कोभिड— १९ बाट बच्न सरकारले सम्पूर्ण शत्ति परिचालन गरेको छ । कुन बस्ती सुरक्षित/असुरक्षित भन्न सकिने अवस्था छैन। रोग लागिसकेका व्यत्तिलाई अरूबाट छुट्ट्याएर अस्पतालमा उपचार गर्ने, शंका लागेका व्यक्तिलाई आईसोलेसनमा राखेर र्यापिड टेष्ट गर्ने काम पनि तीब्र रुपमा भईरहेको छ ।
कोभिड—१९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थापन गर्ने र ढल निकास कसरी गर्ने सबालमा प्रस्ट नीति अपनाउन आवश्यक छ। बिरामीले प्रयोग गरेका वा तिनका सम्पर्कमा आएका व्यत्तिले उपचार र अन्य सेवाका क्रममा प्रयोग गरेका, उनीहरूले उत्सर्जन गरेका फोहोर र ती फोहोरसित मिसिएका अन्य फोहोरका साथै फोहोर संकलन, वर्गीकरण, ढुवानी, प्रशोधन, व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यत्ति मार्फत रोग फैलिन सक्ने भएकाले यसतर्फ ध्यान जान आवश्यक छ। द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनको एक रिपोर्ट अनुसार संक्रमितको संसर्गमा आएपछि तामाको सतहमा चार घण्टा, कागजको बोर्डमा २४ घण्टा, प्लास्टिक र स्टिलको हकमा ७२ घण्टासम्म भाइरस जिउँदै रहेको भेटियो। यसर्थ संसर्गमा आएका विभिन्न वस्तु नियमित सफा गर्नुपर्छ।
अहिलेको विशेष परिस्थितिमा घरायसी फोहोरलाई पनि अस्पतालबाट निस्किने फोहोर सरह खतरनाक सम्झी गुणका आधारमा विभिन्न समूहमा विभाजन गर्न सकिन्छ। जुठो मिसिएका कागत, थुक र सिगान पुछिएका कपास जस्ता फोहोरलाई विशेष झोलामा हाली मुख बन्द गरेर राख्न सकिन्छ। तयारी खाना किनिएका टिनका बट्टा, घिउ, महजस्ता खाद्य किन्दा आएका सिसीका बिर्काको भित्रपट्टि हावा नछिर्ने गरी लगाइएको सिलबारे (एल्मुनियमको) पातलो पत्र, सुई, दाह्री काट्ने पत्तीजस्ता धारिला वस्तुलाई विशेष बाकसमा राखिन्छ। यस्ता विशेष फोहोर संकलकले बुझ्ने गरी तोकिएको स्थानमा राखिदिने गर्नुपर्छ। अस्पतालका फोहोरलाई जस्तै इन्सिनेरेटरमा ११०० डिग्री सेल्सियसमा जलाउन सके अरू जीवाणु जस्तै कोभिड— १९ पनि नास हुन्छ। त्यस्तो सेवा नभएको स्थानमा सुरक्षित खाल्डामा पोलेर पनि यी फोहोर व्यवस्थापन गर्न सकिन्छ।
यस्ता फोहोरसितको लामो सम्पर्कबाट जनस्वास्थ्यमा पर्न सक्ने सम्भावित प्रदूषणबाट बच्न तत्काल सफाइ, ढुवानी र भष्म गर्ने नीति आवश्यक छ। फोहोर व्यवस्थापनमा खटिने कर्मचारी आफैं संक्रमणको ठूलो जोखिममा हुन्छन्। पेसागत जोखिमकै कुरा गर्दा, अन्य क्षेत्रको तुलनामा फोहोर व्यवस्थापनमा कार्यरत मजदुर बढी प्रभावित हुने गरेको पाइएको छ। अन्य पेसाको तुलनामा जैविक एरोसोल र हावामा उड्ने रसायनहरूले गर्ने श्वासप्रश्वास र छालासम्बन्धी रोगको बढी जोखिम त छँदैछ, यिनलाई कोभिड— १९ को जोखिम समेत बढी हुन्छ।
महामारीको समयमा, फोहोर व्यवस्थापनमा संलग्न सबै कर्मचारीलाई सुरक्षाका सबै उपायद्वारा सज्जित गर्नुपर्छ। उनीहरूलाई चिकित्सकसरह एन-९५ मास्क, डबल सर्जिकल पन्जा, जुत्ता कभर, चस्मा, आदि संरक्षणात्मक पोसाक (पीपीई) द्वारा सुरक्षित गर्नुपर्छ। फिल्डमा पठाउनुअघि पीपीईको सही प्रयोग गर्ने तरिका पनि सिकाउनुपर्छ।
फोहोर निर्मलीकररण क्षेत्र निर्धारण गरी त्यस्तो क्षेत्रमा असम्बन्धित व्यक्तिलाई प्रवेश गर्न दिन हुँदैन। फोहोर व्यवस्थापनमा संलग्न सबैको तापक्रम नियमित रूपमा नाप्ने गर्नुपर्छ। कर्मचारीको तापक्रम ३७.५ डिग्री सेल्सियस (९९.५ डिग्री फरेन्हाइट) भन्दा कम हुनुपर्छ, अन्यथा कोभिड— १९ संक्रमण भएको शंका गर्नुपर्छ। फोहोर ओसार्ने गाडीका पांग्रा र गाडीको सतहलाई नियमित रूपमा निर्मलीकरण गर्नुपर्छ, फोहोर हावाको सम्पर्कमा नआउने गरी छोपेर ओसार्ने गर्नुपर्छ।
विपद्का समयमा सरकारले आम नागरिकलाई विभिन्न राहत र तोकिएको उद्धारकार्यमा खट्ने जनशत्तिलाई विभिन्न आकर्षण सुविधा वा भत्ता व्यवस्था गर्छन्। यसो गर्नाले समाजमा अमनचयन कायम हुन्छ, राष्ट्रसेवकमा काम गर्ने जोस आउँछ। यसपालि पनि स्वास्थ्य मन्त्रालय र कतिपय निकायले आफ्ना मातहतका चिकित्सक, नर्स र महामारी व्यवस्थापनमा सहभागीलाई आकर्षण भत्ता दिने घोषणा गरेका छन्। उस्तै विषम स्थितिमा काम गर्दा जोखिमले पदीय सानो ठूलो, एउटै सेवाका फरक उपविधालाई छुट्ट्याएर नहेर्ने कुरालाई बिर्सिएर आकर्षणमा विभेद गरेको भए पनि यसलाई सकारात्मक कदम नै मान्न सकिन्छ।
राहत, भत्ताा र पुरस्कारको लहरमा राज्यले प्राथमिकतामा राख्नैपर्ने समूह फोहोरमैला व्यवस्थापनमा संलग्न जनशत्ति पनि हुन्। अहिले (वैशाख २२) सम्मको स्थिति हेर्दा टुंगो लागेका कोभिड— १९ का ३५ लाख ६६ हजार केसमध्ये ८२ प्रतिशत लाई निको भएको छ र १८ प्रतिशतको को मृत्यु भएको र बाँकी २१ लाख ६३ हजार केसमध्ये २ प्रतिशत अर्थात ५० हजार जनाको अवस्था चिन्ताजनक छ।
यसरी हेर्दा कोभिड— १९ को सबालमा ‘मृत्युभन्दा रोकथाम बेस’ को सट्टा ‘उपचारभन्दा रोकथाम जाति’ भन्नुपर्ने अवस्था छ। यस्तो गाम्भीर्यलाई ध्यानमा राखी व्यक्ति-व्यत्तिबीचको भौतिक दूरी कायम गर्न सरकारले देश नै लकडाउन गरेको वर्तमान अवस्थामा सरसफाइ कार्यमा संलग्न जनशक्तिलाई राज्यले जोखिम मोलेबापत आकर्षण भत्ताा दिनुको साथै काममा खटेको कारणले दीर्घरोगी बनेमा वा मरेमा आश्रित परिवारलाई अभिभावकको अभावमा आवश्यक पर्ने सन्ततिको स्याहारसुसार, रोजगारी, पढाइ आदिको व्यवस्थासमेत गर्नुपर्छ। यसरी उपलब्ध गराइने भत्ता र पुरस्कार विभेदकारी नभई सबै सरसफाइकर्मीमा उत्साह जगाउने खालको हुनुपर्छ।
—रेग्मी, त्रिविमा फार्मेसी विषयका प्राध्यापक हुनुहुन्छ ।