नुवाकोट : विदुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न “रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन” कार्यक्रम सुरु गरेको छ । “एकीकृत फोहोरमैला व्यवस्थापन अभियानलाई साकार पार्न नगरपालिकाले रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन सुरुवात गरेको छ । यस अन्तर्गत नगरपालिकाले अब नगरले आईतबार, मङ्गलबार, बिहिबार र शनिबार नकुहिने फोहोर (निलो रङ्गको बाल्टिन) र सोमबार, बुधबार र शुक्रबार कुहिने फोहोर (हरियो रङ्ग बाल्टिन) सङ्कलन गर्नेछ ।
नगरपालिकाले मङ्गलबार बट्टारमा एक कार्यक्रम आयोजना गरी वातावरण सफा राख्न नगरमा १४२ वटा डस्टविन वितरण गरेको छ । अब नगरपालिकाको क्षेत्र अन्तर्गतका बासिन्दाले आफ्नो घर भित्रै फोहोरलाई २ भागमा विभाजन गर्नुपर्ने छ । वितरण गरिएको डस्टविन निलो रङ्गको बाल्टिनमा कुहिने (जैविक) र हरियो रङ्गको बाल्टिनमा नकुहिने (अजैविक) फोहोर नगरबासीले राख्नुपर्नेछ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले वितरित डस्टबिनले टोलटोलमा उत्पादन हुने फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने बताउनुभयो । कुनै पनि स्थानको पहिचान सरसफामा आउने भएकोले आफ्नो र स्थानको पहिचान दिलाउनको लागि टोल, समाज र नगरको सरसफाइमा लाग्नुपर्ने उहाँले बताउनुभयो । नगरको सरसफाइमा ध्यान दिनको लागि कुहिने र नकुहिने फोहोरलाई रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन कार्यक्रमको सुरुवात गरिएको उहाँले बताउनुभयो । विदुर नगरपालिका भित्र दैनिक १२ टन फोहोर उत्सर्जन तथा संकलन हुदै आएको छ ।
उहाँले फोहोर व्यवस्थापन केन्द्रको लागि स्थान पहिचानको लागि खोजी गर्नको लागि वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको जानकारी दिनुभयो । डम्पिङ साईड नजिक केन्द्रीय कारागार बनेको हुनाले गृह मन्त्रायलबाट स्थान्तरण गर्नुपर्ने निर्देशन आएपछि नयाँ ठाउँको खोजी गरिएको हो । बढ्दो शहरीकरणले नगरमा फोहोरको मात्रा पनि बढ्दै गईरहेको हुनाले शहर सफा र सुन्दर राख्नको लागि नगरबासीले नै फोहोरलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सुरुवाती चरणमा नगरका वडा नम्बरहरु १, २, ४, ५, ६, ८, ९ र १० मा यस अभियान सञ्चालन गरिनेछ भने कुहिने फोहोरलाई घर, करेसाबारीमै प्रयोग गर्नुपर्ने र नकुहिने फोहोरबाट मोहोर उठाउनको लागि नगरबासीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख गीताकुमारी दाहालले फोहोर गर्ने हातहरुबाटै सरसफाइ सुरु गरे मात्र नगर स्वच्छ र सफा हुने बताउनुभयो। नगरलाई सफाइ राखेर नमुना शहरको परिकल्पना गर्नुपर्ने र नगरको सरसफाइ अभियानमा सबै नगरबासीहरुले सहभागी भइ साथ दिनुपर्ने बताउनुभयो । उहाँले फोहोर निस्कने स्रोतमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सेग्रिगेसन हाउस निर्माणको योजना कार्यान्वयनको पक्षमा रहेको जानकारी दिनुभयो । नगरपालिकाको यस वर्षको नीति तथा कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापनको लागि ४१ वटा टोल विकास समिति पनि गठन भईरहेको छ ।