विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सम्बद्ध फोहोरको व्यवस्थापनमा सजगता अवलम्बन गर्नुपर्ने देखिएको छ । लकडाउनले घर बसेका, आइसोलेसनमा भएका, क्वारेण्टाइनमा बसेका र अस्पतालमा जाँच परीक्षण गरिरहेकाहरूबाट सिर्जना हुने फोहोरमैला व्यवस्थापनमा चुनौती र अस्तव्यस्तता देखिएको छ । बेलायती सरकारी स्वास्थ्य संस्थाले आफ्ना नागरिकमा कोभिड–१९ भए नभएको यकिन नहुञ्जेलसम्म यिनीहरूसँग सम्बन्धित फोहोरमैलालाई डस्टबिनमा कीरा, घरपालुवा जनावर, केटाकेटी नपुग्ने ठाउँमा दोहोरो प्याक गरी अलग्गै राख्ने र नेगेटिभ परिणाम आए सामान्य फोहोरमैलासरह राख्न अनुरोध गरेको छ ।
खरिपाटी क्वारेण्टाइनमा लुगा धुने, ढल, फोहोर तथा सफासुग्घर सबैको राम्रो व्यवस्थापन भए पनि उपत्यकाको फोहोर उठाउने ७१ वटा निजी संस्थाका कर्मचारीको सुरक्षा गम्भीर छ । सम्बन्धित संस्थाहरू नगर सफाइ कर्मचारीको सुरक्षा व्यवस्थापनमा स्वयं लागेको पाइएको छ ।
विभिन्न देशमा निर्देशन जारी गर्दै ७२ घण्टासम्म अस्पतालका रोगीको तथा शङ्कास्पद घरेलु फोहोरमैला जस्तै टिस्यू–सफा गर्ने कपडा–पञ्जा लगायतलाई दुईवटा प्लास्टिकमा छुट्टै भित्र राखेर पछि सामान्य फोहोरमैलामा बाहिर सङ्कलन गर्न, फोहोर उठाउने कामदार र कर्मचारीहरूलाई सुरक्षा सामग्री प्रदान गर्न, आइसोलेसनमा बसेको अवस्थाको र बगैँचाका फोहोरमैलासमेत घरमै राम्रोसँग थन्काएर राख्न, जलाउन, गाड्न लगायतका व्यवस्था गर्न भनिएको छ । तर सरकारले फोहोर नउठाउँदा थुप्रिएर समस्या भएको भन्दै सरकारविरुद्ध नागरिकले मुद्दा पनि हाल्दैछन् ।
फोहोरमैला राख्ने कन्टेनरको बिर्को उघारेर फोहोर राख्दा धेरैले छुने भएकाले सङ्क्रमण हुने डरले बाहिर छेउमा जथाभावी फोहोरमैला राख्न थालेपछि पोर्तुगलको अलगार्भ नगरपषिद्ले आफूले पञ्जा, मास्क लगाएर दोहोरो ब्यागमा फोहोरमैला दुईतिहाइ भरी टम्म बाँधेर तोकिएको फोहोरमैला दानीमा राख्ने र मास्क, पञ्जा, टिस्यू जस्ता फोहोरमैला साधारण फोहोरमैला भाँडोमा राख्न अनुरोध गरेको छ ।
ग्रीनपिस अमेरिकाले पुनः प्रयोगमा आउने कपडाका झोला राम्रोसँग धुने तर एकल प्रयोग प्लास्टिक झोला प्रयोग नगर्ने भनेको छ । न्यू इङ्गल्याण्ड जर्नल अफ साइन्समा प्रकाशित लेखमा प्लास्टिकमा तीन दिन कोरोना भाइरस रहनसक्ने उल्लेख छ । अमेरिकी स्थानीय निकायले पनि प्लास्टिक झोलाको प्रयोग नगर्न अनुरोध गरेका छन् । तथापि नेपाललगायत अधिकांश देशमा अहिले एकल प्रयोग प्लास्टिक झोला कोरोना फोहोरमैला व्यवस्थापनमा प्रत्यक्ष जोडिएको सामग्री भएको छ ।
स्वास्थ्य निकायहरूको फोहोरमैला व्यवस्थापनका लागि विशेष व्यवस्था गर्नु उचित हुन्छ । सर्वसाधारणले ७२ घण्टासम्म कम्तीमा दुईवटा बलिया प्लास्टिक झोलामा फोहोरमैला पृथक् गरी राम्ररी बाँधेर अलग्गै राखेमा कोभिड–१९ विरुद्धको अभियानमा सरकारलाई सहयोग पुग्ने थियो ।
प्रयोग भएका मास्क जथाभावी रुपमा फ्याँक्ने समस्या छ । निम्न आय भएकाले उठाएर पुनः प्रयोग गर्ने सम्भावना हुन्छ । र्याल सिँगानको गन्ध पाएर जनावरले समेत चाट्ने सम्भावना हुन्छ । मास्क, क्लिनिकल तथा बायोमेडिकल फोहोर हो । अस्पतालमा यस्ता फोहोर व्यवस्थाको सम्बन्धमा उचित तरिका अवलम्बन गरिएको हुन्छ । मुखबाट निकालेर घरको डष्टविनमा हाल्ने तथा बाटोमा हिँड्दा खाली ठाउँमा फ्याँक्दा फोहोर उठाउने कर्मचारी र सर्वसाधारणलाई समेत असर गर्छ । भारतको स्वास्थ्य मन्त्रालयले गाइडलाइन निकालेर विल्च सोलुसन(५ प्रतिशत) र सोडियम हाइपोक्लोराइड सोलुसन (१ प्रतिशत) डुबाएर डस्टबिनमा हाल्नुपर्छ भनेको छ ।
संयुक्त राष्ट्र वातावरणीय कार्यक्रमले फोहोरमैला व्यवस्थापनलाई अत्यन्त जरुरी र अति आवश्यक सार्वजनिक सेवा मानेर स्वास्थ्य तथा बायोमेडिकल फोहोरमैलाको उचित व्यवस्थापनसम्बन्धी ‘बसेल कन्भेन्सन’को मार्गनिर्देशनको पालना गर्न भनेको छ । संक्रमित मास्क, पञ्जा, औषधि, सुरक्षा उपकरणहरू घरेलु फोहोरमैलामा सजिलै मिसिने भएकाले त्यसलाई अलग्गै राखेर फोहोर व्यवस्थापन गर्नुपर्छ । बायोमेडिकल तथा स्वाथ्य उपचार गर्दाको फोहोरको राम्रो पहिचान–सङ्कलन–पृथक् गर्ने–भण्डारण–ढुवानी–उपक्रमण/उपचार र बहिर्गमन गर्नेलगायत कर्मचारीहरूको प्रशिक्षण र व्यक्तिगत सुरक्षा दिन कार्यक्रमले अपेक्षा गरेको छ । विश्व स्वास्थ सङ्गठनले सरसफाइ, शारीरिक स्वच्छता र फोहोरमैला व्यवस्थापनका लागि प्राविधिक मार्ग निर्देशन जारी गरेको छ ।
नेपालमा फोहोर व्यवस्थापन प्रभावकारी छैन । स्थानीय तहलाई फोहोरमैला व्यवस्थापनको अधिकार दिन ऐनको नमुनासम्म तयार भएको छ । संरचनागत हेरफेरले वातावरण विभाग अलमलिएको देखिन्छ । फुल्चोकीस्थित फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्र खारेज भएसँगै फोहोरमैला निर्देशिका २०६८ पनि निष्क्रिय भएको छ ।
अस्पताल अगाडि थुप्रिएका चिकित्सकीय फोहोरमा सालनालसम्म पाइएको छ । सुई, रसायन, विकिरणयुक्त औषधीय पदार्थ, सरुवा रोगका लागि प्रयोग गरिएका सामग्रीलगायत खतरापूर्ण सामग्री अस्पतालको फोहोरमा हुन्छ । नेपालमा गरिएको विभिन्न अध्ययन प्रतिवेदनमा आठ प्रतिशत निजी अस्पतालले मात्र फोहोरमैलासम्बन्धी प्रचलित मापदण्ड पालना गरेको र कतिले नगरपालिकाको फोहोरमैलामा मिसाइदिने र कतिले बाल्ने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागमा वातावरण र स्वास्थ क्षेत्रको फोहोरमैला व्यवस्थापन सम्बन्धी छुट्टै शाखा खडा गरिएको छ । मन्त्रालयले ‘हेल्थकेयर वेष्ट मेनेजमेन्ट गाइडलाइन २०१४’ पनि कार्यान्वयनमा ल्याएको छ । योजनाका दस्तावेजमा पनि स्वास्थ्यक्षेत्रको फोहोर व्यवस्थापन सम्बन्धमा नीतिगत व्यवस्था छ । नेपाल स्वास्थ अनुसन्धान परिषद्ले निर्देशिका बनाएर लागु गरेको छ । वातावरण संरक्षण ऐन २०७६ मा वातावरणमा असर पुग्ने गरी फोहोरमैलामा लापरवाही गरे तीन लाख रुपियाँ जरिवानाको व्यवस्था छ तर प्रभावकारी कार्यान्वयन देखिँदैन ।
महामारीको अस्तव्यस्ततामा अस्पतालका फोहोरमैला व्यवस्थापन प्रभावकारी नभए जनस्वास्थ्यले भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । फोहोरले महामारी फैलिने डरले सिसडोलका स्थानीयको विरोधका कारण ३५ निजी संस्थाले प्रतिदिन एकहजार मेट्रिक टन उठाउने गरेको फोहोर व्यवस्थापन प्रभावित भएपछि स्थानीयसँगको वार्ता सफल नहुन्जेलसम्म घरमै फोहोर उचित तवरले थन्क्याउन काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । वार्ता भएपछि अहिले नियमित रुपमा फोहोर उठाइएको छ । नुवाकोटको बञ्चरेडाँडामा सञ्चालित नयाँ परियोजनाको काम पूरा भएपछि फोहोरमैला व्यवस्थापनमा सहजता आउनेछ ।
खरिपाटी क्वारेण्टाइनमा लुगा धुने, ढल, फोहोर तथा सफासुग्घर सबैको राम्रो व्यवस्थापन भए पनि उपत्यकाको फोहोर उठाउने ७१ वटा निजी संस्थाका कर्मचारीको सुरक्षा गम्भीर छ । सम्बन्धित संस्थाहरू फोहोर कर्मचारीको सुरक्षा व्यवस्थापनमा स्वयं लागेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले कुचिकार र फोहोर उठाउने कर्मचारीका लागि सुरक्षा उपकरणको व्यवस्था गर्दैछ । नेपालमा नगर सफाइमा करिब छ हजार संलग्न छन् । गुठीलगायत विभिन्न गैर नाफामूलक र गैरसरकारी संस्थाहरू सरसफाइकर्मीलाई सुरक्षा सामग्री वितरण गर्न सक्रिय छन् । सरकारले अति आवश्यक सेवामा कार्यरत कर्मचारीलाई २५ लाखको सुरक्षा बीमा पनि व्यवस्था गरेको छ ।
स्वास्थ्य निकायहरूको फोहोरमैला व्यवस्थापनका लागि विशेष व्यवस्था गर्नु उचित हुन्छ । सर्वसाधारणले ७२ घण्टासम्म कम्तीमा दुईवटा बलिया प्लास्टिक झोलामा फोहोरमैला पृथक् गरी राम्ररी बाँधेर अलग्गै राखेमा कोभिड–१९ विरुद्धको अभियानमा सरकारलाई सहयोग पुग्ने थियो । सरकारले महामारीको फोहोरमैला जलाउने अलग्गै भट्टीको व्यवस्थापन गर्न नसकेकाले हाललाई उचित व्यवस्थापन गरी कसैलाई हानि नपुग्ने गरी पर्याप्त स्थान उपलब्ध हुन्छ भने आफैले जलाउँदा हुन्छ । हाल कोरोना परीक्षणको व्यवस्था गरिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान तथा निजामती अस्पतालमा फोहोर व्यवस्थापनमा आन्तरिक अलग अलग डस्टबिन छन् ।
फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीलाई खोप र सुरक्षा उपकरण दिइएको छ । जलाउने व्यवस्था पनि छ । आवासीय कर्मचारी आवासको फोहोर पनि हुन्छ । सबै विभागको फोहोर एकै ठाउँमा जम्मा गरेपछि फाल्ने स्थलमै लगिन्छ । नेपाल स्वास्थ अनुसन्धान परिषद्को र डब्लुएचओको सबै मापदण्ड अक्षरशः पालना गर्न बजेटको अभाव भएको हुनसक्छ ।
स्थानीय तहमार्फत सरकारले कोभिड–१९ को फोहोरमैला व्यवस्थापनका लागि प्रचारप्रसार गर्नुपर्छ । सजगता अवलम्बन गर्दै फोहोर संकलन गर्न आउनेलाई सहजताका लागि मास्क, टिस्यू, पञ्जा, रुमाल लगायतका फोहोरहरू र अन्य घरेलु फोहोरलाई अलग अलग गरेर व्यवस्थित गरे राज्यलाई सहयोग पुग्नेछ ।
लेखक – नेपाल सरकारका पूर्व महानिर्देशक हुनुहुन्छ ।