लकडाउनले कौसी खेती प्रबर्द्वनमा सहयोग, किर्तीपुर नगरपालिकाद्वारा बीउ र मलमा ५०% सहुलियत

काठमाडौ : लकडाउनका कारण देशको आर्थिक गतिविधि ठप्प छ । सबैजसो मानिस फुर्सदिला छन् । यही मौकामा सहरी क्षेत्रमा कौसीमा तरकारी खेती फलाउन थालेका छन् । खाली समयको सही सदुपयोग र भान्छाको आवश्यकता समेत पूर्ति हुने भएकाले सहरी बासिन्दा यसतर्फ आकर्षित भएका हुन् ।

देशको कृषि तथा वातावरणलाई बढावा दिन कोशी खेती राम्रो माध्यम भएकाले सरकारी तथा गैरसरकारी संस्थाले समेत कौसी खेतीलाई महत्व दिई यस सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । ललितपुर महानगरपालिकाले कौसी खेती गर्न चाहनेलाई मल, बीउ वितरण तथा गैरसरकारी संस्था गुथिले गरिरहेको नियमित तालिम कौसी खेती प्रबर्द्वनका लागि गरिएको राम्रो प्रयास मान्न सकिन्छ ।

लकडाउनको समयमा अनलाइन प्रविधि मार्फत गुथिले कौसी खेती र घरायसी कम्पोष्टिङको तालिम दिँदै आइरहेको छ । गुथिले हालै कौसी खेती र कम्पोष्टिङ सम्बन्धी जिज्ञासाकोअनलाईन अन्तर्क्रियाको माध्यमबाट विशेषज्ञ मार्फत समाधानको कोसिस गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।

किर्तीपुर नगरपालिकाद्वारा बीउ र मलमा ५०% सहुलियत

सरकारले समेत कौसी खेतीको महत्वलाई आत्मासाथ गर्दै यसलाई प्रोत्साहन गर्ने नीति लिएको छ । ललितपुर महानगरपालिकाले वडा मार्फत निःशुल्क बीउ तथा गडयौला मल वितरण गर्न थालिसकेको छ भने किर्तीपुर नगरपालिकाले पनि ५०% सहुलियत दरमा बीउ र मल बेच्ने प्रावधान ल्याएको छ ।

यस्ता कार्यक्रमले घरको जैविक फोहोर व्यवस्थापन गर्न मद्दतले मिल्ने र अर्कोतर्फ फोहोरको सदुपयोग गरी घरमै तरकारी उत्पादन गर्न प्रोत्साहित गर्ने काठमाडौं महानगरपालिकाका शहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो घरको क्षमतालाई मध्यनजर गरी घरलाई भार नपर्ने गरी कौसी खेती गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले काठमाडौं उपत्यकामा कौसी खेतीका लागि घर घरको सर्वेक्षण गर्नुपर्ने बताउनुभयो । जसबाट उपत्यकामा रहेको कति घरहरुमा कौसी खेती भईरहेका छन् र कति घरहरु कौसी खेती गर्न इच्छुक छन् भन्ने डाटा निस्कने बताउनुभयो ।
कार्यक्रममा आएका जिज्ञासाहरुलाई समेटेर कौसी खेती बारे पुस्तिका निकाल्नु पर्ने उहाँको सुझाव छ । उहाँले कृषि र कौसी खेतीका क्षेत्रमा अझै अनुसन्धान र प्रविधि विकास गर्न जरुरी रहेको र महानगरपालिकाले कौसि खैतीलाई प्रोत्साहन दिन नीति तथा कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमकी प्रशिक्षक तथा काठमाडौ महानगरपालिका वातावरण विभागकी अधिकृत सानुमैयाँ महर्जनले काठमाडौं महानगरपालिकाले धेरै समय देखि कौसी खेती तालिम सञ्चालन गर्दै आएको र प्रशिक्षार्थीहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्दै धेरै घरहरुमा कौसी खेतिको सुरुवात गराएको जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागीहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा जिज्ञासा राखेका थिए । कौशी खेती विज्ञ शेष नारायण महर्जनले सहभागीको जवाफ दिनुभएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं. ९ की सदस्य शोभा देवी मानन्धर र वडा नं. १५ की सदस्य मैयाँ लक्ष्मी महर्जनले आफ्नो वडामा पनि कौसी खेती र कप्पोष्टिङ सम्बन्धि तालिम दिइएको बताउनुभयो । कार्यक्रममा प्रारम्भ वायोटेक कम्पनीका मनिष प्रतापले आफ्नो कम्पनीबाट कम्पोष्टिङ र कौसी खेतीका लागि स्मार्ट बकेट (कम्पोष्टङका लागि) र स्मार्ट ग्रो व्याग (कौसिमा विरुवा रोप्नका लागि) प्राविधिको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सरकारले कौसी खेतीका लागि ल्याएको नीतिको को प्रशंसा गर्दै नीति कागजमा मात्र सिमित नभई व्यवहारिक हुनुपर्ने धारणा राख्नुभयो । कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्नु र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गर्न प्रोत्साहित गर्नु जरुरी रहेको उहाँको भनाइ छ । ‘सहरी कौशी खेतीले हरीयालीलाई बढाउन र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ तसर्थ अहिले सरकारले ल्याएको नीतिलाई कार्यान्वयन गर्न घरघरमा कम्पोष्ट विन र बीउको व्यवस्था गरी सहरी खेतीलाई प्रोत्साहन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार