सन् २०१९ को अन्त्य तिरबाट शुरु भएको कोरोना भाईरसका कारण हुने स्वास्थ्य समस्यालाई “कोभिड -१९” को नाम दिंदै विश्व स्वास्थ्य संगठन (WHO) ले यसलाई सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारीको घोषणा गर्यो । हालको अवस्था सम्म विश्वका धेरै देशहरुमा फैलिसकेको कोरोनाले विश्वव्यापी स्वास्थ्य संकट सिर्जना गर्नुका साथै यसबाट संक्रमित भए, नभएका सबैको दैनिक जीवनमा गहिरो प्रभाव पारिरहेको छ ।
कर्मचारीको व्यक्तिगत सुरक्षा सामग्रीहरु व्यवस्था, उपभोक्तासँगको सञ्चार कायम, जनचेतना आदि कार्यले सामान्य अवस्थाको भन्दा कार्य संचालन खर्च बढ्ने निश्चित नै छ । साथै प्रकोपको समयमा मानवीय दृष्टिकोणबाट गरिने जरीवाना छुट, महसुल बुझाउने समयावधिमा लचकता आदि कारणले वित्तीय व्यवस्थापन झनै पेचिलो हुन जाने कुरालाई नकार्न सकिन्न ।
कोरोनाका कारण स्वास्थ्य, शिक्षा, अर्थतन्त्र लगायत सबै क्षेत्रहरु प्रभावित हुनुका साथै विश्वव्यापीकरणको फराकिलो दायरा संकुचित हुन गएको छ । यसबाट खानेपानी सरसफाईको क्षेत्र पनि अपवाद हुन सकेको छैन जबकि कोरोना प्रकोप लगायत सबै संक्रामक रोग प्रकोपहरूको समयमा मानव स्वास्थ्यको रक्षा गर्न सुरक्षित पानी र सरसफाईको पर्याप्त सुविधा र सुचारुपन अपरिहार्य छ ।
खानेपानी सेवामा कोरोना प्रकोपको असर
खानेपानी तथा सरसफाइमा प्रयोग भएको पानीबाट कोरोनाभाईरस सर्ने सम्भावना सम्बन्धमा हालसम्म कुनै तथ्यगत प्रमाण भेटिएको छैन । यद्यपि कोभिड -१९ का कारण खानेपानी सेवामा परेका तथा पर्न सक्ने असरहरु विद्यमान रहेका छन्, जसमध्ये केही तल उल्लेख गरिएको छ र यस्ता असरहरु कोरोना संक्रमणको मात्रा र स्थान विशेष अनुसार फरक पर्न सक्छन् ।
अस्पताल, स्वास्थ्य संस्था, घरायसी उपभोक्ताहरुबाट माग बढ्न जाँदा पानी आपुर्तिमा कमी हुन सक्ने ।
पानी प्रशोधन तथा वितरणका लागि आवश्यक केमिकल, ईन्धन पर्याप्त स्टक नभएको अवस्थामा सो को अभावबाट आपुर्ति प्रभावित हुन सक्ने ।
लकडाउन, क्वारेन्टाईनका कारण सेवा प्रवाहमा अत्यावश्यक कर्मचारीको अनुपस्थिति ।
सामुदायिक धारा लगायतका पानी संकलन गर्ने स्थानहरुमा पर्याप्त दुरी र पालो व्यवस्थित गर्न नसक्दा संक्रमणको जोखिम ।
आम -उपभोक्ताहरुले महसुल समयमै तिर्न उपयुक्त माध्यम, जानकारि र पहुँचको अभावमा महसुल संकलन प्रभावित भई न्युनतम सञ्चालन खर्च समेत धान्न नसक्ने अवस्थाको श्रृजना ।
प्रकोपको समयमा खानेपानी आपुर्तिबाट कोरोना भाईरस सर्न सक्ने लगायतका पानी उपभोग र आपुर्ति प्रभावित हुने खालका अफवाह ।
न्यूनीकरणका उपायहरु
कोरोनाका कारण खानेपानी सेवामा परिरहेको र पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै खानेपानी सेवा प्रदायकहरुस् खानेपानी संस्थान, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी आयोजना व्यवस्थापन लगायत उपभोक्ता समितिहरुले त्यस्ता प्रभाव र असरहरुको समयमै आंकलन गरी न्युनीकरण तर्फ तयारी थाल्नु उचित हुनेछ । यसका लागि आम-उपभोक्ताको साथ र सहयोग पनि उत्तिकै महत्वपुर्ण रहने र सेवा प्रदायकको क्षमता, श्रोत साधनको उपलब्धता हेरी स्थानीय, प्रदेश र संघीय सरकारले पनि यथोचित तवरबाट स्थानीय सेवा प्रदायकलाई सयोग गर्दै नियमनकारी निकायको भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
कर्मचारी व्यवस्थापन
उपलब्ध कर्मचारीको सम्पर्क विवरण, कार्य विभाजन र सेवा क्षेत्र अनुसार भुमिका र जिम्मेवारी अध्यावधिक गरी सबै कर्मचारीलाई सो बारेमा जानकारी गराउने ।
कोहि कर्मचारी विशेषको अनुपस्थितिमा सो क्षेत्र वा कार्यको जिम्मेवारी वहन गर्ने वैकल्पिक कर्मचारीको व्यवस्था गर्ने ।
विशेष तथा बहु(प्राविधिक क्षमता भएका, एक भन्दा बढी जिम्मेवारी निर्वाह गर्न सक्ने, अप्ठ्यारो परिस्थितिमा सहजता पुर्वक कार्य गर्न सक्ने कर्मचारीको पहिचान गर्ने ।
सम्भव भएसम्म मुख्य तथा वैकल्पिक कर्मचारीको समुह बनाउने र विगतमा खानेपानी सेवामा कार्य गरी अनुभव प्राप्त, तालीम प्राप्त व्यक्तिहरुको खोजी गरी विषम परिस्थितिको बारेमा जानकारि गराउदै अनुरोध गर्ने र सहमति पश्चात जगेडामा राख्ने ।
आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने बाह्य सरोकारवालाहरुस् जस्तै स्थानीय प्रहरी, स्थानीय सरकार, स्वास्थ्य संस्था, खानेपानी सेवामा आवश्यक पर्ने सामानरईन्धन आपुर्तिकर्ताहरु, सम्बन्धित निजि क्षेत्रका व्यक्ति/कम्पनी, गैर सरकारी संस्था लगायत स्थानीय स्तरमा उपलब्ध विज्ञ व्यक्तिहरुको सम्पर्क विवरण अध्यावधिक गर्ने र सो को जानकारी सबै कर्मचारीलाई गराउने ।
कर्मचारी सुरक्षा
कोरोना प्रकोप, यसको असर, संक्रमणको सम्भावना, सुरक्षित उपायहरुका सम्बन्धमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जनस्वास्थ्य विज्ञहरुबाट प्रवाह भएका अध्यावधिक सुचनाहरु सबै कर्मचारीलाई जानकारी गराउदै रहने र हरसम्भव यस्ता सुचनाहरुको आधिकारिक श्रोत सहित जानकारी गराउने ताकि चाहेको खण्डमा कर्मचारी स्वयंले पनि त्यस्ता जानकारी हासिल गर्न सकुन् ।
आवतजावत, बैठक, भेटघाट बन्द गर्ने र अत्यावश्यक अवस्थामा भेट्नुपर्दा निश्चित दुरी कायम गर्ने ।
कर्मचारी स्वयं उपस्थित नभए पनि गर्न सकिने कार्यहरु टेलिफोन सम्पर्क वा अन्य प्रविधिको माध्यमबाट सम्पर्क स्थापित गरी गर्ने ।
अत्यावश्यक र सेवा प्रवाह प्रभावित हुने खालका बाहेक सम्पुर्ण निर्माण, सेवा विस्तारका कार्यहरु अस्थायी रुपमा बन्द गर्ने ।
कर्मचारीलाई विशेषगरी फिल्डमा अत्यावश्यक काम गर्दाको अवस्थामा सकेसम्म व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था गर्ने । मापदण्ड अनुसारको व्यक्तिगत सुरक्षा उपकरण नभएको अवस्थामा कम्तीमा मास्क, पञ्जा, चश्मा, टोपीरहेल्मेट, ज्याकेट, ट्राउजर प्रयोग गर्ने ।
सेवा प्रवाह
पानी प्रशोधन तथा वितरणका लागि आवश्यक केमिकल, ईन्धन मौजुदा अवस्थामा राख्ने र थप आवश्यकका लागि आपुर्तिकर्ता सँग सम्पर्क, समन्वय कायम राखिरहने ।
संकलन तथा वितरण प्रणाली, संरचनाहरु, पाईपलाईनको सञ्जाल झल्किने गरी आयोजनाको चित्रण अध्यावधिक गर्ने । ठुलो क्षेत्र, धेरै पाईपलाईन र धेरै क्षेत्रका उपभोक्ता रहेका सेवाप्रदायकले क्षेत्रगत रुपमा सकेसम्म वितरण प्रणाली पाईपको नाप, आकार सहितको चित्रण अध्यावधिक गर्ने र कर्मचारी व्यवस्थापन गर्दा सोहि क्षेत्रको जानकार कर्मचारीलाई जिम्मेवारी दिने ।
लकडाउन (बन्दाबन्दी) तथा आपतकालीन अवस्थामा निरन्तर खानेपानी सेवा चाहिने र सेवा बन्द गर्दा पनि हुने औद्योगिक, व्यापारिक र संस्थागत उपभोक्ताहरुको छुट्टै सुची बनाई अध्यावधिक गर्ने ।
हालको कोरोना प्रकोप जस्तो स्वास्थ्य संकटका अवस्थामा अस्पताल, स्वास्थ्य केन्द्र, निजी स्वास्थ्य संस्थाहरुबाट र लकडाउनका कारण घरायसी उपभोक्ताबाट समेत पानीको माग बढ्न गई आपुर्ति प्रभावित हुन सक्ने हुँदा बन्द रहेका होटल, रेष्टुराँ, उध्योग, कल-कारखाना तथा कार्यालयहरुको सेवा अस्थायी रुपमा बन्द गरी आपुर्ति व्यवस्थापन गर्न सकिने । अस्पतालहरुमा ट्यांकरबाट थप पानी आपुर्ति गर्न समेत तयार रहने ।
दैनिक जीवनमा अत्यावश्यक पानीको सेवालाई हालको अवस्थामा सामान्य मर्मतको अभाव वा हालैको महसुल नतिरेकै कारण उपभोक्ताको सेवा बन्द नगरिदिने ।
वित्तीय भार व्यवस्थापन
आपतकालीन अवस्थामा अत्यावश्यक सामग्री तत्काल खरीद गर्नु पर्दा सामान्यतया महंगो मुल्य तिर्नु परेको विगतका उदाहरणहरु रहेको हुँदा हालको कोरोना प्रकोपमा पनि पानी प्रशोधनका लागि आवश्यक केमिकल, निर्मलीकरणका सामग्री लगायत ईन्धन आदि खरीद गर्नु पर्दा सामान्य अवस्थाको तुलनामा थप वित्तीय भार नपर्ला भन्न सकिन्न । यसका अलावा कर्मचारीको व्यक्तिगत सुरक्षा सामग्रीहरु व्यवस्था, उपभोक्तासँगको सञ्चार कायम, जनचेतना आदि कार्यले सामान्य अवस्थाको भन्दा कार्य संचालन खर्च बढ्ने निश्चित नै छ । साथै प्रकोपको समयमा मानवीय दृष्टिकोणबाट गरिने जरीवाना छुट, महसुल बुझाउने समयावधिमा लचकता आदि कारणले वित्तीय व्यवस्थापन झनै पेचिलो हुन जाने कुरालाई नकार्न सकिन्न ।
वित्तीय भार व्यवस्थापनका लागि खानेपानी सेवा प्रदायकहरु: खानेपानी संस्थान, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी आयोजना व्यवस्थापन लगायत उपभोक्ता समितिहरुले संस्थागत बचतबाट सजिलै व्यवस्थापन गर्न सक्ने छन् । तथापि एकाध महिना भित्रमा स्थिति सामान्य नभई लामो समय सम्म प्रकोपको असर रहिरहने अवस्था रहेमा खानेपानी सेवा प्रदायकहरुले क्षमता, व्यवस्थापकीय कुशलता, उपभोक्ता र स्थानीय समुदाय, स्थानीय सरकारसँगको सम्बन्धको जगमा विभिन्न उपायहरु अपनाउन सक्दछन्, जसमध्य केहि तल उल्लेख गरिएको छ।
पुराना सेवा प्रादायकको हकमा तत्कालका लागि संस्थागत बचत परिचालन गर्ने ।
व्यक्तिगत तथा संस्थागत दाताहरुबाट सहयोग लिने ।
उपभोक्ता, सरोकारवालासँगको सहमतिमा अवस्था सामान्य भए पश्चात निश्चित समयको लागि महसुल वृद्दि गर्ने र त्यसबाट आर्जित रकमबाट शोधभर्ना हुने गरी स्थानीय सरकार, वित्तीय संस्थाबाट निर्ब्याजी वा न्युनतम ब्याजमा ऋण लिई परिचालन गर्ने ।
स्थानीय सरकार, प्रदेश वा संघीय सरकारबाट अनुदान प्राप्त गर्ने ।
महसुल संकलन
लकडाउनका कारण मिटर रिडिङ नहुनु र सेवा प्रदायक कार्यालयमै गई महसुल बुझाउने उपभोक्ताहरुले समयमै महसुल बुझाउन नसक्ने निश्चित छ । यसका साथै घरायसी उपभोक्ताहरु सबैजना घरमै बस्ने तथा सुरक्षाको लागि बारम्बार साबुनपानीले हात धुने र सरसफाई कायम राख्दा पानीको खपत बढ्ने र सो सँगै वृद्दि भएको महसुल भुक्तानी गर्न पर्याप्त रकमको अभाव पनि हुनसक्छ (विशेष गरी रोजगारी, दैनिक ज्यालादारी बन्द भएका उपभोक्ताको हकमा) र यो मानवीय यथार्थलाई बुझेर सेवा प्रदायकहरुले उपभोक्तालाई उपयुक्त जानकारी र महसुल भुक्तानीमा सहजताको व्यवस्था गर्नुपर्ने हुन्छ, जसका लागि निम्न कार्यहरु गर्न सकिन्छ ।
उपभोक्ताहरुलाई वैकल्पिक भुक्तानीका माध्यम (ई-बैकिङ, अनलाईन भुक्तानीका माध्यमहरु) को बारेमा जानकारी गराउने ।
महसुल भुक्तानीको समयावधि थप्ने
निश्चित रकम वा न्युनतम मासिक महसुल भुक्तानी गरेर पछि समायोजन गर्ने
जरिवाना छुट गर्ने आदि ।
उपभोक्तासँगको सञ्चार
प्रकोपको समयमा खानेपानी जस्तो अत्यावश्यक सेवा प्रवाह गर्नु जति जरुरी हुन्छ त्यति नै जरुरी उपभोक्ताहरुसँग उपयुक्त सञ्चार माध्यम मार्फत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सम्पर्क स्थापित गरी सेवा, अत्यावश्यक जानकारीहरु र अफवाहहरुका बारेमा सु-सुचित गर्नु पनि हुन्छ । यसप्रकारको सञ्चारले आम-उपभोक्ताको खानेपानी सेवा प्रदायकप्रति विश्वसनीयता बढ्न गई सेवा प्रदायक र उपभोक्ताको सम्बन्ध सुमधुर हुनुका साथै आपसी मेलमिलाप, भाईचारा र प्रकोपसँग लड्ने एकतामा बल पुग्ने विश्वास गर्न सकिन्छ ।
अत्यावश्यक सेवा प्रवाहमा अवरोध भएमा कसलाई, कसरी सम्पर्क गर्ने सम्बन्धमा उपभोक्तालाई जानकारी गराउने ।
संक्रमणबाट बच्ने सुरक्षित उपायहरुका सम्बन्धमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जनस्वास्थ्य विज्ञ लगायत अन्य आधिकारिक श्रोतहरुबाट प्राप्त अध्यावधिक सुचनाहरु उपयुक्त सञ्चार माध्यमहरु मार्फत जानकारी दिने र बढी भन्दा बढी उपभोक्ता, समुदायमा पुगेको सुनिश्चितिता गर्ने ।
कोरोना संक्रमणबाट बच्न नियमित साबुनपानिले हात धुने, घरायसी स्तरमा पानी शुद्दीकरणका विधिहरु लगायत उचित सरसफाईका उपायहरु अवलम्बन गर्न प्रेरित गर्ने ।
खानेपानी र कोरोना संक्रमण सम्बन्धित अफवाहका बारेमा उपभोक्तालाई सु-सुचित गर्ने ।
उपभोक्ता तथा समुदायलाई सु-सुचित गराउन उपयुक्त माध्यमको रुपमा सेवा प्रदायकको वेबसाईट, फेसबुक पेज, अन्य सामाजिक सञ्जाल, स्थानीय एफ।एम। को प्रयोगका अलावा स्थानीय प्रशासन, प्रहरी र स्थानीय सरकारसँगको समन्वयमा प्रहरीको गस्ती गर्ने सवारी साधन, फोहर संकलन गर्ने सवारी साधनबाट पनि प्रचार प्रसार गर्न सकिन्छ ।
र अन्त्यमा
हालको कोरोना प्रकोप जस्तो अवस्था विगतमा पनि आएको र भविष्यमा पनि आउन सक्ने तथयलाई अंगिकार गर्दै खानेपानी सेवा प्रदायक लगायत सबैले आफुलाई तयारी अवस्थामा राख्न आवश्यक छ । कोरोना प्रकोपबाट अनुभव गरिएका सिकाईहरुलाई आत्मसात गरी भविष्यमा हुन सक्ने आपतकालीन अवस्थामा खानेपानी जस्तो दैनिक जीवनमा अत्यावश्यक सेवालाई सुचारु र कम भन्दा कम प्रभावित बनाउन सबल र सुदृढ हुँदै जानु पनि जरुरी छ ।
लेखक, खानेपानी, सरसफाइ तथा विपद व्यवस्थापनको क्षेत्रमा कार्यरत स्वतन्त्र सल्लाहकार हुनुहुन्छ ।