गाडीमा यात्रा गर्नेको यही हो पारा ?

२०७६ साल कार्तिक महिनाको एक बिहान म बुटवलबाट काठमाडौंसम्म बसको यात्रा गर्ने क्रममा मेरो सिटमा सहयात्री एक अधबैँसे महिला थिइन् । बसभित्रका यात्रीहरू कोही बसबाट झरेर कोही झ्यालबाट खानेकुराहरू किन्न मस्त थिए ।

निपेश ढाका

म सँगै बस्ने महिलाले केही खानेकुरा प्याकेट र पानीको बोतल किनिन् । केही छिनमा बस हिँड्यो सहचालक यात्रुलाई प्लास्टिक बाँड्नतिर लागे । हिजो सिटमा वान्ता गरेर फोहर बनाए भन्दै कराउँदै थिए । मेरो सिटकी महिलाले कुरकुरे प्याकेट खोलेर सानो टुक्रा झ्यालबाट फालिन् र मलाई खानुहुन्छ भनिन् । मैले अहँ भने, उनले खान सुरु गरिन् । उनले पानीको बोतल खोलिन र सानो प्लास्टिक टुक्रा पनि झ्यालबाट फालिन् । झ्यालपट्टि बसेकी उनले वान्ता आउँछ भनेर पोलिथिनको जोहो पनि गरेकी थिइन् । हामी चढेको बसमा डस्टबिन थिएन, उनीसँगै सबै यात्रुहरू खानेकुरा खाइरहेका थिए । खाएका सबै खाली खोल, बोतल, फलफूलका बोक्रा झ्यालबाट फालिरहेका थिए ।

बस डेढ घण्टापछि दाउन्ने पुग्यो । त्यो उकालो ओरालो घुम्ती यात्रामा सहयात्री महिलाले प्लास्टिकमा वान्ता गर्न थालिन् । उनले वाक्दै प्लास्टिकको पोको पारेर बसको झ्यालबाट फाल्थिन् । केही बेरपछि बस नवलपुर जिल्लाको मध्यविन्दु ठाउँको जंगलमा रोकियो सबै शौचका लागि ओर्लिए म भने ओर्लिन । त्यहाँ कुनै शौचालय थिएन पुरुषहरू बसको नजिक बाटोमै पिसाब फेरेका थिए भने महिलाहरू नदेखेझैं गरेर केही पर झाडीमा गएका थिए । त्यहाँ आफ्नौ शौच फाल्नुबाहेक लाज शरम थिएन मानिसहरूलाई बसबाट सबै वृतान्त देखिन्थ्यो ।

यात्रामा अरू सवारी साधनका यात्रीहरूले पनि सडक छेउमा खुलेआम शौच गरेको देख्नुपथ्र्यो । विशेषतः महिलाहरूका लागि धेरै नै कष्ट र बाध्यता थियो । मोटरसाइकल चालकले सडक किनारमै पिसाब फेरिरहेको कयौं दृष्यले यात्रा लाजमर्दो बनेको थियो । गाडी रोकेको ठाउँको सडक वारपार प्लास्टिकजन्य पदार्थ, बोतल, सिसाको ठूलो डङ्गुर थियो । यस्तो पोलिथिनजन्य फोहर राजमार्गको छेउमा देखिन्थ्यो । राजमार्ग वरिपरिका घर तथा पसलहरू नजिक पोलिथिनजन्य पदार्थको फोहरका थुप्रो प्रसस्तै थिए । प्रायः ती फोहोरहरू राजमार्गमा यात्रा गर्ने सवारीका यात्रुहरूले नै फालेका हुन्थे ।


यात्राका क्रममा फेरि बस मुग्लिननजिक त्रिशुली नदीको किनारमा रोकियो । नदीको किनारमा महिला तथा पुरुषले शौच गरेको दृष्यहरू अझ लाजमर्दो थियो । नेपाली तथा हिन्दी गीत चर्को सुन्दै काठमाडौंसम्मको करिब १० घण्टाको यात्रा र सहयात्री महिलाको निरन्तर वान्ताले यात्रा त्यति सहज थिएन । नास्ता तथा खाना खाने होटलको अगाडि र गाडी रोकिएको अन्य ठाउँमा पनि पोलिथिनजन्य पदार्थ, बोतल, पेय पदार्थका खोलको हेरिनसक्नु दुर्गन्धित डङ्गुर देखिन्थ्यो । चालकले आफ्नो मनखुसी रोक्ने होटलको खाना स्वस्थकर थिएन । शौचालय पनि डुङडुङ्ती गनाएको धेरै फोहर थियो ।

यो एक उदाहरण मात्र हो । अहिले हाम्रो देशमा लाखौं सवारी साधनहरूमा यात्रा गर्ने यात्रु तथा चालकको बानी व्यहोरा तथा आचरणको बारेमा प्रतिबिम्बित एउटा घटना मात्र थियो यो । यस्ता समस्या दुर्गम ठाउँका बस्ती, सडक, पार्क र वनजंगलमा पनि बढ्दै गएका छन् । बझाङ, सिन्धुपाल्चोक, मुगु जिल्लाका बस्तीमा पनि यस्ता पोलिथिनजन्य पदार्थको प्रयोग र छरपस्ट फालिएका फोहरले दुर्गन्धित भइसकेका छन् ।

पछिल्लो समयमा सडकका किनारमा यस्ता गतिविधि देखिन्छ । सयौं वर्ष नकुहिने दैनिक रुपमा थुप्रँदै गएको यो पोलिथिनजन्य फोहोर केही वर्षभित्र हरेक समुदायका लागि ठूलो समस्या बन्ने निश्चित देखिन्छ । यो एउटा गम्भीर प्रश्नको रूपमा उब्जिएको छ । अर्थ मन्त्रालयको सर्बे अध्ययनमा नेपालमा करिब ८०,०७८ कि.मि. सडक सञ्जाल रहेको छ । अनुमान गर्नु सक्नुहुन्छ सडक तथा राजमार्गमा मात्रै यो पोलिथिनजन्य पदार्थ कति होला रु कसरी व्यवस्थापन हुने होला ? कसले गर्ने होला ? सम्झँदा कहालीलाग्दो छ ।

विज्ञान र प्रविधिको विकास भए तापनि नेपालजस्तो अविकसित राष्ट्रहरूमा पछिल्लो समयमा यस्ता सामाजिक विषयहरू जीर्ण बन्दै गएका छन् । हामीमा अरूले पनि गरेको छ, मैले गर्दा के हुन्छ र भन्ने बानीको विकास भइसकेको छ । उपयुक्त माथिको यात्रा सन्र्दभबाट हामी बौद्धिक चेतनशील मानिस खाद्य वा अखाद्य वस्तुको प्याकिङ प्रयोजनका लागि पोलिथिनजन्य पदार्थको प्रयोग र यसको व्यवस्थापनमा कति गम्भीर छौं भन्ने कुरा प्रष्ट हुन्छ । त्योसँगै सरसफाइका अवयवसँग हाम्रो दैनिकी कसरी जोडिएको छ भन्ने कुरामा सचेत हुन अति आवश्यक छ ।

मानव स्वास्थ्य तथा वातावरणमा पार्ने नकारात्मक प्रभाव

सयौं वर्ष नकुहिने यी पोलिथिनजन्य पदार्थको मात्रा दिन प्रतिदिन थपिँदै गएको छ । सडक वरिपरि, राजमार्ग किनारका होटल रेस्टुरेन्टको अगाडि खुला रुपमा फालिएका पोलिथिन र प्लास्टिकसहित खाद्य वा अखाद्य वस्तुका खोलहरू, तार तथा विद्युतीय सामग्री, टायर, खेलौना, प्लास्टिक भाँडाहरू, जुत्ताचप्पल, कपडा, बोरालगायत काम नलाग्ने चिज थुुपारेको देखिन्छ । त्यस्तै कतिले यसको झण्झटबाट बच्न जलाएर वा माटोमा गाडेर व्यवस्थापन गर्ने प्रचलन बढ्दै गएको छ । कतिपय राजमार्गका छेउछाउमा जाडोयाममा पोलिथिन वा टायर बालेर समेत आगो ताप्ने गरेको देखिन्छ ।

जर्नल अफ द अमेरिकन क्यान्सर सोसाइटीमा प्रकाशित एउटा अध्ययनले यसरी पोलिथिनजन्य पदार्थ, टायर, कपडा तथा अन्य पदार्थ जलाउँदा यसको दुर्गन्धित धुवाँले दीर्घकालीन रूपमा मानिसको माथिल्लो श्वासनलीमा क्यानसरको जोखिम हुन्छ । त्यस्तै, धेरै रोगको जोखिम बढाउँछ । हृदयघात, दम, फोक्सोमा समस्याजस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको संक्रमण बढाउँछ ।

त्यस्तै, टाउको दुखाइ र स्नायु प्रणालीलाई पनि क्षति पुर्‍याउँछ । अझ यसलाई जलाउन संलग्न व्यक्तिलाई मुख्यतया नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड ग्यास सासको माध्यमबाट भित्र गई तत्काल खोकी, सास फेर्न अप्ठ्यारो भई चक्कर समेत आउँछ । यसको धुवाँको सबैभन्दा बढी असर बालबालिका वृद्ध आमाबुबा, गर्भवती महिला र दीर्घरोगीलाई पर्छ ।

यसरी जलाउँदा न्युरोलोजिकल लक्षणहरू जस्तै टाउको दुख्ने, ध्यान केन्द्रित नहुने, बिर्सने तथा मस्तिस्क कोषहरूमा स्नायुसम्बन्धी समस्या पनि बढाउँछ । यसबाट उत्पन्न हुने धुवाँमा सिसा, फलाम र म्याग्नेसियमको मात्रा पाइने हुनाले मानव शरीरमा विषाक्त बोझ बढाउँछ । जब यी पदार्थ मिसिएको ग्यास श्वासप्रश्वासबाट लिन्छौं, हाम्रो शरीरलाई यी विषाक्त पदार्थहरू हटाउन मिर्गौलालाई भार पर्छ । यसको असरले किड्नीमा विभिन्न समस्या निम्तिन्छ ।

त्यस्तै, पोलिथिनजन्य पदार्थ जलाएपछि बाँकी रहेको अवशेषले माटो र जमिनलाई दूषित बनाउँछ । बाली र पशुपालनमार्फत हामीले मानवको खाद्य पदार्थसम्म प्रवेश गर्दछ । पोलिथिनजन्य पदार्थ वा जलाइएका अवषेशहरू जनावरले खाएपछि शरीरमा जम्मा भएर मासु र माछाको रूपमा पनि मानिसको शरीरसम्म पुग्दछ ।

यसरी जथाभावी पोलिथिनजन्य पदार्थको प्रयोग र विसर्जनले पछिल्लो दशकमा प्राणदायी माटो, रसमय भूमि र धर्तीको लागि राक्षसी रूपमा देखिरहेकोे छ । यसले मानव स्वास्थ्य र माटोको गुणस्तरका साथै वातावरणमा तथा ईकोसिस्टमा नकारात्मक असर पार्दछ । कतिपय स्थानमा पोलिथिनजन्य पदार्थ विसर्जन भएको ठाउँमा नै जलाउने गरिन्छ । कयौं हप्तासम्म आगो रहिरहने हुँदा यसले जीवजन्तु, पन्छी र वनस्पतिलाई असर गर्दछ । त्यस्तै, यसबाट डढेलो उत्पन्न भएर वनजंगलमा विनास हुन्छ । वर्षेनि यसरी लगाइने आगोले लाखौं हेक्टर वन सम्पदा नष्ट भएको छ । यसले हजारौं जीवजन्तु र वनस्पतिको अस्तित्व सखापमा पारिरहेको छ । त्यतिमात्र होइन विभिन्न जीवजन्तुको वासस्थान नै जलेर लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

यसको असरले वायुमण्डलमा प्रदूषण र जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पार्छ । साथै, ओजन तहलाई असर गर्दै ग्रीन हाउस ग्यासमा समेत क्षति पुर्‍याएको छ । त्यसैले पोलिथिनजन्य पदार्थ खुला रूपमा जलाउने कार्य भयानक सामाजिक अपराध हो ।

वातावरण तथा मानव स्वास्थ्यमा यसले पार्ने दीर्घकालीन असरको बारेमा सरोकारवाला व्यक्तिलाई ज्ञान भए तापनि यसको प्रयोगलाई हामीले प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन गरिरहेका छौं । यदि पोलिथिनजन्य पदार्थको प्रयोग यही अनुपातमा वृद्धि भए अबकोे केही वर्षमा हाम्रा सडक राजमार्ग वरिपरि र सहरहरू पोलिथिनमय कुरूप हुनेछन् । किनकि यसरी विकराल रूपमा बढ्दै गएको पोलिथिनजन्य फोहरको प्रयोगले ठूलो समस्या उत्पन्न हुने निश्चित देखिन्छ । त्यो परिणामलाई व्यवस्थित गर्न ठूलो रकम र जनशक्तिको आवश्यकता पर्छ ।

यसरी न्यूनीकरण गर्न सकिन्छ 

पोलिथिनजन्य पदार्थको प्रयोग र व्यवस्थापनलाई न्यूनीकरण गर्ने प्रमुख उपाय भनेको जनचेतना नै हो । यदि पोलिथिनजन्य पदार्थको प्रयोग र यसलाई जलाउँदा उत्पन्न हुने असरको बारेमा आममानिसलाई प्रशिक्षित गर्न सकियो भने यसले दीर्घकालीन व्यवस्थापनमा ठूलो सहयोग मिल्छ । विभिन्न स्थानीय निकायहरूले पोलिथिनजन्य पदार्थको उचित व्यवस्थापन र जलाउने कार्य बन्द गर्न जनचेतनामूलक अभियान गर्नु आवश्यक छ ।

अहिले हामी कुरा गर्दैछौं सडक तथा राजमार्गमा हुने पोलिथिनजन्य पदार्थको व्यवस्थापनको । यसका लागि विभिन्न सडक तथा राजमार्गमा सुरक्षित तरिकाले जनचेतनामूलक कार्यक्रम गर्न सकिन्छ । कयौं घण्टा टाढाको यात्रा गर्ने सवारी यात्रीहरूलाई ३/४ मिनेटको समय कुनै खुला ठाउँमा व्यवस्थित तरिकाले रोक्दैमा त्यसले त्यस्तो असर गर्दैन । सडक अलि फराकिलो ठाउँमा छुट्टै लेनमा स्वयंमसेवक परिचालन गरी प्रत्येक सवारी यात्रुलाई ४ मिनेटको समय प्रशिक्षण दिन सक्नेछन् ।

पोलिथिन गलत तरिकाबाट प्रयोग र व्यवस्थापन गर्दा हुने हानिनोक्सानी तथा असरको बारेमा यसरी बुझाउँदा यो विधि प्रभावकारी हुन सक्छ । ट्राफिक प्रहरीसँग सहकार्य गर्दा अन्य कार्यक्रमलाई पनि जोड्न सकिन्छ जसले गर्दा सवारी दुर्घटना पनि कम हुन्छ । सडक किनारमा सवारी साधनमा भएको फोहर संकलन गर्ने ठाउँ तथा शौचालय पनि बनाउन सकिन्छ । त्यस्तै, हरेक सवारी साधनमा अनिवार्य डस्टबिन राख्नको लागि आदेश दिन सकिने छ ।

राजमार्ग नजिक रहेका होटल, रेस्टुरेस्टलाई अनिवार्य डस्टबिनको प्रयोग, पोलिथिनको व्यवस्थापन गर्न लगाउन सकिन्छ । त्यहाँ जम्मा भएको पोलिथिनजन्य पदार्थ त्यहाँका स्थानीय निकायहरूले नियमित संकलन तथा निगरानी राख्न सक्नेछन् । यदि यात्रुहरूलाई निश्चित ठाउँमा शौचालय, सवारी साधनभित्र नै डस्टबिनको प्रयोग मात्र अनिवार्य गराउन सकियो भने प्रभावकारी हुनेछ । यसरी राजमार्गमा निरन्तर हुने चेतनामूलक कार्यक्रमले सबै यात्रुहरू यात्रा गर्दा मात्र होइन अन्य समयमा तथा सार्वजनिक ठाउँमा पनि सजक हुन प्रेरित गर्छ । त्यस्तै, शिक्षित सवारी यात्रुहरूले आफू चढेको सवारी साधनमा डस्टबिन छ या छैन, साथै आफ्ना सहयात्रीलाई मात्र सम्झाउन सकियो भने पनि यी समस्या न्यूनीकरण हुने देखिन्छ ।

त्यस्तै, सडक तथा राजमार्गमा सवारी साधनका झ्यालमा विभिन्न स्वास्थ्यलाई घातक पार्ने खालका खानेकुरा बेच्ने तथा किन्ने प्रचलन छ । यस्ता खालका खानेकुरा प्रायः स्वास्थ्यको हितका लागि घातक छन् । त्यसैले सडक तथा राजमार्गको वरिपरि त्यही यस्ता खाद्यपदार्थहरू बेचविखन गर्न रोक पनि लगाउन सकिन्छ । यसले सडक दुर्घटनाको जोखिम पनि न्यूनीकरण हुन सहयोग पुर्‍याउँछ ।

यो अभियानलाई निरन्तर निगरानी पनि गर्नुपर्छ । यदि कुनै यात्रुले वा चालकले लापरबाही गरेमा कडा किसिमको दण्ड तथा जरिवाना गर्नुपर्छ । यसरी जरिबाना रकमबाट थप प्रभावकारी र व्यवस्थापनमा सहयोग पुग्छ । सडक राजमार्ग आसपासका विद्यालयका बाबुनानी तथा उनका अविभावकहरूलाई पनि चेतना दिनसके न्यूनीकरण झन् प्रभावकारी हुनसक्छ ।

माथि उल्लेखित यात्रामा मेरो सहयात्रीलाई झ्यालबाट बाहिर नफाल्न, सहचालकलाई डस्टबिन राख्न, चालकलाई उचित शौचालय भएको ठाउँमा सवारी रोक्न नभनेको होइन तर एक मानिसले भनेर परिवर्तन हुने होइन । यो त विधिनियम र कानुनी रूपमा अगाडि बढाउनु आवश्यक छ । पोलिथिनको प्रयोग र यसको न्यूनीकरण तथा व्यवस्थान सम्बन्धी अभियानको रूपमा अघि बढाउन आवश्यक छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले पनि धेरै पाठ सिकाएको छ । मानव स्वास्थ्य नै प्रमुख आवश्यकता रहेछ भन्ने यसले प्रमाणित गरिदिएको छ । त्यसैले यस्ता कार्यलाई प्राथमितामा राखी समयमा नै कार्यान्वन गर्नुतिर अग्रसर हुन आवश्यक छ । यो उत्कृष्ठ समय हो, यदि यस्तै पुण्य काममा अझै पनि ढिला गर्‍यौं भने भोलिका हाम्रा सन्तानका लागि हामीले छोड्ने पोलिथिनजन्य पदार्थबाहेक अरू केही हुने छैन । हाम्रा भावी सन्तानले र असंख्य अवोध प्राणीले प्लास्टिक खान, लगाउन र त्यसको थुप्रोमा सुत्न नपरोस्, यही छ कामना ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार