पूर्ण सरसफाइ नगरको एउटै सडक खण्डमा १० वटा स्मार्ट शौचालय

बुटवल : सार्वजनिक शौचालयको समस्या सहरी क्षेत्रको साझा समस्या हो । तर सार्वजनिक शौचालय कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा रुपन्देहीको शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका तिलोत्तमाको शंकरनगर गएर हेरेपछि थाहा हुन्छ । शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सडकको दुवैतर्फ सर्भिस लेनको छेउमा पनि सार्वजनिक शौचालय निर्माण गरेको छ । तिलोत्तमालाई फागुन मसान्तका दिन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्नुभएको थियो ।

सहरको बीचमा एक दुईवटा शौचालय मात्र होइन तिलोत्तमामा । दर्जनौं शौचालय बनाईएका छन् । बुटवल–भैरहवा ६ लेन सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि ड्राइभरटोल सम्मको सडक किनारमा मात्र १० वटा स्मार्ट शौचालय बनाइएको छ । त्यस्तै योगीकुटी र ड्राइभरटोलको हाटबजार र तिनाउ नदीको मगरघाट स्थित शवदाह स्थलमा गरी १३ वटा सुविधा सम्पन्न स्मार्ट शौचालय निर्माण गरिएको छ ।

थोरै जग्गाको सदुपयोग गर्दै निर्माण गरिएका शौचालयमा ऐना, पानी साबुनको उचित प्रबन्ध मिलाएको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १ करोड १६ लाख लगानीमा सर्भिसलेनमा सिंगल सिटका र हाट वजार र मगरघाटमा डबल सिटका स्मार्ट शौचालय निर्माण गरिएको अध्यक्ष तिवारीले बताउनुभयो । संस्थाले भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खरिद गरेर जडान गरेको हो । बायोटेक प्रविधि अन्तर्गत शौचालयमा शुरुमै व्याक्टेरिया राखिएकाले सेफ्टी ट्याङ्की भरिने या उठाएर फाल्नु पर्ने अवस्था नआउने अध्यक्ष तिवारीको दाबी छ ।

२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिनेछ । पानी, विद्युत, पंखा र सरसफाइको पूर्ण व्यवस्था मिलाईएको अध्यक्ष तिवारीले बताउनुभयो ।  २०४२ सालमा स्थापना भएको शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले अहिले ६ हजार २ सय ६३ घरधुरीमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार