई पनि सिकाउँदै शून्य पोलिथिन अभियान राष्ट्रिय रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान र टोल सफा देखिएको र यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, प्रा भैया खनाल र क्रिमसन अस्पतालका डा। कृष्णचन्द्र गोदारले यसको निरन्तरताका लागि नगरवासी क्रियाशील रहनुपर्ने बताउनुभयो । नगरवासीका घरआँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जङ्गल, सडक–बाटो, सार्वजनिकस्थलबाट झण्डै ८० हजार बोरा पोलिथिनजन्य फोहर सङ्कलन गरी व्यवस्थापन गरिएपछि नगरलाई शून्य पोलिथिन घोषणा गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । शून्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको बताउँदै उहाँले नगरका सार्वजनिक स्थानमा कम्तीमा एक हजार डष्टबिन राख्ने योजना रहेको जानकारी दिनुभयो । बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत सो विषयलाई समेटिएको नगरप्रमुख घिमिरेले जानकारी गराउनुभयो ।
यहाँका विद्यालय तथा टोलटोलमा ‘माई पकेट, माई फष्ट डष्टबिन’ अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको र सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ । जथाभावी फोहर फयाँक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानून निर्माण गरिएको उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।