फोहोर नउठाउँदा सडकमै थुप्रियो फोहोर


भैरहवा : सिद्धार्थनगर नगरपालिका–९ की लक्ष्मी आचार्यले पाँच दिनदेखि भान्सामा संकलित फोहर फ्याँक्न पाएकी छैनन् । फोहर लिन नगरपालिकाको ट्र्याक्टर आएको छैन । घरमा तीन बोरा फोहर जम्मा भइसकेको छ । ‘फोहर कुहिएर घरवरपर दुर्गन्ध फैलिन थालेको छ,’ उनले भनिन्, ‘फोहर उठाउन ट्र्याक्टर कहिले आउने हो, पत्तो छैन ।’

रोगी वा संक्रमितले प्रयोग गरेको वा फ्याँकेको फोहर चिजको उचित व्यवस्थापन नभएमा कुकुर वा चराचुरुंगीको माध्यमबाट मानिससम्म पुग्न सक्ने उनले बताए ।

टोल छिमेक सबैको अवस्था अहिले यस्तै रहेको उनले सुनाइन् । सबैको घरमा थुपारेर राखिएको फोहर सड्न थालेपछि टोल दुर्गन्धित हुन थालेको छ । यस्तो समस्या नगरपालिकाभरि छ । नगरपालिकाले वडा–१ र २ को सिमानामा पर्ने डन्डा किनार (पक्लिहवा क्षेत्र) मा फोहर फाल्दै आएको थियो । त्यस क्षेत्रका बासिन्दाले वातावरण प्रदूषित भएको भन्दै रोकेपछि पाँच दिनदेखि फोहर थुप्रिन थालेको हो । दुर्गन्धले त्यस क्षेत्रमा बस्न र हिँडडुल गर्न समेत नसकिएको स्थानीयले बताए ।

नगरपालिकामा १५ हजार घरधुरी छन् । दैनिक ३५ देखि ४० टन फोहर ट्र्याक्टरमार्फत फ्याँक्ने गरिएको थियो । फोहर व्यवस्थापनमा नगरपालिकाले ९५ जना खटाएको थियो । स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले फोहर र कोरोना भाइरससँग प्रत्यक्ष सम्बन्ध नरहे पनि अप्रत्यक्ष रूपमा प्रभाव पार्ने बताए । रोगी वा संक्रमितले प्रयोग गरेको वा फ्याँकेको फोहर चिजको उचित व्यवस्थापन नभएमा कुकुर वा चराचुरुंगीको माध्यमबाट मानिससम्म पुग्न सक्ने उनले बताए ।

‘स्वास्थ्यका हिसाबले फोहरको तत्कालै व्यवस्थापन गरिनुपर्ने हुन्छ,’ उनले भने, ‘फोहरबाट उत्पन्न हुने अन्य खालका कीटाणु र ब्याक्टेरियाबाट झाडापखाला र टाइफाइड लगायत प्रकोप फैलिने डर हुन्छ ।’ फोहरको दीर्घकालीन व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले निर्माण गर्न खोजेको फोहर प्रशोधन केन्द्रको योजना रद्द भएपछि फोहर व्यवस्थापनको चुनौती बढ्न थालेको हो ।

एसियाली विकास बैंकको सहयोगमा ओमसतिया गाउँपालिका–५, पट्खौलीमा विद्युत् उत्पादनसहितको अत्याधुनिक फोहर प्रशोधन केन्द्र निर्माण गर्ने योजना नगरपालिकाले तीन वर्षपहिले अघि सारेको थियो । निर्माण गर्न खोजिएको स्थानमा फोहर र प्रदूषण हुने दाबी गर्दै राजनीतिक दलका नेता र स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि योजना रद्द भएको हो ।

निर्माणका लागि ३२ करोड रुपैयाँभन्दा धेरै लगानी गर्न तयार भएको एसियाली विकास बैंकले आयोजनाको विरोध गर्न थालेपछि हात झिकेको थियो । सिद्धार्थनगर नगरपालिकाले १ करोड २० लाख रुपैयाँमा ६ बिघा जमिन खरिद गरी प्रशोधन केन्द्र निर्माण गर्न तीन वर्षअघि ३२ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौतासमेत गरेको थियो । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले तत्काल फोहर व्यवस्थापन गर्न स्थानीयसँग विभिन्न चरणको वार्ता र छलफल जारी राखिएको बताए । फोहर व्यवस्थापन सिद्धार्थनगर मात्र नभएर सबै नगरपालिका र गाउँपालिकाको साझा चुनौती भएको उनले बताए । ‘यसका लागि संघ, प्रदेश र स्थानीय तहको उत्तिकै भूमिका र जिम्मेवारी छ,’ उनले भने, ‘अब सबै नगर र गाउँपालिकाले प्रयोग गर्न मिल्ने गरी साझा स्थानको खोजी गर्न जरुरी छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार