फोहोरबाट ग्यास उत्पादन गर्न सम्झौता

सुर्खेत : वीरेन्द्रनगरको फोहोरबाट वायोग्यास र जैविक मल उत्पादन गरिने भएको छ ।  फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्ने  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माणकर्ता कम्पनी केपी व्यवसायिक सेवा प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदी र आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा ९ मेट्रिक टन जैविक मल उत्पादन गरिनेछ । उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ ।

परियोजनाबाट करिब एक हजार ३०० घरधुरी लाभान्वित हुनेछन् । परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ । विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अर्थात ९५ करोड ६६ लाख २४ हजार ८ सय अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्नेछ ।

डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सञ्चालन पछि परियोजना नगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
परियोजनाका लागि आवश्यक जग्गाको व्यवस्था विरेन्द्रनगर नगरपालिकाले गरेको छ । परियोजनाका लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिने कम्पनीका निर्देशक कृष्णप्रसाद ढकालले जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा व्यवसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवाप्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको बताए । उनले यस्ता प्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरुलाई संलग्न गराइ भविश्यका लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव दिए । परियोजना निर्माणका लागि कम्पनी छनौट भइसकेकोले १ वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेले बताए । यो खबर हामीले कारोबार दैनिकबाट साभार गरेका हौं ।

विरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले उक्त परियोजनाले नगर सफा राख्न सघाउ पु-याउनुका साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत सघाउ पु-याउने भएकोले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताए । लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै परियोजना समयमै सम्पन्न गर्नका लागि नगरपालिकाले कार्य गर्ने उनले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार