रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ ।
काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसले गर्दा विभिन्न खाले फोहरलाई संकलन गरी सिधै भष्मीकरण यन्त्रमा फालिन्छ । तर फोहरलाई जलाउँदा यसले फोहरको समस्यालाई समाधानको साटो झन विर्गादछ । फोहरलाई भष्मीकरण यन्त्र वा खुल्ला रूपमा आगो लगाएर जलाएको खण्डमा, यसले विभिन्न रसायनिक प्रदूषणहरू हावामा र माटो एवं भूमिगत पानीमा विषाक्त खरानी मिसिन जान्छ । मर्करी, लिड र अन्य गह्रौं धातुहरू वातावरणमा मिसिन गई वातावरणलाई विषाक्त बनाउँदछ ।
प्लाष्टिकको प्रयोग गरी सुईको भाइल र रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ । यो रसायनको कुनै रंग हुँदैन, गन्ध हुँदैन र यसले क्यान्सर निम्त्याउनुको साथै महिला पुरुष दुवैलाई बाँझो बनाउन सक्दछ र अन्य गम्भीर स्वास्थ्य समस्याहरू सृजना गर्दछ ।
कहिलेकाहीँ भष्मीकरण यन्त्रले धेरै ठूलो तापक्रममा काम नगर्ने भएको र चाहिने समयसम्म नचल्ने भएकोले फोहरलाई पूर्ण रूपमा जलाउन सक्दैन । कुनै कुनै भष्मीकरण यन्त्र खास किसिमको फोहरलाई जस्तैः खोप कार्यक्रमबाट निस्कने फोहरको लागि बनाए पनि अन्तिममा सबै खाले फोहर जलाउनको लागि प्रयोग गरिन्छ । जस्तैः औषधि, विषादी र अन्य हानिकारक वस्तुहरूलाई जलाउन प्रयोग गरिन्छ । नेपालमा भने भष्मीकरणको प्रयोग कागज, कागजको बट्टा, प्लाष्टिकको ग्लोभ पनि जलाउने प्रयोग गरेको पाइन्छ ।
अक्सर गरी स्वास्थ्यजन्य फोहरमैलाको सुरक्षित व्यवस्थापन गर्नलाई सर्वप्रथम पुनः प्रयोग गर्न सक्ने गरी स्रोतमा नै छुट्याउनु पर्दछ । पुनः प्रशोधन र पुनःप्रयोग गर्न सक्ने फोहरलाई छुट्टाछुट्टै ठाउँमा छुट्याउनु पर्दछ । त्यसपछि संक्रमित फोहरलाई निसंक्रमित गर्नु पर्दछ । भष्मीकरणको वैकल्पिक प्रविधिहरूबाट स्वास्थ्यकर्मीहरूले खाएको बाचा “कसैलाई हानि नपुर्याउने” लाई प्रयोग गरी फोहर व्यवस्थापनको गाह्रो कामबाट मुक्ति पाउन सकिन्छ ।
स्वास्थ्य संस्थाजन्य फोहरबाट हुने हानिबाट बच्ने उपायहरू
कुनै सानो स्वास्थ्य चौकी वा ठूलो अस्पताल होस् वा कुनै घरमै हुने गरेको उपचार होस्, स्वास्थ्य उपकरणहरू र स्वास्थ्यजन्य फोहरलाई सुरक्षित तरीकाले व्यवस्थापन गरिएमा यसबाट हुने हानिबाट बाँच्न सकिन्छ ।
फोहरको मात्रा घटाउनेः स्वस्थजन्य सामानहरू किन्दा राम्रो ध्यान पुर्याएको खण्डमा यसबाट निस्कने फोहरको मात्रालाई घटाउन सकिन्छ ।
स्रोतमै छुट्याउनेः फोहर उत्सर्जन हुने ठाउँमा नै फोहरलाई छुट्याउनु पर्दछ ।
निसंक्रमण गरेरः रोगका जीवाणुहरू भएको संक्रमित फोहरलाई निसंक्रमण गर्ने ।
प्रशोधन गरेरः रसायनिक फोहरलाई प्रशोधन गरेर कम हानिकारक फोहरमा परिणत गर्ने ।
विसर्जनः स्वास्थ्यजन्य फोहरलाई कम भन्दा कम हानि पुर्याउन सक्ने किसिमले विसर्जन गर्ने ।
तालीमः स्वास्थ्य संस्थाका सबै सम्बन्धित कर्मचारीहरू जस्तै फोहर संकलन, जम्मा गर्ने, सफा गर्ने, नर्स, डाक्टर र व्यवस्थापनका मानिसहरूलाई आवश्यक तालीम प्रदान गर्नुपर्दछ ।
एउटा क्लिनिक, स्वास्थ्य केन्द्र वा अस्पतालले उपयोग गर्ने प्रविधि एवं तरीकामा भन्दा पनि फोहर उत्सर्जन गर्नेदेखि लिएर संकलन गर्ने, जम्मा पार्ने र खास गरी नयाँ मानिसले के – के र किन गर्नुपर्दछ भन्ने कुरा बारे जानकारी पाउनु चाहिँ जरुरी हुन्छ । प्रायः मानिसले नयाँ नयाँ तरीकाहरू अपनाएर कामलाई सजिलो बनाउँदछ । केही क्लिनिकहरूमा फोहर संकलन गर्ने, तालीम दिने र सुरक्षित पद्धति अपनाएको नअपनाएको भनरे अनुगमन गरी राख्नु पर्दछ ।