छाउपडी प्रथा हटाउन स्वास्थ्य स्वयंसेविकाको भूमिका अब्बल

अछाम : २० वर्षदेखि उनी महिला, बालकालिका र वृद्धवृद्धाका सुखदुःखसँग घुलमिल हुँदै आएकी छन् । मंगलसैन नगरपालिका–५ की स्वास्थ्य स्वयंसेविका मथुरा ढुंगानाले यो अवधिमा धेरैको ज्यान जोगाइन् । कुरिती, कुसंस्कार र कुप्रथाका विरुद्धमा आवाज उठाइरहेकी छन् । छाउगोठमा महिलाहरूलाई राख्न अन्त्य गर्नुपर्छ । रजस्वला हुँदा सुरक्षित घरमा बस्नुपर्छ भनेर उनले स्थानीयलाई सम्झाउँदै आएकी छन् । गाउँमा आमा समूहको बैठकमा पनि उनको मुख्य एजेण्डा छाउपडी कुप्रथा कसरी अन्त्य गर्ने भन्ने नै रहन्छ ।

समुदायका महिला सानादेखि ठूला समस्या पर्दा श्रीमान्, सासु ससुरालाई भन्दा पहिला स्वास्थ्य स्वयंसेविका गुहार्ने गरेको मथुरा बताउँछिन् ।

यहाँका सबै स्थानीयलाई बुझाउन नसके पनि उनले यो अभियानलाई कहिल्यै छोडिनन् । ‘छाउगोठमा बस्दा महिलाको स्वास्थ्यमा मात्र होइन, आमासँग बस्ने बालबालिकालाई झन् धेरै असर पर्छ,’ उनले भनिन्, ‘आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउनलाई त यस्ता कुसंस्कार हट्नैपर्छ । यो हटाउनु हाम्रो दायित्व हो ।’ गाउँगाउँमा आमा समूह गठन गर्ने, बचत गर्ने बानीको विकास गर्ने, महिलालाई स्वस्थ बनाउने र आर्थिकरुपमा सक्षम बनाउन उनी जस्ता धेरै स्वयंसेविकाको भूमिका रहेको उनी बताउँछिन् ।

‘टोलटोलमा स्वयंसेविकाहरू छौं । हामीले मात्रै महिनावारी भएको बेला सुरक्षित बस्न थाल्यौं भने अरु दिदीबहिनी पनि सिको गर्छन्,’ उनले भनिन्, ‘हामीले पाएका विभिन्न तालिमहरूमा पनि पहिले आफ्ना आनिबानी सुधार्न भनिएको छ । सुरुआत आफैंबाट गर्‍यौं र अरुलाई पनि सिकाउँदै छौं ।’ उनका अनुसार छाउगोठ भत्काइसकेपछि व्यवस्थित भई कसरी बस्ने र पुनः गोठ निर्माण नगर्न सबैलाई सचेत पार्न अभियान थालिएको छ ।

मंगलसैन–५ कि मंगला विक २६ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा आफ्नो टोलमा बिरामीको सेवा गरिरहेकी छन् । स्वास्थ्यसम्बन्धी कठिनाइ हुँदा सबैभन्दा पहिले गाउँलेहरू उनैलाई सम्झन्छन् । उनले आफ्नो टोलका धेरै बिरामी र गर्भवतीलाई बोकेर समेत स्वास्थ्य चौकी पुर्‍याएकी छन् । उनै मंगला सरकारले चलाएको छाउगोठ भत्काउने अभियानमा खुलेर लागेकी छन् । स्थानीय आमा समूहकी अध्यक्षसमेत रहेकी मंगलाले भनेकै आधारमा पनि धेरै महिलाले छाउगोठ नबार्न सहमत भएका छन् ।

मंगलसैन–५ कै गंगा विष्टलाई महिनावारी भएको समयमा छोराछोरीलाई खाना पकाउन, स्कुल पठाउन र हेरविचारमा अप्ठ्यारो पर्थ्यो । सासुससुरालाई धेरैपटक सम्झाइ बुझाइ गरी घरमा बस्न खोज्दा पनि बस्न दिएनन् । अन्ततः उनले उनै मंगलाको सहयोग मागिन् । मंगलाले गंगाका सासुससुरालाई छाउगोठका बारे रहेका गलत सोंच र संस्कृतिबारे बताएपछि उनीहरू छाउगोठ भत्काउन राजी भए । ‘मंगला दिदी नभए मैले अझैसम्म पनि दुःख भोगिरहेको हुन्थें । मेरो लागि भगवान नै भएर आउनु भयो,’ गंगाले भनिन्, ‘हाम्रो लागि उनै डाक्टर हुन् । उनले भनेको कुरा सबैले पत्याउँछन् ।’ उक्त सामाजिक अभियान सफल पार्न स्वयंसेविकाको मुख्य भुमिका रहेको गंगाको बुझाइ छ ।

समुदायका महिला सानादेखि ठूला समस्या पर्दा श्रीमान्, सासु ससुरालाई भन्दा पहिला स्वास्थ्य स्वयंसेविका गुहार्ने गरेको मथुरा बताउँछिन् । ‘निस्वार्थ भावनाले समाज परिवर्तनका लागि लागेका छौं । कुप्रथा र कुसंस्कार हटोस् भन्ने चाहन्छौं,’ उनले भनिन्, ‘गोठ भत्काएर बस्न समस्या भएकालाई पनि हामीले व्यवस्थित गर्न खोजिरहेका छौं । सुरक्षित बस्न, बसाउन हामी जहिल्यै छलफल गर्छौं । बैठकमा समेत यस्तै समस्यामा छलफल गर्छौं ।’

छाउगोठ भत्काउने र यस्तो प्रथा हटाउन जिल्लाका सबै स्वास्थ्य स्वयंमसेविका खटिएका छन् । स्थानीयहरूसँग घुलमिल भइरहने हुँदा स्वयंसेविकामार्फत छाउगोठबारे उनीहरूलाई बुझाउन सजिलो भएको बताउँछन् अछाम स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले छाउगोठमा बस्न नपाउने र बसेको पाइए हटाउने निर्णय यसअघि नै भएको थियो । ‘धेरै स्वयंसेविका महिनावारी हुँदा घरमै बस्छन् । छाउगोठमा बस्न पाउँदैनन् । उनीहरू नै अभियन्तासमेत बनेका छन्,’ उनले भने । आफूसहित छोरी, बुहारी र समाजका अन्य माहिला महिनावारी हुँदा अन्धविश्वासका कारण छाउगोठ बस्नु नपरोस् भन्न गाउँका धेरै महिलाहरू अभियानमा जोडिएको उनले बताए । जिल्लामा नौ सय ४१ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

अभियानमा सरकारी अधिकारी, स्वास्थ्य स्वयंसेविकाका अलावा आमा समूहका सदस्यहरू, शिक्षक–शिक्षिका तथा विभिन्न क्षेत्रमा अवद्ध महिला र समाजिक अगुवाको समेत उल्लेख्य उपस्थिति रहने गरेको छ । छाउगोठ भत्काउने अभियान पछिल्लो समय गाउँ केन्द्रित भएकोले यसमा ग्रामिण महिलाको उपस्थिति र सहयोग मिलेको लकान्द्रास्थित भैरव माविकी शिक्षिका हिरा खड्का बताउँछिन् । यसअघि बजार र आसपासका क्षेत्रमा चलेको उक्त अभियान गाउँसम्म पुगेकोमा ग्रामीण महिला र किशोरी खुसी भएको उनले सुनाइन् । ‘सबैको हातेमालो र सहकार्यले मात्रै अभियान गाउँसम्म पुग्न सफल भएको हो । हामीले विद्यालयदेखि समुदायसम्म घरमै बस्नुहोस् भनेर सम्झाइ–बुझाइ गरिरहेका छौं,’ उनले भनिन् ।

गत पुस ९ बाट अछाममा स्थानीय प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान सुरु भएको हो । हालसम्म पाँच हजार छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए । उनका अनुसार साँफेबगर नगरपालिका–३, सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मंसिर १५ गते राति छाउगोठमा मृत्यु भएपछि अभियानको खाँचो औंल्याइएको थियो । ‘अहिलेसम्म जिल्लाका १० स्थानीय तहमध्ये पाँच वटा छाउगोठमुक्त घोषणा भइसकेका छन् । पाँच वटा तह घोषणाको अन्तिम चरणमा छन्,’ उनले भने । श्रेष्ठका अनुसार मंगलसेन, कमलबजार नगरपालिका, तुर्माखाद, बान्निगढी जयगढ, ढकारी गाउँपालिका छाउगोठमुक्त घोषणा भइसकेका छन् । ‘जनप्रतिनिधि, स्थानीय र महिलाहरूकै सहायताले गोठ भत्काउन सम्भव भएको हो,’ उनले भने, ‘निकट भविष्यमै जिल्लालाई नै छाउगोठमुक्त घोषणा गर्छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार