काठमाडौ : बागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको छ । सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा भाग लिएर विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिवार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो ।
फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमती सफाइ महाअभियानबाट केही सफा देखिएको छ । सफा पानी बग्न थालेको छ भने पहिलेको तुलनामा फोहोर पनि हटेको छ । यो अवधिमा बागमती संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन उल्लेख्य रुपमा नागरिक सहभागी भएका छन् । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, चलचित्र कलाकार संघ, विज्ञापन संघ, विभिन्न कलेजलगायत विभिन्न सामाजिक संघ संस्थाका कर्मचारी तथा प्रतिनिधिहरु सहभागी हुने गरेका छन् ।
नदीका किनारमा विभिन्न संघसंस्थाको पहलमा बगैँचा निर्माण पनि भइरहेको छ । नदी किनारमा २६ वटा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । वागमतीमा मिसाईदै आएको ढलका लागि छुट्टै निकास बनाएर प्रशोसन पछि मात्र नदीमा पनि छोड्ने प्रणालीको समेत जडान भईरहेको छ । गुहेश्वरीको पानी प्रशोधन केन्द्र सम्पन्न भई सञ्चालनमा आएपछि पशुपति क्षेत्रस्थित बागमती नदीमा सफा पानी बग्न थालेको छ ।