पोखरा : पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झन्छिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनी बताउँछिन् ।
बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुन लगायतका थाँक्रामा झुलिरहेका घिरौंला, सिमी देख्दा परिश्रम अझै गर्न मनलाग्छ र मेहनेतले नै खुशी दिने रहेछ भन्ने पनि लाग्छ उनी भन्छिन् ।
गौचन भन्छिन्, ‘बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा विताएँ, धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, गरेपछि त सबै हुने रहेछ ।’ पोखराको महेन्द्रपुलमा नोभा इन्टरनेशनल इन्ष्टिच्यूटको डाइरेक्टर गौचन आजीवन सहकारी संस्थाले आयोजना गरेको तालिमबाट प्रेरित भएर कौसी खेतीमा जुटेको बताउँछिन् ।‘अहिले घरकै पुराना बाल्टि, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु’, गौचनले भनिन् ।
गौचनको कौसीमा लसुन, प्याज, धनिंया, विभिन्न थरिका साग, घिरौंला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काइरहेकी छन् । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाएकी छन् भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेल समेत निर्माण गरेकी छन् ।
पोखरा चिप्लेढुंगामा गुन्यूचोली बुटिक सञ्चालन गर्दै आएकी सुषमा थापा पाण्डेले पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै आएकी छन् ।कृषिकर्मसँग रमाउन मन पराउने उनी शहरबजारमा पर्याप्त जग्गाको अभाव भएपनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको बताउँछिन् ।
पोखरा– ७ मुस्ताङ्चोकस्थित उनको घरमा अहिले लौका, घिरौंला, बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन । समयको व्यवस्थापनका विषयमा पाण्डे भन्छिन्, ‘कौसीमा विहान आधादेखी एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको अग्र्यानिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।’
उनले २५ ओटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आएकी छन् । भैंसी, कुखुराको मल र पीनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गरिएको छ । सामाजिक सञ्जालमा कौसी खेती ग्रूपमा जोडिएर तरकारीमा देखिने समस्याको बारेमा पनि छलफलमा जुट्छिन् ।
कुन मौसममा के लगाउने, कसरी लगाउने, मर्न थाले कसरी जोगाउने भन्ने बारे कौसी खेती कृषकहरुले आ–आफ्ना अनुभव र विज्ञता साट्ने गर्छन् । यसले कौसी खेतीप्रति लगाव झन् बढ्दै गएको उनको अनुभव छ ।
कौसी खेतीको बारेमा टोलबासीलाई तालिम दिंदै आएका सेवानिवृत्त क्षेत्रीय कृषि तालिमका प्रमुख बेदकुमार श्रेष्ठ अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्व बढ्दै गएको बताउँछन् । ‘सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अग्र्यानिक तरकारी फलाउन सकिन्छ, यसले घरको शोभा पनि बढाउँछ’,कौसी खेतीका लागि मौसम अनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उनको भनाइ छ ।
पोखरामा अत्यधिक पानी, असिना पर्ने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने श्रेष्ठले बताए । पछिल्लो समय शहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ ।
फोटो : भगवती राजभण्डारीको फेसबुकबाट ।