बझाङ : बझाङका स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण काममा खुलेर आउँदैनन् ।
पछिल्लो समयमा सरकारी र अन्य गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि हुने गरेको छ ।
बिहानै सबेरै उठेर चुलोचौको सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जानु बुङगल नगरपालिका–१ सतिवनकी कौफली बोहराको दैनिकी हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँमा खानेपानी निर्माण गर्न लागेपछि यहाँका महिलाको दैनिकी फेरिएको हो । उनी भन्छिन्, “हामीले खानेपानीका पाइप बोक्ने, पाइप बिछ्याउने, खोदान गर्ने, पानी ट्यांकी बनाउने काम गरेका छौँ । सबै काम पुरुषको भन्दा छिटो गरेका छौँ ।” विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको कौफलीको भनाइ छ ।
जनश्रमदान सहित गाउँमा एक करोड १० लाखको लागतमा सतिवन र कचाली गरी दुई गाउँका १ सय २ घरधुरीलाई लक्षित गर्दै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले निजीधारा तथा सरसफाइ आयोजना निर्माण गर्र्दैछ । सो योजनामा काम गर्ने ९० प्रतिशत महिला नै छन् । पाइपहरू जोड्ने र रिजर्भ ट्याकी बनाउने तथा पलास्टरको काम मात्र पुरुषले गरेका छन् ।
गाउँका अधिकांश पुरुष मजदुरी गरेवापत पाएको पैसाले मदिरा सेवनमा खर्च गर्ने भएकाले यहाँका महिला विकास निर्माणको काममा अग्रसर हुन थालेको बुङगल नगरपालिका–१ सतिवनकी चनमती बोहराले बताइन् । विकास निर्माणका काम गरेवापत हुने आम्दानीले घर खर्चका साथै केही रकम बचत गर्न सकेको चनमतीको भनाई छ । गाँउबाट सात किलोमिटर टाढाको मुहानसम्म पाइप बोक्ने र पाइप बिछ्याउने काम महिलाले गर्नु चानचुने कुरा होइन । उनी भन्छिन् गाउँमा हुने विकास निर्माणका काममा सहभागी हुन पाएकोमा महिलाहरू खुसी भएका छन् । कतिपय महिलाले आफूले पाएको ज्यालाबाट बाख्रा किनेर बाख्रा पालनमा समेत लाग्ने सोच बनाएका छन् ।
अर्की स्थानीय मनिषा बोहराले हालसम्म आफूले पाएको ज्यालाबाट ५ वटा बाख्रा किनिसकेकी छिन् । कामसँगसँगै दाम पनि मिल्न थालेपछि आफूहरू विकास निर्माणका काममा हौसिएको उनी बताउँछिन् ।
महिलाहरूले गरेको काम पुरुषको तुलनामा दुई गुणा बढी भएको योजना प्राविधिक रमेश बोहराले बताए । उनले भने पुरुषहरू कामको बेलामा पनि गफ गरेर बस्ने गर्दा काममा ढिलासुस्ती हुने गरेको थियो । तर महिलाको ध्यान एकोहोरो काममा भएका कारण छिटो हुने गरेको छ । सात किमि टाढाबाट खोेदान गरेर पाइप बिछ्याउनु चानचुने कुरा थिएन । निर्धारित समयमा काम सम्पन्न हुँदैन कि भन्ने थियो, तर महिला सहभागिताले योजनाको काम तीव्र गतिमा भएको छ । हामीले २०७८ सालको जेठमा सक्ने गरी काम अघि बढाएका हौं । हालसम्म योजनाको करिब ६० प्रतिशत काम सकाएका छौँ । यो सबै महिलाको देन हो ।
ग्रामीण जलस्रोत व्यवस्था पन परियोजनाको आर्थिक र सामाजिक विकास तथा प्राविधिक विकास सेवा समूहको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त योजना निर्धारित समयभन्दा ५ महिना अगाडि नै सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव दलबहादुर बोहराले बताए । उनले भने महिलाहको काम प्रतिको लगावका कारण योजनाको निर्माणकार्यमा ठूलो टेवा पुगेको छ । यसमा सबै काम गर्ने महिला नै हुनभन्दा फरक नपर्ला । हामी पुरुष ८ जना जति छौँ । दक्ष कामदारको रूपमा काम गर्ने मात्र पुरुष हुन् अरु सबै महिला छन् । यो खबर कारोबार दैनिकबाट साभार गरिएको हो ।