भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका सबै माध्यमिक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन (प्याड जलाउने स्वचालित मेसिन अर्थात इन्सिनेरेटर) जडान गर्ने भएको छ । नगरपालिका क्षेत्र भित्रका १४ वटै माध्यमिक विद्यालयमा मेसिन जडान गर्न आपूर्तिकर्ता छनौट गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो । छात्राहरुलाई स्यानिटरी प्याड मात्र उपलब्ध गराउँदा त्यसको बिसर्जनमा समस्या हुने भएकाले प्याडलाई सुरक्षित तरिकाले डिस्पोज गर्न मेसिन जडान गर्न लागेको उहाँले बताउनुभयो । ‘प्याडको सुरक्षित व्यवस्थापनमा अहिले देखि नै नसोच्ने हो भने पछि वातावरणमा ठूलो असर पार्न सक्छ, जताततै प्याड छरिन सक्छ, यही अवस्थालाई दृष्टिगत गरेर हामीले माध्यमिक विद्यालयहरुमा प्याड जलाउने विद्युतीय स्वचालित मेसिन जडान गर्न लागेका हौं’ उहाँले भन्नुभयो ।
प्याड जलाउने स्वचालित मेसिन (इन्सिनेरेटर) विजुलीबाट चल्ने मेसिन हो ।
यसको माथिल्लो तलामा प्रयोग भएको स्यानिटरी प्याड हालेपछि विद्युतीय तापबाट तल्लो तलामा खरानी भएर झर्ने प्रणाली हुन्छ । प्याड जलाउँदा हल्का धुँवा आउने र उक्त धुँवा मेसिनको टुप्पोमा जडान गरिएको पाईपको माध्यमबाट बाहिर जान्छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क उपलब्ध गराएको स्यानिटरी प्याडको सुरक्षित व्यवस्थापनको जिम्मेवारी पनि स्थानीय तहकै भएकाले स्यानिटरी प्याडको वितरण सँगै व्यवस्थापनको काम पनि सुरु गरिएको अधिकृत तिम्सिनाले बताउनुभयो ।
स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिमा के छ ?
स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिको परिच्छेद ४ मा स्यानिटरी प्याडको प्रयोग तथा विसर्जन सम्बन्धी व्यवस्थाबारे ब्याख्या गरिएको छ । जसमा स्यानिटरी प्याडको दिगो विसर्जन लगायतका बिषयमा श्रव्य दृश्य सामग्री तथा हाते पुस्तिका तयार गरी स्थानीय तहलाई उपलब्ध गराउने दायित्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हुने र स्थानीय तहले महिनावारी स्वास्थ्य, किशोरी स्वास्थ्य तथा स्यानिटरी प्याडको प्रयोग र प्रयोग पश्चात त्यसको दिगो विसर्जन सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
कार्यविधिको दफा ९ मा प्रयोग भएका प्याडलाई वातावरणमा प्रतिकुल असर नपर्ने गरी दिगो विसर्जन गर्न विद्यालयको हाताभित्र खाल्डो खनेर पुर्नुपर्ने र पूर्ने ठाउँको अभाव भएमा अन्य फोहोरमैला सरह यस्ता वस्तुहरुको विसर्जन गर्नुपर्ने उल्लेख छ ।
चाँगुनारायण नगरपालिका र ग्लोबल स्यानिटेसन फण्ड/युएन ह्याबिट्याटले चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयलाई पूर्ण सरसफाइ बनाउन विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी तथ्याङ्क संकलन गरी विश्लेषण गर्ने काम सम्पन्न भईसकेको र कहाँ के गर्नुपर्ने हो ? सो काम भईरहेको ग्लोबल स्यानिटेसन फण्ड/युएन ह्याबिट्याटकी जिल्ला संयोजक पार्वती दंगालले बताउनुभयो । उहाँले हरेक माध्यमिक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन जडान गर्ने काम पनि यसै अन्तर्गतको कार्यक्रम भएको बताउनुभयो ।
यसका लागि चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुमा गठन भएको बाल क्लव मार्फत हात धुने तरिकाको प्रबर्धन गरिरहेको छ भने हरेक छात्रा शौचालय महिनावारीमैत्री बनाईएको छ ।
चाँगुनारायण नगरपालिकाले जारी गरेको पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ ले विद्यालयहरुमा विद्यार्थी संख्याको अनुपातमा शौचालय पर्याप्त नभएको, प्रयोगकर्तामैत्री शौचालयको अभाव रहेको र पानीको अभाव रहेका विद्यालयहरुमा खानेपानीका साथै शौचालयको सफाइ र हात धुनका लागि पानी अपर्याप्त रहेकाले शौचालयहरु फोहोर तथा दुर्गन्धित रहेको औल्याएको छ ।
रणनीतिले सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदारको संयुक्त प्रयासमा खानेपानी तथा सरसफाइ सुविधाको पुनःनिर्माण, विस्तार तथा व्यवस्थापन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने अवसर रहेको समेत सुझाएको थियो । चाँगुनारायण नगरपालिका क्षेत्रभित्र १४ वटा माध्यमिक विद्यालय सहित ३९ वटा सामुदायिक विद्यालय छन् । यस्तै २५ वटा संस्थागत विद्यालय र ४ वटा कलेजहरु रहेको पूर्ण सरसफाइ रणनीतिक योजनामा उल्लेख गरिएको छ ।