प्रविधि र सीप सिके चामलको बोरामै फलाउन सकिन्छ तरकारी 

काठमाडौ : कम्पोष्ट विन किनेर ल्याएको १ वर्ष वित्दा पनि मल बनाउन नजाने पछि हैरान हुनुहुन्थ्यो ललितपुरकी किरन शाक्य । कम्पोष्ट मल बनाउने सीप सिक्न धेरै पटक महानगरपालिकामा फोन गरिसक्नुभएकी किरनलाई गुथिद्वारा आयोजित कम्पोष्ट मल बनाउने अनलाइन तालिम भने ढुंगाको सट्टा देउता मिलेको अनुभूति भएको छ । किरन भन्नुहुन्छ ‘मैले नगरपालिकामा धेरै पटक फोन गरें खासै कम्पोष्ट मल बनाउने विधी सम्बन्धी तालिम पाएको थिएन । तर आज प्रविधिले गर्दा घरमै बसेर भान्छाको फोहोरलाई मल बनाउन विधी सिकियो । मलाई त कम्पोष्ट बनाउँदा जोरण राख्न पर्छ भन्ने नै थाहा थिएन । अनलाईन तालिम बाट ई.एम. प्रयोग गरेर राम्रो कम्पोष्ट मल बनाउन सकिने सिके ।’

तालिमकै अर्का सहभागी सुदिप हाडाले कम्पोष्ट मल बनाउन थालेको लगभग १ वर्ष भई सके पनि राम्रो त्यसको परिणाम आएको थिएन । मल बनाउने तरिका सिक्न धेरै पटक महानगरपालिका धाईसक्नुभएका हाडाले पनि तालिमबाट आफ्नो जिज्ञासा मेटाउन पाएको बताउनुभयो ।

पद्मा देउला सफाइकर्मी हुनुहुन्छ । सरसफाइको क्षेत्रमा कार्यरत साथीहरुलाई पनि यसको बारेमा जानकारी दिने उहाँको विचार छ । ‘अब उप्रान्त आफ्नो घरको भान्छाबाट निस्कने फोहोरबाट मल बनाउँछु, घरबाट निस्केको फोहोरलाई घरमै व्यवस्थापन गर्न सके फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने देखें ।’ उहाँले भन्नुभयो ।

लकडाउनको अवसरलाई सदुपयोग गर्ने उद्देश्यले गुथिले गत हप्ता २२ अप्रिलका अनलाईन कौसी खेती तालिम आयोजना गरेको थियो । यसैको दोस्रो संस्करणको रुपमा घरेलु कम्पोष्ट निर्माण तालिम सञ्चालन गरिएको हो ।

घरघरमा मल बनाउन प्रोत्साहन गर्नुपर्छ : पूर्वमन्त्री शाह 

पूर्व विज्ञान, प्रविधिक तथा वातावरणमन्त्री गणेश शाहले कम्पोष्ट विनलाई स्थानीय तहले आवश्यक अनुदान दिएर भए पनि घरघरमा मल बनाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले कौशी बालीमा लाग्ने किरा निर्मुल गर्न तयार गरिने घरेलु किटनाशक औषधीको बारेमा जानकारी लिनु भएको थियो ।

अनलाइन प्रशिक्षणको सुरुवातमा गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले अहिलेको विषम परिस्थितिमा प्रायः व्यक्तिहरु कोरोना भाइरसको कारण भयभित भई एकोहोरो भैरहेको अवस्थामा यस्तो प्रशिक्षणले मानिसहरुमा उत्साह ल्याउने बताउनुभयो । उहाँले सहभागी सवैलाई कौसी खेती गर्न र आफ्नो भान्छाबाट निस्केको फोहोरबाट बनेको कम्पोष्ट मल प्रयोग गर्न पनि आह्वान गर्नुभयो ।

त्यसैगरी अर्का अतिथि बक्ता काठमाडौ महानगरपालिकाको वडा नं १७ का अध्यक्ष नविन मानन्धरले प्रविधिको सदुपयोग गर्दै घर घरमै भान्छाबाट निस्कने फोहोर व्यवस्थापन गर्न कम्पोष्ट मल बनाउने विधिको तालिम निक्कै महत्वपूर्ण भएको र आफू पनि यस माध्यमबाट नगरवासीसँग प्रत्यक्ष सम्पर्कमा आउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका प्रशिक्षक सानु मैयाँ महर्जनले कम्पोष्ट विनको प्रयोगबाट आफूले मात्र नभएर यसले सिङ्गो राष्ट्रलाई नै फोहोर व्यवस्थापन गर्न फाईदा हुने कुरा प्रशिक्षणको क्रममा प्रस्तुत गर्नुभयो । कम्पोष्ट मल बनाउँदा सवै भन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याएमा फोहोर व्यवस्थापन गर्न मद्दत पुग्ने जानकारी दिनुभयो । उहाँले घरमै भएको सामग्री जस्तै चामलको बोरा, पुराना बाल्टीन, मैदाको बोरा, पुराना ड्रम जस्ता सामग्रीहरुलाई सहजरुपमा कम्पोष्ट विन बनाउन प्रयोग गर्न सकिने जानकारी पनि दिनुभयो ।

घरबाट निस्कने फोहोरमा ७०% ओसिलोको मात्रा हुने भएकोले कम्पोष्ट मल बनाउँदा घाममा सुकाउने र पुरानो मल मिसाउने विधिको बारेमा सुझाव दिदै उहाँले ओसिलो मात्रालाई न्यूनिकरण गर्ने तरिकाबारे पनि जानकारी गराउनुभयो । प्रशिक्षार्थीहरुको विभिन्न जिज्ञासाको समाधान प्रशिक्षक महर्जनले अनलाईन मार्फत नै दिनुभएको थियो ।

यसअघि अनलाईन कौसी खेती सम्बन्धी तालिम आयोजना गरिसकेको गुथिले महानगरपालिकासँगको सहकार्यमा आगामी दिनमा इन्टरनेट प्रविधि मार्फत बाली चक्र, किटनासक विधि र आकाशेपानी व्यवस्थापन जस्ता विषयमा तालिमहरु सञ्चालन गरिने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार