काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले अस्पतालजन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाइकर्मीको लागि पनि पीपीई अत्यावश्यक रहेको बताउनुभएको छ । कोभिड -१९ पश्चातको अवस्थामा खानेपानी र सरसफाइका स्थानीय मुद्दा र संचारकर्मीको भुमिका बिषयक भिडियो कन्फरेन्समा बोल्दै उहाँले अस्पतालहरुमा विभिन्न संस्था तथा निकायबाट प्रदान गरिएको पीपीआईको गुणस्तर पनि एकैनासको नभएको र गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौं बाहिरका अञ्चल अस्पतालमा सरसफाइको अवस्था नाजुक रहेको कुरा पनि औल्याउनु भयो । ‘बाहिरको अञ्चल अस्पतालमा विरामी त परै जाओस, डाक्टर र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अभाव छ ।’ उहाँले भन्नुभयो ‘यस्तो सरसफाइको कमीले अरु पनि स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ ।’ उहाँले तराईका केही आइसोलेसन सेन्टरमा औलो जस्ता रोग देखिन थालेको जानकारी गराउनुभयो ।
कार्यक्रममा फोहरमैला व्यवस्थापन महासंघ नेपालका अध्यक्ष मित्र घिमिरेले सरसफाइ कायम गर्ने सरसफाइकर्मीहरुको समस्या उजागर गर्नुभयो । उहाँले हालै सरससफाइकर्मीमा पनि कोभिड–१९ फेला परेको र हाल कार्यरत सवै सरसफाइकर्मीलाई उपयुक्त पीपीई र स्वास्थ्य बीमाको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । यस्तै अहिलेको जटिल अवस्थामा सरसफाइकर्मीको सहजताको लागि फोहरमैला व्यवस्थापन ऐन सरकारले लागु गर्नुपर्ने कुरा उठाउनुभयो । उक्त ऐनको सफल कार्यान्वयनबाट फोहोरको मात्रा घट्ने उहाँको भनाइ थियो । ऐनमा कुहिने, रि–साईकल गर्न सकिने र रि–साइकल नहुने फोहोर स्रोतमै छुट्याउनु पर्ने व्यवस्था छ ।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अधिकृत सानु मैया महर्जनले हाल लकडाउनका समयमा सिसडोल ल्याण्डफिलमा जाने फोहोरको मात्रा बढेको बताउनुभयो । सामान्य अवस्थामा निजी सरसफाइ कम्पनीले उठाएको फोहोरबाट रिसाइकल हुने फोहोर छुट्टाएर पठाउने र नगरपालिकाले उठाएको फोहोरमा पनि दैनिक मजदुर सरसफाइकर्मीले रिसाइकल हुने कागज, प्लाष्टिक, फलाम आदि छुट्टाउने गरिएपनि अहिले समयमा यो कार्य नभएका कारण ल्याण्डफिलमा बढी फोहोर गएको जिकिर गर्नुभयो ।
भिडियो कन्फरेन्समा सहभागी विभिन्न पत्रकारले पत्रकारिता क्षेत्रमा हाल देखिएका चुनौतीका बारेमा कुरा आ आफ्नो विचार व्यक्त गरेका थिए । केही पत्रकारले पास नभएको र यातायातको सुविधा नहुँदा काम गर्नमा कठिनाई महसुस भएको बताएका थिए । त्यस्तै मास्क, पञ्जाको अभावमा फिल्डमा काम गर्दा जोखिम हुने बताएका थिए ।
यस छलफलका मध्यस्थकर्ता तथा आयोजक गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले हाल स्थानीय मुद्दा सञ्चार माध्यममा कम आएको तथा सञ्चारकर्मीले के कस्ता चुतौती भोगिरहेका छन् र यसका लागि के कस्ता समाधानका उपाय अपनाउन सकिन्छ भन्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।