बाँके : लकडाउन लम्बिएपछि रूपन्देहीको बेलहिया नाकामा दुवै मुलुकका नागरिकको भीड लागेको छ । मुलुक भित्रिने र बाहिरिने दिनहुँ थपिइरहेका छन् । अधिकांश मजदुर परिवारसहित अलपत्र परेका छन् ।
१५ वर्षदेखि पश्चिम नवपरासीको एक इँटा उद्योगमा मजदुरी गरेर परिवार पालिरहेका भारतको गोरखपुरका धर्मदेव यादव चार दिनदेखि आठ वर्षीय छोरा र श्रीमतीसँगै अलपत्र छन् । ‘गोरखपुर जाने साधन पाइएन,’ उनले भने, ‘नजिककालाई पछि पठाउने भन्दै रोकिराखेका छन् ।’ लकडाउन लम्बिएको र वर्षा लागेपछि उनी फर्किन लागेका हुन् । सोमबार पानी परेका बेला उनीहरू सडकमै रुझे । ‘यहाँका मान्छेले घरको पेटीमा ओत लाग्न दिएनन्,’ उनले भने, ‘सडकमै भिजिरह्यौं ।’ कोरोनाभन्दा सडकमै बास बस्दा अन्य रोग लाग्ने चिन्ता बढेको उनले बताए । भारतबाट आएका नेपालीलाई गाडीवालाले टोली बनाउँदै लगिरहेको देख्छन् । भारत सरकारले थेगिनसक्नु भीड भएपनि उद्धार नगरेको उनले गुनासो गरे । ‘घाम, पानी, हावाहुरीको सिजन छ,’ उनले भने, ‘सडकमै शौच गर्न बाध्य छौं ।’ घर जान पाइने आशमा दिनभरि लाइनमा बस्ने गरेको उनले बताए ।
भारतीय बरेली बजारका मोहम्मद रेहान परासीबाट यहाँ आएको पाँच दिन भयो । मंगलबार घर जाने सूचीमा नाम देखेपछि खुसी थिए । भीड छिचोल्न नसकेपछि उनी फर्किन पाएनन् । मंगलबार सीमादेखि भैरहवाको डण्डापुलसम्म मुलुक बाहिरिने मजदुरको ताँती थियो । ‘नेपालीले भात, खाजा दिइरहेका छन्,’ उनले भने, ‘त्यो पनि कहिले पाइन्छ, कहिले भोकै बस्छौं ।’ भीड भएकाले खानाको पालो नआउने उनले सुनाए । ‘घर नपुग्दै सडकमै मरिने चिन्ता छ,’ उनले भने, ‘कोरोनाले भन्दा भोकले धेरै मर्छन् ।’
सीमावारि भारत फर्किनेको बिजोग छ । पारि स्वदेश आउने तडपिरहेका देखिन्छन् । चेन्नईस्थित एक होटलमा काम गर्न सात महिनाअघि त्यहाँ गएका बाग्लुङको जैमुनी नगरपालिकाका राजेन्द्र नेपाली बेलहियापारि हत्केलाले चिउँडो थामेर बसेका थिए । ‘चार महिनादेखि काम थिएन, कोठामै बसिराख्दा समस्या भएपछि आइयो,’ उनले भने, ‘भएको पैसाले गाडी रिजर्भ गरेर आइयो, अब घर जाने भाडा छैन ।’ पर्वत र बाग्लुङका बासिन्दालाई सँगै लैजाने भनेर स्थानीय तहले खबर गरेकाले उनीसित पर्खिनुको विकल्प छैन । उनले एउटै नगरपालिकाका पाँच जना रहेको बताए । त्यसबाहेक पर्वत र गुल्मीका बासिन्दा अलपत्र परेको उनले बताए ।
पर्वतको बियादी–१, बाच्छाका लालबहादुर खत्री कहिले घर पुगिएला भन्ने चिन्तामा छन् । उनी कार्यरत उद्योग तीन महिनादेखि बन्द छ । ‘काम रोकिएको थियो,’ उनले भने, ‘किनेर खान डर लागेकाले भोकै छु ।’ उद्धारको पर्खाइमा रहेका उनले गाडी कहिले मिल्ने हो, ठेगान नरहेको बताए ।
सरकारले स्वदेश आउने र फर्किनेका लागि नाका खुला गरेपछि सीमामा भीड बढेको हो । दैनिक स्वदेश आउनेको नाकापारि भीड लाग्ने गरेको इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । ‘स्वदेश आउनलाई पहिलेजस्तो समस्या छैन,’ उनले भने, ‘स्थानीय तहले गाडी पठाएर लैजान्छन् ।’ रातदिन सडकमै बिताउनु पर्दा भारतीयको अवस्था दयनीय रहेको उनले बताए । नाकामा भीड लागेका कारण स्थानीय त्रसित बनेको स्थानीय रामबहादुर बस्नेतले बताए । ‘सडकमै खाने, फोहर फ्याँक्ने, शौच गर्दा दुर्गन्ध बढेको छ,’ उनले भने, ‘नजिकका विद्यालयमा राखेर पालैपालो लैजाने र पठाउने व्यवस्था गरिनु पथ्र्यो ।’
स्थानीयले अलपत्रको उद्धारमा सघाउँदै आएका छन् । स्थानीय धर्मराज गिरीले अहिले नाकामा गुल्मी, अर्घाखाँची, बाग्लुङ र पाल्पाका धेरै रहेको बताए । ‘उनीहरू आएपछि सम्बन्धित स्थानीय तहमा फोन गरेर गाडीको व्यवस्थापन गर्न मद्धत गछौं,’ उनले भने, ‘पहिलाको तुलनामा अहिले नेपाली घटेका छन् ।’ उनका अनुसार सरदर दैनिक ३ सय जना आउने गरेका छन् ।
सरकारले चासो नदिँदा पीडित
दुई महिनाकी सुत्केरी पत्नी, तीन वर्षकी छोरी लिएर सल्यानको कुमाक नगरपालिका–३ का ज्ञानु थापा भारतको गुजरातबाट रुपैडिया बसपार्क आउँदा मंगलबार बिहान ३ बजेको थियो । दुई महिनाको शिशु, सुत्केरी पत्नी र छोरीलाई चिसो भुइँमा सुताएर उनी गाडी खोज्न थाले । उनीसँगै पाँच जना थिए । गाउँमा जनप्रतिनिधिलाई फोन गरेर गाडी पठाइदिन अनुरोध गरे । ‘थोरै जनालाई गाडी आउँदैन भने,’ मंगलबार दिउँसो उनले भने, ‘त्यसपछि निजी गाडी खोज्न बाध्य भयौं ।’ बसपार्कमा बेवारिसेजस्तै सुते । उज्यालो भएपछि रिजर्भमा आएको गाडी देखे । दोब्बर भाडा तिरेर सर्वसाधारण लिन आएको त्यही गाडीमा चढे । यहाँबाट सल्यानको भाडा ५ सय ८३ रुपैयाँ हो । उनीहरूले १ हजार २ सय रुपैयाँ तिरेर गए । ‘बाध्यताले तिर्नै पर्यो,’ उनले भने, ‘यहाँ अलपत्र पर्नुभन्दा जसरी पनि घर जानु बेस हुन्छ ।’
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ बस्ने डिल्लीबहादुर विक १३ जनाको टोलीसँगै थिए । उनीहरू हिमाचल प्रदेशबाट सोमबार राति आइपुगेका हुन् । रुपैडिहाबाट राति हिँडेर आउन लागेका उनीहरूलाई भारतीय पुलिसले रोक्यो । उनीहरूले नाकासम्म स्थानीय सरकार लिन आउँछन् भन्ने सुनेका थिए । त्यही आशमा बिहानै आफ्नो नगरपालिकाका प्रमुख र वडाध्यक्षलाई फोन गरेर गाडी पठाउन अनुरोध गरे । ‘गाडी आएन,’ उनले भने, ‘भाडा पनि छैन, घरै गएर भाडा दिने भन्दै रिजर्भ गाडीमा चढ्यौं ।’
भारतदेखि कोरोनाको डरले स्वदेश फर्किएका सर्वसाधारण अहिले दोहोरो मारमा छन् । एकातिर रोगको डर छ भने अर्कोतर्फ आर्थिक अभाव भएका बेला दोब्बर–तेब्बर भाडा तिर्नु परिरहेको छ । ‘चार दिनसम्म भोकभोकै नाकासम्म आयौं,’ उनले भने, ‘कमाएको दुई चार पैसा सकियो, कमसेकम भाडा तिर्न नपरे हुन्थ्यो ।’ इलाका प्रहरी जमुनाहका प्रमुख सई माधव रिजालले सरकारले तोकेको भन्दा एक रुपैयाँ पनि बढी भाडा असुलेमा कारबाही हुने बताए । तीन जना चालकलाई बढी भाडा असुलेको भेटिएपछि कारबाही गरिएको उनले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भारतबाट आउने सर्वसाधारणलाई स्थानीय सरकारले चासो नदिएर उद्धार नगर्दा सास्ती खेप्नु परेको बताए ।
उनका अनुसार बाध्य भएर दोब्बर भाडा तिर्नु परिरहेको छ । तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गरिने उनले सुनाए । ‘लकडाउनका बेला आम्दानी नभएका जनतालाई सरकारले उद्धार गर्नु पर्ने हो,’ उनले भने, ‘दोब्बर भाडा लिनु हुँदैन ।’ मंगलबार जमुनाह नाका हुँदै सल्यान, रुकुम, दैलेख, सुर्खेतलगायत विभिन्न जिल्लाका ८ सय ७९ जना नेपाली आएका थिए । उनीहरू गाडी रिजर्भ गरेर गन्तव्यमा गएका हुन् । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।