विश्व रिसाईक्लिङ दिवसमा ६ जना रिसाईक्लिङ हिरो सम्मानित

काठमाडौ : विश्व रिसाईक्लिङ दिवसको अवसरमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विभिन्न तहका ६ जना रिसाईक्लिङ हिरोलाई सम्मान गरिएको छ । फोहोर व्यवस्थापनका उहाँहरुले पु¥याएको योगदानलाई कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व वातावरण मन्त्री गणेश शाह र विशेष अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले खादा ओढाएर सम्मान गर्नुभएको हो ।

फोहोरजन्य बस्तुलाई श्रोतमा परिणत गरी पुनः प्रयोगमा ल्याउने अर्थात रिसाइक्लिङको महत्वलाई आत्मसाथ गरी सन् २०१८ देखि हरेक बर्ष मार्च १८ तारिखका दिन विश्व रिसाईक्लिङ दिवस मनाउँदै आएको छ । नेपालमा भने पहिलो पटक यो दिवस मनाईएको हो ।

नयाँ अर्ब पति फोहोर व्यवसायबाटै : पूर्व वातावरणमन्त्री शाह

पूर्व वातावरण मन्त्री गणेश शाहले अब बन्ने अर्ब पतिहरु फोहोर व्यवसायबाट नै बन्ने दाबी गर्नुभयो । उहाँले फोहोरमैलामा पैसा लुकेको र त्यसलाई चिन्न मात्र नसकेको दाबी गर्नुभयो । ‘अहिलेको अवस्थामा, नेपालमा पनि रिसाईक्लिङ्गको महाअभियानको सुरुवात गर्नुपर्छ । रिसाईक्लिङ्गलाई प्रोत्साहित गर्न सरकारले नीति ल्याउनुका साथै निजी क्षेत्रलाई लगानी गर्न उचित वातावरण बनाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

रिसाईक्लिङ हिरो माया तामाङ्गले आफ्नो अनुभव सुनाउँदै फोहोरमैलामा काम गर्ने कामदारहरुको सहकारी बनेको आठ बर्षमा करोडौको मालिक हुन सफल भएको बताउनुभयो । उहाँले सहकारी खोल्दा पढ्न पनि नआउने अवस्थाका मानिसहरुको सहकारीमा अहिले एक करोड भन्दा बढीको पुँजी संकलन भएको बताउनुभयो । ‘हामीले सुधार गर्नुपर्ने त धेरै छन्, त्यसमध्ये पनि हाम्रो स्वास्थ्य प्रमुख कुरा हो । हाम्रा साथीहरु रोगका सिकार भैरहेका छन् ।’ उहाँले भन्नुभयो ।

फोहोरमैला व्यवस्थापन व्यवसायी बाँसुदेव उप्रेतीले यस कार्यक्रममा फोहोरमैलामा अन्त शुल्क उठाउने सरकारी निर्णयले फोहोरमैलाको क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई मर्का परेको बताउनुभयो । उहाँले अहिलेको फोहोरमैला व्यवस्थापन प्रणालीमा सुधार ल्याउनुपर्ने आवश्यकत औल्याउनु भयो ।

काठमाडौ महानगरपालिका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठले काठमाडौ महानगरपालिकाको दिर्घकालीन योजनामा फोहोरलाई श्रोतमै छुटयाउने लक्ष्य रहेको र केही वडाहरुमा यसको नमुना पनि सुरु गरिसकेको बताउनुभयो । महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको सेवा र पूर्वाधारमा सुधार गर्नु पर्ने आवश्यकता रहेको बताउँदै उहाँले नकुहिने फोहोरको व्यवस्थापन गर्न निजी संस्थासँग सहकार्य गरेको जानकारी गराउनुभयो ।

काठमाडौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले वडा न. १५ मा २०५२ साल देखि नै रिसाईक्लिङ्गको काम सुरु भएको बताउनुभयो । ‘फोहोरमैला व्यवसायीले वार्षिक रुपमा ८० करोड आम्दानी गर्छन् । जसमा सरकारले राजश्व लिदैन । त्यसकारण यस क्षेत्रलाई सुधार गर्नमा फोहोरमैला व्यवसायीले पनि जिम्मेवारी वहन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । फोहोरमैलालाई घरबाटै छुट्याई कुहिने फोहोरलाई कम्पोष्ट र पुनः प्रयोग हुने फोहोरलाई पुनः प्रयोग गरे घरबाट निस्कने फोहोर झण्डै शुन्य हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै काठमाडौं रिसाइकलका संयोजक जानु डंगोलले पहिलो तहमा कुनै प्रसोधन विना, दोस्रो तहमा सामान्य सुधार गरेर र तेस्रो तहमा रासयनिक परिवर्तनबाट आकार/प्रकार र ढाँचा नै परिवर्तन गरेर वस्तुलाई पुनः प्रयोगमा ल्याउन सकिने, समय र धन, आय तथा बचत गर्न सकिने बताउनुभयो ।

फोहोरमैला मात्र नभई फोहोर पानी पनि रिसाइक्लिङ्ग गरेमा मानवलाई चाहिने ५०% पानी यसैबाट प्राप्त गर्न सकिने निभा रेनका निर्देशक नरेन्द्र मान डंगोलले बताउनुभयो ।

रिसाइकलमा जर्मनी सबै भन्दा अगाडि

विश्वभर रिसाइकलमा सबैभन्दा अगाडि जर्मनी रहेको छ । जहाँ कूल फोहरजन्य बस्तुहरुमध्ये ६६.१% रिसाइकल हुन्छ । यसरी रिसाइकलमा अगाडि हुनुको कारणहरुमध्ये एक प्रमुख कारण उनीहरुको फोहोर श्रोतमै वर्गीकरण हुनु तथा नागरिकहरु स्वयंले त्यसको जिम्मेवारी वहन गर्नु हो । त्यस्तै दक्षिण कोरियामा ९५% जैविक फोहोर रिसाइकल हुनुले पनि हामीले नेपालमा फोहोर व्यवस्थापनमा रिसाइकलको महत्वलाइ बुझी यसलाई प्रोत्साहन गर्न अति आवश्यक छ ।

विश्वमा वातावरण प्रदुषण तथा बढी फोहरजन्य पदार्थ निष्काषण गर्नेमा कपडा उद्योगले दोस्रो ठूलो स्थान ओगटेको छ । यस्ता उद्योगले मात्र बर्षेनी २ करोड टन लुगा कपडाहरु विना पुनः प्रयोग फालिरहेको छ । जुन विश्वको कूल फोहोरहरु मध्ये २०% हुन आउँछ । यसैलाई ध्यानमा राखी काठमाडौं रिसाइकल्डले प्रयोग भएका लुगा कपडाहरुलाई पुनः प्रयोगमा ल्याउने काम विगत १ बर्षदेखि गरिरहेको छ ।

काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोरहरुमा ९०% फोहोरलाई रिसाइकल गरेर त्यसबाट आय आर्जन गर्न सकिनेमा ८०% फोहोर ल्याण्ड फिल्डमा विसर्जन भईरहेको र त्यसले वातावरण तथा फोहर व्यवस्थापनमा ठूलो चुनौती ल्याएको छ । यीनै विषयहरुलाई मध्यनजर गरी नेपालले रिसाईक्लिङ्ग क्षेत्रमा नयाँ योजनाहरु ल्याउन काठमाडौं रिसाईकल्डले आयोजना गरेको काठमाडौं रिसाईकल्ड अभियानलाई सम्बन्धित निकायहरुले अझ बढी शसक्त रुपमा अगाडि ल्याउनु आजको मूल आवश्यकता रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार