बिहानै दिसा गरिरहेका मानिसलाई ईँजार पनि बाँध्न नदिई पुलिसको भ्यानमा हालेर प्रहरी कार्यालय पुर्याएको, बाहिर दिसा गरेबापत उठबस गर्नुपरेको, खैनी खाने पैसाको अभाव भईरहेको बेला खुला ठाउँमा दिसा गरेको जरिवाना तिर्नुपरेको घटना त्यत्ति पुरानो भईसकेको छैन । २०७६ सालमा भएका यस्ता घटना सम्झिँदा मन अमिलो जस्तो लागे पनि अन्ततः सबैको घरमा शौचालय निर्माण गर्न लगाई खुला दिसामुक्त घोषणा गर्ने महान अभियानको एउटा क्रियाकलाप थियो । यसको फलस्वरुप आज देश खुला दिसामुक्त घोषणा मात्र भएको छैन, पूर्ण सरसफाइतर्फ अग्रसर छ ।
वितेको बर्ष सरसफाइ क्षेत्रमा क्रियाशील संघसंस्था र राष्ट्रका लागि अभूतपूर्व सफलता हासिल गरेको बर्ष भएपनि कतिका लागि नमीठो छाप बनेर स्मृतिमा रहिरहेको पनि हुनसक्छ । २०७७ सालको पहिलो दिन आज यस्तो संकल्प गरौं, जसबाट हामीले भोलिको सुन्दर नेपालको परिकल्पना साकार पार्न सकौं । के यो सम्भव छैन र ? आउनुहोस् बेला यही हो । प्रण गरौं ।
१. जथाभावी फोहोर फ्याँक्दिन, डस्टबिनमा मात्र फ्याँक्छु
चाउचाउ खायो खोल बाटोमै फ्याँक्ने, बिस्कुट खायो, त्यसको खोल पनि बाटोमै, पानी रित्तिएपछि बोतल पनि बाटोमै, गुट्खा, चक्लेट, खैनी, चुरोटको खोल, मोबाइलको रिचार्ज कार्ड जे भेट्यो त्यही जथाभावी फ्याँक्ने तपाई हाम्रो बानी छ । एकैछिन सोचौं एक जनाले मात्र फ्याँक्दा त कतिपनि फोहोर हुँदैन होला । तर तपाई हामी जस्ता हजार होइन, लाखौं छौं । लाखौंले जथाभावी फ्याँक्ने फोहोरको परिमाण कति हुन्छ होला ? त्यसैले आजै संकल्प गरौं, जथाभावी फोहोर फ्याँक्दै फ्याँक्दिन । फोहोर विसर्जन गर्ने ठाउँमा मात्र बिसर्जन गर्नेछु ।
२.चर्पीमा मात्र दिसापिसाब गर्छु, चर्पीको मर्मत सम्भार गर्नेछु
तपाई हामी कतिपयको बानी कस्तो छ भने, शौचालय हुँदाहुँदै बाहिर भित्तामा कुकुरले झैं पिसाब फेरिरहेका हुन्छौं । यस्तो बानी छ भने आजै संकल्प गरौं आजदेखि बाहिर दिसापिसाब गर्दिन र आफ्नो घरमा बनाएको शौचालयको नियमित मर्मत सम्भार गरी चिटिक्क बनाएर राख्छु भनेर ।
३. नियमित साबुन पानीले हात धुन्छु
हात धुने कुरा सामान्य कुरा होइन रहेछ । यो त कोरोना जस्तो महामारीसँग लड्ने महत्वपूर्ण अस्त्र रहेछ भन्ने कुरा प्रमाणित भईसकेको छ । विगतमा आफ्नै हात त हो, जत्तिबेला धोए पनि हुन्छ भन्ने बानीलाई त्यागेर अब खानेकुरा पकाउनु अघि, बच्चालाई दुध खुवाउनु अघि, सुत्नुअघि र खानेकुरा खाएपछि, फोहोरकुरा छोएपछि, बच्चाको दिसा धोएपछि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने संकल्न गर्नुपर्यो ।
४.खानेपानी शुद्धिकरण गरेर मात्र पिउँछु
खानेपानी पनि चिसो चाहिने तपाई हाम्रो बानी छ । उमालेर खाएको पानीले प्यास नमेट्ने र क्लोरिनेसन गरेको पानीको पानी स्वाद नहुने भन्दै हामी प्रकृतिमा जस्तो पानी भेट्छौं उस्तै पानी पिउन लालयित हुन्छौं । तर पानीमा विभिन्न हानिकारक जीवाणुहरु हुन सक्छ । प्रदुषित खानेपानीको माध्यमबाट विभिन्न रोगहरु लाग्ने भएकाले आजै प्रण गरौं कि अब देखि पानी शुद्धिकरण गरेर मात्र पिउँछु भनेर ।
५. सुरक्षित खानेकुरा मात्र खान्छु
कतिपय रोगहरु असुरक्षित खानेकुराका कारण लाग्दछ । यो कुरा थाहा पाएर पनि हामी थाहा नपाए झैं गर्छौ । बिहान पाएको खाना बेलुकी पनि खाने, बेलुका पकाएको खानेकुरा उब्रिएछ भने बिहान खाने चलन छ । अझ सानो परिवारमा त पटक पटक पकाउने अल्छीले बिहान बेलुकीलाई पुग्ने खानेकुरा एकैपटक पकाउने गरिन्छ । यसो गर्दा थोरै समयको बचत त होला ? तर शरिरका लागि आवश्यक पौष्टिक तत्वको आपूर्ति नहुने चिकित्सकहरुले बताएका छन् । खानेकुरा बासी राखेर खाँदा झिंगा लगायत बाहिरी किटपतङ्गको सम्पर्क हुने हुँदा त्यत्ति सुरक्षित हुँदैन । आजै संकल्प गरौं न, सुरक्षित खानेकुरा मात्र खान्छु भनेर ।
६.व्यक्तिगत सरसफाइमा ध्यान दिनेछु
नियमित रुपमा नुहाउने, सफा चिटिक्क परेको कपडा लगाउने, नियमित हात मुख धुने, कपाल कोर्ने, नङ कोर्ने जस्ता नितान्त व्यक्तिगत कुराहरु यसमा पर्दछन् । व्यक्तिगत सरसफाइले तपाईको व्यक्तित्वलाई उजागर गर्ने हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिन्न त भन्नै हुन्न । अझ आजदेखि व्यक्तिगत सरसफाइलाई बढावा दिने प्रण गरौं न ।
७. महिनावारी स्वच्छतामा ध्यान दिनेछु, महिनावारी हुँदा दुर्व्यवहार गर्दिन
महिनावारी भएको समयमा महिलाहरुलाई फरक व्यवहार गर्ने चलन कतिपय समुदायमा अझै व्याप्त छ । महिनावारीलाई लज्जाको बिषय मान्ने र स्वच्छतामा ध्यान नदिने बानी पनि तपाई हामीमा छँदैछ । तपाई महिला हुनुहुन्छ भने महिनावारी हुँदा स्यानिटरी प्याडको प्रयोग गर्ने र प्रयोग गरिएको प्याडलाई सुरक्षित तरिकाले विसर्जन गर्ने प्रण गरौं । पुरुष हुनुहुन्छ भने पनि महिनावारी भएको समयमा आफ्ना दिदीबहिनी, आमा, भाउजुलाई काममा सहयोग गर्ने र महिनावारी भएको समयमा दुर्व्यवहार नगर्ने प्रण गरौं ।
८.घरायसी सरसफाइमा ध्यान दिनेछु, कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नेछु
घरभित्रको फोहोरमैला व्यवस्थापनको पाटो घरायसी सरसफाइ भित्र पर्दछ । गाउँघरमा कुहिने र नकुहिने फोहोर थुप्रिने समस्या त्यत्ति धेरै हुँदैन । कुहिने फोहोर वस्तुभाउलाई चारो बनाएर खुवाउने र नकुहिने फोहोर मध्ये पनि प्लाष्टिक लगायतका नकुहिने फोहोरहरु पुनः प्रयोगमा ल्याउने गरिन्छ । तर सहरबजारमा कुहिने र नकुहिने फोहोर नछुट्याउँदा व्यवस्थापनमा ठूलो समस्या सिर्जना भएको देखिन्छ । कुहिने फोहोरलाई आफैले मल बनाएर गमला वा करेसाबारीमा सागपात फलाउने हो भने फोहोरको मात्रा घटाउन सकिन्छ । यसलाई आफ्नै व्यवहारमा किन अवलम्बन नगर्ने त ?
९. वातावरणीय सरसफाइमा ध्यान दिनेछु
घरभित्र र आँगन सरसफाइ गरेर मात्र वातावरणीय सरसफाइ हुँदैन । घरभित्र र बाहिरको फोहोर बटुलेर खोल्सामा फ्याँक्ने तपाई हाम्रो बानी अझै हटेको छैन । साईली आमाले फ्याँक्दा मिल्छ भने मैले किन नमिल्ने भन्दै घर आँगन सफा गरेर फोहोर फ्याँक्ने प्रतिस्पर्धा जस्तै गर्छौ । हेर्नुहोस् तपाई हाम्रै कारण आज पवित्र नदी तथा खोलानाला फोहोर थुपार्ने स्थानमा परिणत भएको छ । हामी हरेक व्यक्ति व्यक्तिले आफूले उत्पादन गर्ने फोहोर सार्वजनिक ठाउँमा नफ्याँकी निश्चित ठाउँमा मात्र विसर्जन गर्ने हो भने पनि वातावरणीय सरसफाइमा केही न केही योगदान आवश्य हुन्छ । वातावरण संरक्षण प्रति आफ्नो दायित्व मनन गरी आजै देखि वातावरणीय सरसफाइमा ध्यान दिन्छु भन्ने प्रण गरौं न ।
१०. उल्लेखित कुराहरु म आफू पनि अवलम्बन गर्छु र अरुलाई पनि अवलम्बन गर्न प्रेरित गर्छु
समाजमा बसोबास गर्ने सबै एउटै स्तरका हुँदैनन् । तपाईले भन्दा मान्ने र गर्न उत्साहित हुने एउटा जमात हुन सक्छ वा तपाई आफै पनि अरु कसैले भनेको कुरामा बढी प्रभावित हुन सक्नुहुन्छ । यसर्थ खानेपानी, सरसफाइ र स्वच्छता सँग आफ्नो जीवनमा अवलम्बन गर्नुपर्ने कुराहरु आफू पनि गर्छु र अरुलाई पनि अवलम्बन गर्न लगाउँछु भनेर प्रण गरौं ।
यत्ति गर्न सक्यौं भने हाम्रो समाज कति सुसंस्कृत, सभ्य, हराभरा र सुन्दर हुन्थ्यो होला ? कल्पना गरौं त । तपाई हामीले आफ्नो स्तरबाट यत्ति कुरा गर्दा समाजको चेहरा फेरिन्छ भने किन नगर्ने होइन त ? नयाँ बर्षमा मैले चाहिं यो संकल्प गरें । तपाई पनि गर्नुहोस् है ।
- पी.टी.लोप्चन
अध्यक्ष/प्रबन्ध निर्देशक
सम्पन्न सञ्चार प्रा.लि.