डाक्टर, नर्स जत्तिकै जोखिममा अस्पतालका सफाइ कर्मचारी

काठमाडौ : राष्ट्रिय ट्रमा सेन्टरकी सरसफाइ कर्मचारी हुन्, सुभद्रा न्यौपाने । भक्तपुर दधिकोटस्थित न्यौपाने गाउँकी उनी बिहान साढे ६ बजे घरबाट निस्किन्छिन् । साढे सात बजे नयाँ ठिमीस्थित अरनिको राजमार्गमा नपुगे अस्पतालको गाडी छुटिसक्छ ।

कोभिड–१९ को महामारीबीच फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीजत्तिकै जोखिममा काम गरिरहेका छन्, अस्पतालका सरसफाइ कर्मचारीले पनि । बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने गर्छन् उनीहरू । बिरामीको बेडसिटदेखि अस्पतालको भुइँ, शौचालय सबै सरसफाइको दायित्व उनीहरूकै हो ।

बिहान पाँच बजे नउठे घरको काम भ्याएर गाडी भेट्न पुगिँदैन । दिउँसोका लागि टिफिन पनि बोकेर उनी घरबाट नयाँ ठिमीतिर दौडिन्छिन् । दिनभर अस्पतालको सरसफाइमा जुटेर घर फर्किँदा साँझ झमक्क परिसकेको हुन्छ । फेरि नयाँ ठिमीबाट घरसम्म एक घन्टा पैदलयात्रा गर्छिन् । लकडाउन हुनुअघिसम्म उनी बसमा घरअगाडि नै उत्रिन्थिन् । अहिले भने सुनसान बाटोमा दैनिक दुई घन्टा एक्लै हिँड्नुको विकल्प छैन उनीसँग ।

ट्रमा सेन्टरकै सरसफाइ कर्मचारी तुलसा रोक्का भक्तपुरकै सिरुटारमा बस्छिन् । उनी पनि बिहान अस्पतालको गाडी भेट्न अरनिको राजमार्गमा निस्किन्छिन् । उनले पनि करिब डेढ घन्टा पैदलयात्रा गर्नुपर्छ बिहान । लकडाउन सुरु भएयता उनको ड्युटी दैनिक १२ घन्टा भएको छ । बिहान आठ बजे सुरु हुने ड्युटी राति आठ बजे मात्र सकिन्छ । राति भने उनलाई घरसम्मै छाडिदिन्छ, अस्पतालको गाडीले ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी सरसफाइ कर्मचारी हुन् शोभा माझी । काठमाडौं मनमैजु बस्ने उनले अस्पतालको गाडी भेट्न गोंगबु चोक पुग्नुपर्छ । बिहान त गोंगबुसम्म हिँडेर पुग्न त उनलाई समस्या हुँदैन । राति फर्किँदा भने बाटोमा असुरक्षित महसुस गर्छिन् । सुनसान सडकमा कुकुरको बिगबिगीबीच डराइडराइ घर पुग्छिन् उनी ।

कोभिड–१९ को महामारीबीच फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीजत्तिकै जोखिममा काम गरिरहेका छन्, अस्पतालका सरसफाइ कर्मचारीले पनि । बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने गर्छन् उनीहरू । बिरामीको बेडसिटदेखि अस्पतालको भुइँ, शौचालय सबै सरसफाइको दायित्व उनीहरूकै हो । जसरी पनि अस्पताल पुग्नैपर्ने बाध्यतामा छन्, सरसफाइ कर्मचारी । तर, अस्पतालले घरसम्मै लिन जाने र पुर्‍याइदिने व्यवस्था नगरिदिँदा उनीहरूमा शारीरिक थकान अत्यधिक छ ।

ट्रमा सेन्टरमा हाल ६५ जना सरसफाइ कर्मचारी छन् । जम्मा दुईवटा गाडीबाट सबैलाई घरसम्मै पुर्‍याउन नसकिएको निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । उनका अनुसार ती गाडी पनि लकडाउनभरिका लागि नर्सिङ क्याम्पससँग मागेर ल्याइएको हो । उनीहरू ठेकेदार कम्पनीमार्फत अस्पतालमा कार्यरत रहेकाले खासमा अस्पतालसम्म ल्याउने तथा पुर्‍याउने दायित्व सोही कम्पनीको हुनुपर्ने डा। पौडेलको भनाइ छ । ‘तर, हामीले संस्थामा कार्यरत भएकाले पायक पर्ने ठाउँसम्म लिन जाने र पुर्‍याउने गरिरहेकै छौँ,’ उनी भन्छन् ।

यही बीचमा उनीहरूलाई परिवारले जागिर छाड्न सुझाब पनि नदिएका होइनन् । ‘तर, हातमा यही सीप छ, काम छाडिहाल्ने आँट पनि छैन,’ रोक्का भन्छिन् । भक्तपुर नयाँठिमी बस्दै आएकी राष्ट्रिय ट्रमा सेन्टरकी कर्मचारी विनिता अधिकारी (नाम परिवर्तन) लाई भने अस्पतालबाट घर फर्किन मन लाग्दैन । घरबेटीले कोठा नआउन र आउने भए अन्यत्र सार्न दबाब दिन थालेका छन् । ‘काममा नआउँदा आर्थिक अभाव हुन्छ, काममा आयो घरबेटी र छिमेकीको अपहेलना सहनुपर्छ,’ उनी भन्छिन् ।

थोरै डर, धेरै सतर्कता

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी कर्मचारी रीता रोक्काको ड्युटी आइसोलेसन वार्डमा पर्छ । साँझ–बिहान उनी वार्ड सरसफाइ गर्छिन् । आइसोलेसन वार्डमा ड्युटी परेको समयमा उनी अस्पतालमै बस्छिन् । कोभिड–१९ का बिरामीले परिवारबाट टाढा बस्नुपर्छ । यतिवेला उनीहरूको हेरचाहको दायित्व अस्पताल कर्मचारीमै छ । कोरोना संक्रमणको जोखिम बढेयता उनलाई अस्पतालको माहोल भिन्न लागेको छ ।

सोही अस्पतालकी कर्मचारी ठूलीमाया रुम्बाको ड्युटी पनि आइसोलेसन वार्डमा पर्छ । अस्पतालमै बस्दै आएकी उनलाई परिवारले साथ दिएकाले मनोबल उच्च छ । अस्पतालमा सावधानी अपनाउँदा कोरोना भाइरसको संक्रमण नसर्ने उनले बुझेकी छिन् । उनले हरेक वार्डको सरसफाइ १५ मिनटमा सकेर निस्किने उपाय निकालेकी छिन् । भन्छिन्, ‘त्यति समयमा राम्रोसँग सफाइ पनि हुन्छ र जोखिम कम हुन्छ ।’ नयाँ पत्रिकाबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार