भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाहिर दिसा गरेमा ५० रुपैयाँ जरिवाना तिराईन्छ ।
मदिरा सेवन गरी होहल्ला गरेमा झनै कडा नियम जारी गरिएको छ । त्यस्तो व्यक्तिले ५०० रुपैयाँ तिर्नुपर्ने र त्यस्तो क्रियाकलाप बारे सूचना दिने व्यक्तिलाई जरिवानाको आधा रकम प्रोत्साहनको रुपमा उपलब्ध गराईने उल्लेख छ ।
समुदायलाई सरसफाइमा नमुना बनाउने उद्देश्यले समुदाय आफैले यस्तो नियम बनाएको हो । २०७६ साल मंसिर ६ गते शुक्रबारको आम भेलाले अनुमोदन गरेपछि नियम लागु भएको नगरकोट फेदी नमुना समुदायकी संयोजक रुपा लामिछानेले बताउनुभयो ।
सरसफाइ सम्बन्धी नियम जारी गरेपछि बस्तीलाई सफा र स्वच्छ राख्न मद्दत मिलेको उहाँले बताउनुभयो । ‘बस्तीमा प्रवेश गर्ने बिन्दुमा सबैले देख्ने गरी नीति नियम टाँसेका छौं, नियम हेरेपछि सबै जना सजग हुन्छन्’ लामिछानेले भन्नुभयो ‘यो नियमले बस्तीमा जथाभावी फोहोर फाल्ने बानी हटेको छ ।’
बस्तीमा जथाभावी प्लाष्टिकको टुक्रा फ्याँक्न नपाईने नियम मात्र बनाएको छैन । प्लाष्टिकको टुक्रा विसर्जन गर्न सडकको ठाउँ ठाउँमा टोकरी, बोरा वा डोकोको व्यवस्था गरिएको छ ।
बस्तीको बीचैमा सामुदायिक विद्यालय भएपनि वरिपरि कागजका टुक्रा र प्लाष्टिक फ्याँक्ने क्रम रोकिएको छ । स्कुलमा अध्ययनरत आफ्ना विद्यार्थीलाई फोहोरमैला व्यवस्थापनका बिषयमा सचेतना अभिवृद्धि गराईरहेको र बाहिर फोहोरमैला गर्न नदिएको श्री नगरकोट आधारभूत विद्यालयका सरसफाइ सहजकर्ता शिक्षक जनक खत्रीले बताउनुभयो ।
‘फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने शिक्षा हामीले विद्यार्थीलाई बारम्बार दिने गरेका छौं, विद्यार्थी आफैले बानी व्यहोरा परिवर्तन गर्ने नभई उनीहरु सरसफाइ शिक्षाका संवाहक पनि हुन् उनीहरुले घर परिवारको सदस्यको आनीबानीमा समेत रुपान्तरण गर्न सक्छन्’ शिक्षक खत्रीले भन्नुभयो । नमुना बस्तीमा ६२ घर समेटिएका छन् ।
चाँगुनारायण नगरपालिकाले २०७८ पुस मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन ‘पूर्ण सरसफाइ रणनीतिक योजना – २०७५’ जारी गरी कार्यान्वयन गरिरहेको छ । नगरपालिकाले तोकिएको समयभित्रै पूर्ण सरसफाइ उन्मुख नगर बनाउने लक्ष्य हासिल गर्न ग्लोबल स्यानिटेसन फण्डरयुएन ह्याबिटाट सँगको साझेदारीमा पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।
नमुना समुदायले पालना गर्नुपर्ने आचारसंहिता
सरसफाइमा नमुना बस्तीको रुपमा विकास गर्न समुदायले बनाएको आचारसंहिता यस्तो छ ।
प्रत्येक घरपरिवारले चर्पीको नियमित प्रयोगका साथै चर्पी भित्र हार्पिक, ब्रस, चप्पल र पानी अनिवार्य राख्नेछौं ।
प्रत्येक घरधुरीले व्यक्तिगत सरसफाइमा नियमित ध्यान दिने ।
जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुन साबुन पानी अनिवार्य राख्नेछौं ।
महिनावारी स्वच्छता सम्बन्धी ज्ञान र व्यवहार अबलम्बन गर्नेछौं ।
सुरक्षित पानी प्रयोग गर्ने र घरायसी तहमा पानी शुद्धिकरण गरी पिउनेछौं ।
सबै घरधुरीमा सुरक्षित खानाको प्रयोग गर्नेछौं ।
फोहोरलाई कुहिने र नकुहिनेमा बर्गीकरण गर्नेछौं ।
ठोस तथा तरल फोहोर उचित व्यवस्था गर्नेछौं ।
सुधारिएको चुलो अनिवार्य प्रयोग गर्नेछौं ।
भाँडा माझ्ने स्लाब र भाँडा सुकाउने चाङ बनाउनेछौं ।
करेसाबारीको निर्माण, व्यवस्थापन र उपयोग गर्नेछौं ।
जैविक खेती, अर्गानिकलाई प्रबद्र्धन गर्नेछौं ।
घरभित्र र बाहिरको वातावरण सधैं सफा राख्नेछौं र उक्त ठाउँबाट निस्केको फोहोरमैलालाई बर्गीकरण सहित व्यवस्थापन गर्नेछौं ।
सफा, स्वच्छ, वातावरण सहितको समुदाय बनाउनेछौं ।
नमुना समूहले मासिक बचत गरी सरसफाइ प्रबद्र्धन कार्य गर्नेछौं ।
सरसफाइका साथै कृषि, पशुपालन, पर्यटन, संस्कृति प्रद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य रहनेछ ।
यस नमुना फेदी समुदायमा फोहोरमैला गर्नेलाई र आचार संहिता पालना नगर्नेलाई देहाय बमोजिमको सजायको व्यवस्था गर्नेछौं ।
प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ, बाहिर दिसा गरेमा ५० रुपैयाँ, मदिरा सेवन गरी होहल्ला गरेमा ५०० रुपैयाँ