धनकुटा : देशभित्रै फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गरेको नगरपालिकाको नाम लिंदा धनकुटा पहिलो श्रेणीमा आउँछ । देशका अन्य नगरपालिकाका लागि सिकाई केन्द्र बनेको फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन गर्न दैनिक जसो विभिन्न नगरपालिकाका मेयर, उपमेयर र वातावरण शाखाका प्रमुख धनकुटा पुगिरहेका हुन्छन् । फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन गरेर फर्केपछि कतिपय नगरपालिकाले धनकुटाकै मोडलमा फोहोर व्यवस्थापन गर्न थालेका छन् ।
फोहोरमैला व्यवस्थापनको काम अरु नगरपालिकाका लागि टाउको दुखाई बनेको बेला धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रलाई सिकाई केन्द्रमा परिणत गरेको हो । अरु नगरपालिकाले फोहोर बिसर्जन गर्न करोडौ रकम खर्च गर्छन् तर धनकुटाले फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन गराएरै करोडौं रकम राजश्व संकलन गर्छ ।
अहिले देशभरिका नगरपालिकाबाट धनकुटाको फोहोरमैला व्यवस्थापन केन्द्र हेर्नेको घुँइचो लाग्छ । नगरपालिकाले बाहिरका मानिसलाई अवलोकन गराए बापत ५ हजार रुपैयाँ सेवा शुल्क लिने गरेको छ । नगरपालिकाले विभिन्न समयमा कार्यालय प्रमुखको बैठक, गोष्ठी जस्ता कार्यक्रम समेत फोहोरमैला व्यवस्थापन केन्द्रमै राख्ने गरेको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्र यस्तो बनेको छ कि, मरेका जनावर, मानव शौचालय तथा शहरबाट संकलन गरिएको फोहोरको थुप्रो माथि नै फूलवारी सहितको सुन्दर पार्क निर्माण गरिएको छ । दुर्गन्धित ठानिएको फोहोरको डंगुरमाथि मगमगाउँदा ४३ भन्दा बढी जातका फूल ढकमक्क फूलेका छन् ।
यो कसरी सम्भव भयो त ? हेरौं यो भिडियो :
केन्द्रमा सदरमुकाम धनकुटा बजार र हिलेबाट दैनिक १६ टन फोहोर जम्मा हुन्छ । नगरपालिकाले मृत जीवजन्तु, मानव शौचालय तथा घरबाट निस्कने गल्ने फोहोरलाई एरोविक कम्पोस्टिङ गरी मलका लागि प्रयोग गर्दै आएको छ । अस्पतालबाट निस्कने, कागज, काँच, प्लास्टिक र धातुजन्य फोहोर छुट्याएर बिक्री गर्दै आएको छ ।
केन्द्रमा ३७ प्रतिशत गल्ने फोहोर संकलन हुन्छ । यस्तै २५ प्रतिशत रबर, १२ प्रतिशत कपडा, १० प्रतिशत प्लास्टिक, ८ प्रतिशत कागज, ४ प्रतिशत पुराना निर्माण सामग्रीका साथै टीन, फलाम र विद्युतीय सामग्रीजन्य फोहोर जम्मा हुन्छ । उक्त फोहोर छानेर स्थानीय ब्यापारी मार्फत बिक्री गर्छ । वातावरण शाखा प्रमुख उपेन्द्र खनालले आउँदो ३० वर्षसम्मका लागि फोहोर व्यवस्थापनमा समस्या नहुने बताउनुभयो ।