एक स्टाफ नर्सको लोभलाग्दो कौसी खेती कर्म

 2411 पटक हेरिएको

पोखरा : पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ। तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय स्टाफ नर्स भन्दा सफल कौसी खेती किसानबाट अझ बढी चिनिन थाल्नु भएको छ । १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थाल्नुभएकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बन्नु भएको छ । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उहाँ भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उहाँको सफलताले चर्चा पाउन थालेको हो ।

फेसन जस्तो गरेर कौसी खेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दा मात्र सस्तो पर्न जान्छ’, उहाँले भन्नुभयो ।

बिहान जुरुक्क उठ्दा उहाँको घर अगाडिबाट कयौं मानिस बिहानको हिंडाईमा देखिन्छन् । तर उहाँको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उहाँ सामान्य व्यायामपछि तरकारीको हेरचाहमा खटिनुहुन्छ ।

मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौंला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उहाँको बिहानको एक÷ डेढ घण्टा वितिहाल्छ । थापा भन्नुहुन्छ, ‘पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ ।’ ‘जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ’, आफ्नो अनुभव सुनाउनुभयो ।

बौद्धिक कृषक परिवारमा हुर्के बढेको प्रभावले कृषि कर्ममा जोडिएकी थापा बताउनुहुन्छ ‘म बौद्धिक कृषक परिवारमा जन्में, मलाई माटोसँग खेल्न सानैदेखि मन पथ्र्यो, सहर बजारमा पर्याप्त जग्गा नभएपछि कौसीमा तरकारी लगाउन थालें, घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन पनि भयो भने ताजा तरकारी खान पनि पाइयो ।’

थापासँग कौसीमा कुनै एक याममा २०० केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको उहाँले बताउनुभयो । थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ ।

‘अहिले त सहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ, तर फेसन जस्तो गरेर कौसी खेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दा मात्र सस्तो पर्न जान्छ’, उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उहाँले सुनाउनुभयो । पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । उहाँ वडा नं ८ को संयोजक हुनुहुन्छ । थापाले यस वडाका करीब ६ सय जनालाई तालिम पनि दिइसक्नुभएको छ ।

यतिखेर वडा नं. ८ का अधिकांश घरका छतमा तरकारी लहलह फलेको देख्न सकिन्छ । थापाको तालिम र परामर्श यो हरियालीको मुख्य कारक हो भन्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार