रासयनिक फोहोरको सुरक्षित बिसर्जन नगरे बाँझोपन तथा क्यान्सर समेत हुन सक्ने

काठमाडौ : प्रायः जसो ठूला वा साना सबै स्वास्थ्य केन्द्रहरूले रासयनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रासयनिक फोहर उत्सर्जन हुन्छ । यी रासयनिक फोहरको सुरक्षित तरिकाले विसर्जन नगरेमा मानिसमा बाँझोपन तथा क्यान्सर समेत हुने र अन्त्यमा व्यक्तिको मृत्यु हुने विभिन्न अध्ययनले देखाएको छ ।

मर्करीलाई जलाए खतरनाक ग्याँस बन्छ

मर्करी सेतो चाँदीजस्तो थर्मोमिटरभित्र भएको तरल पदार्थ हो । यो अन्य स्वास्थ्य उपकरणहरूमा पनि पाइन्छ । जस्तै पुरानो रक्त चाम नाप्ने यन्त्रको कफमा, व्याट्रीहरू र ट्यूवलाइट चिमहरू लगायत र सी.एफ.एल. मा पनि मर्करी पाइन्छ । मर्करी एउटा निकै खतरनाक गहु्रङ्गो धातु हो । थोरै मात्रामा पनि छालाद्वारा मर्करी सोसिनु वा श्वास प्रश्वासबाट हाम्रो शरीरमा प्रवेश गरेपछि यसले स्नायु प्रणाली, मृगौला, फोक्सो, कलेजो, मस्तिष्क र प्रजनन् प्रणालीमा असर पुर्‍याउँछ । मर्करीलाई जलाएर नष्ट गर्न सकिंदैन । मर्करीलाई जलाएको खण्डमा बरु यो अर्को अत्यधिक खतरनाक ग्याँसको रूपमा परिवर्तन हुन्छ ।

मर्करीबाट बाँच्ने वा यसको हानि कम गर्नका लागि सबै भन्दा राम्रो उपाय चाहिं मर्करीयुक्त सामग्रीहरूको उपयोग सम्भव भएसम्म घटाउँदै लानु पर्दछ । सम्भव भएसम्म मर्करीयुक्त सामग्रीहरू धातुको भाँडोमा राख्नुहोस् जसले गर्दा यो फुटेको खण्डमा यो भुईमा वा काठको सतहमा सोस्न नपाओस् । मर्करीमुक्त डिजिटल थर्मामिटर यदि तपाईको ठाउँमा उपलब्ध छ भने यसको प्रयोग गर्नुहोस् ।

पुरानो औषधिहरू पनि रसायनिक फोहर

पुरानो औषधिहरू एउटा अर्को किसिमको रासयनिक फोहर हो जसको सुरक्षित व्यवस्थापन आवश्यक छ । यी एन्टिबायेटिक्स एवं अन्य औषधिहरूबाट मुक्ति पाउनको अर्थ यसलाई पानीको स्रोतहरू एवं जसले यसलाई प्रयोग एवं व्यवस्थापन गर्दछ, उनीहरूबाट टाढा राख्नु हो । दुर्भाग्यवस स्वास्थ्य केन्द्रहरू, औषधि पसलहरू औषधि कम्पनीहरू प्रायः गरेर असुरक्षित तरीकाले यसलाई खुल्ला तवरले फालेर, पानीको स्रोतमा मिसाएर वा ढलमा पठाएर मुक्ति पाउने गरेको छ ।

जब यी एन्टिबायोटिक्स वातावरणमा मिसाइन्छ, यसले मानव जाति, पशुपंक्षि एवं अन्य सम्पर्कमा आउने जीवाणुहरूमा यसप्रति प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको अर्थ के हो भने जब मानिसले संक्रमण रोक्न फेरि यी एन्टिबायोटिक्सको प्रयोग गर्दछन् त्यसबेला यो त्यत्ति प्रभावकारी हुँदैन । किनकी यसले केही मात्र जीवाणुहरूलाई मार्न सक्षम हुन्छ ।

म्याद गुज्रेको औषधि उत्पादकलाई नै फिर्ता गर्नुहोस्

औषधि उत्पादक कम्पनीहरूसँग म्याद गुज्रिएको एन्टिबायोटिक्स र अन्य औषधिहरूको सुरक्षित व्यवस्थापन गर्ने उपकरणहरू हुने भएकोले यस्ता औषधिहरूको विसर्जन उत्पादक कम्पनीहरूले नै गर्नुपर्दछ । हामीले यी म्याद गुज्रीएका औषधिहरूको उत्पादक कम्पनीहरूलाई फिर्ता गर्न सकिंदैन भने निम्न तरीकाबाट यसको सुरक्षित व्यवस्थापन गर्न सकिन्छ ।

सफा र निसंक्रमित गर्न रसायनको प्रयोग

क्लोरिन ब्लिचमा पानी मिसाएर पातलो गरी लिचिङ पिटमा फाल्न सकिन्छ । हाइड्रोजन पेरोक्साइडको झोललाई विना कुनै खास प्रशोधन पनि फाल्न सकिन्छ । यसलाई शौचालयको ढलमा सुरक्षित तरीकाले पठाउन सकिन्छ ।

ग्लुटरअल्डिहाइड र फर्मलडीहाइडले क्यान्सर लगाउने वा मृत्यु समेत गराउन सक्दछ । तर यदि तपाईको स्वास्थ्य केन्द्रमा यसको प्रयोग सफा वा निसंक्रमण गर्नका लागि भैरहेको छ भने यसबाट सुरक्षित तरीकाले छुट्कारा पाउने उपायहरू छन् । ग्लुटरअल्डिहाइड र फर्मलडीहाइडको विसर्जन पूर्व प्रशोधन गर्न यसमा कस्टीक सोडा (सोडियम हाइड्रोक्साइड) को झोल मिसाएर यसको अम्लियपना (PH) लाई परिवर्तन गर्नुपर्दछ । लिटमस पेपर वा PH मिटरको प्रयोग गरी PH नाप्नुहोस् झोनको PH१२ बनाएर करिब ८ घण्टासम्म त्यसैमा राख्नुहोस् । आठ घण्टापछि PH लाई HCLथपेर घटाएर शून्यमा ल्याउनु होस् । यदि तपाई सँग ग्लुटरअल्डिहाइड वा फर्मल्डिहाइडलाई सुरक्षित तरीकाले विसर्जन गर्ने उपाय छैन भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनभने यी रसायनहरू एकदमै खतरनाक हुन्छ । प्रशोधन पश्चात् यसलाई लिचिङ पिटमा सुरक्षित विसर्जन गर्नुहोस् ।

कार्बोलिक अम्लको प्रयोग तन्ना, बेडसिटलाई निर्मलीकरण गर्न गरिन्छ, यसले श्वास फेर्ने र छाला सम्बन्धी समस्याहरू उत्पन्न गर्दछ । यसमा काम गर्ने मानिस हात मुख र आँखामा प्रोटेक्टिभ ग्लोभ, मास्क एवं ग्यासको प्रयोग गरेर मात्र उपयोग वा विसर्जन गर्नुपर्दछ । फोहर पानीमा सोडियम हाइड्रोअक्साइडको झोल मिसाउनु पर्दछ र त्यसपछि मात्र लिच पिटमा खन्याउनु पर्दछ ।

स्वास्थ्य केन्द्रहरूमा चाहिने जति मात्र एन्टिबायोटिक्स किन्नुहोस जसले गर्दा थोरै बाँकी रहेको पुरानो काम नलाग्ने मात्र व्यवस्थापन पर्ने हुन्छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार