काठमाडौ : सरकारले तत्काल नागरिकको घरघरमा गएर फोहोर संकलनको व्यवस्थापन मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । काठमाडौं उपत्यकाको फोहोर संकलन गरी सिसडोलमा विसर्जन सुरु भएको मन्त्री मानन्धरले जानकारी दिए ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिको सामना गर्न लकडाउनमा बस्नुपरेको यो अवस्थामा घरबाट निस्कने फोहोर व्यवस्थापनलाई चुस्त बनाउन मन्त्रालयका तर्फबाट पहल सुरु गरिसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले आजै ९शनिबार०देखि घरघरमा फोहोर संकलक पठाई त्यसको समुचित व्यवस्थापनमा लाग्न देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाहरूलाई निर्देशनात्मक अनुरोध गरेको छ । संघीय राजधानी काठमाडौंको फोहोर व्यवस्थापनका सवालमा देखिएको समस्या समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकासहित सबै नगरपालिकाहरूलाई तत्काल समाधान हुने गरी काम थाल्न समेत अनुरोध गरिएको छ ।
उपत्यकाको फोहोर उत्सर्जन हुने स्थान सिसडोलमा पनि गर्मीसँगै फैलने दुर्गन्ध रोकथाम र किटाणु नासका लागि आवश्यक औषधिको व्यवस्थापन गराउने काम तत्काल थालनी गर्न उपत्यकाका नगरपालिकालाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ । साथै संक्रमणको जोखिम न्यूनीकरणका लागि बिहान ८ बजेभित्र फोहोर विसर्जनको व्यवस्था मिलाउन उपत्यकाका नगरपालिकाहरूसँग मन्त्रालयले आवश्यक पहल गरिसकेको उल्लेख गरिएको छ ।
फोहोर संकलनमा खटिने संकलक, सवारीचालक तथा अन्य कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन मिलाउने कामको थालनी समेत भइसकेको मन्त्री मानन्धरले बताए । अव्यवस्थित रूपमा फालिने फोहोरका कारण सहरी क्षेत्रमा हुन सक्ने विभिन्नखाले संक्रमणलाई मध्यनजर गर्दै संकलक नआउँदासम्म घरमै कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित तरिकाले राख्न सहरवासीलाई मन्त्री मानन्धरले आग्रहसमेत गरेका छन् । घरबाहिर फोहोर फाल्नेलाई कारबाही गरिने तयारीसमेत गरिएको छ ।
फोहोरका कारण फैलन सक्ने संक्रमणलाई मध्यनजर गर्दै सदाझैँ फोहोर विसर्जनका लागि सिसडोलवासीले गरेको सहजीकरणको प्रशंसासमेत गरिएको छ । मन्त्रालय र सरोकारवाला निकायको पहलमा आजैदेखि सिसडोलमा फोहोर विसर्जन सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
मन्त्री मानन्धरले त्यहाँ निर्माण गर्नुपर्ने पूर्वाधारलगायतका आवश्यक संरचना व्यवस्थापनको कामसमेत यथाशीघ्र थालनी गराउने प्रतिबद्धतासमेत जनाएका छन् । तत्काल देखिन सक्ने समस्या समाधानका लागि हात धुने प्रयोजनका लागि काठमाडौं महानगरपालिकाले ट्यांकी, मास्कलगायतका सामग्री उपलब्ध गराएको र थप व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिसकेको मन्त्री मानन्धरले बताए । ।