प्राचीन गंगा देखि आधुनिक बागमती सम्म: संरक्षण पाठहरु

सुशिल दाहाल

जब सम्म हामी नदीलाई नालीका रुपमा बुझ्छौँ तब सम्म नदी नदी हुदैन। नदी नाली भएर के फरक पर्छ त ? नदी नदी भएको भए काठमाडौँलाई किन मेलम्ची चाहिन्थ्यो ? अर्को रोचक कुरा, यदि मेलम्ची काठमाडौँको रैथाने नदी भएको भए के काठमाडौँमा खानेपानी पर्याप्त हुन्थ्यो ? 

हिमालय पर्वतको इतिहास पृथ्वीको अरु कुनै पनि पर्वत शृंखलाको इतिहास भन्दा छोटो छ । भारत वर्षाको तल्लो भूभागलाई जल र जीवन दिएको यस हिमालय पर्वत निसन्देह पुजनीय छ, संग-संगै पुजनीय छ हिमालय पर्वतबाट बग्ने पानी। भागीरथी हिमशृंखला संग-संगै जन्मिएकी गंगोत्री हिमनदी, रगंगोत्रीको गौमुखबाट जन्मिएकी गंगाको सरल सांस्कृतिक-ऐतिहासिक वर्णनले सिद्धगर्ने प्राथमिक तथ्य हो नदीको ब्रह्मत्व।नदीकोआमात्व।

पुर्वीय ग्रन्थहरुले प्राचिनकालमा नै गंगालाई जीवन प्रदायक मानी आमाको संज्ञा दिएका छन्। अझ रोचक कुरा त, गंगाको कोखबाट कुनै ग्रन्थमा कहिले पनि असुरले जन्म लिएनन्। ऋषि व्यासले महाभारतमा ब्रह्मचारी त्यसैले त्यागी, निस्कपट भीष्म (देवव्रत) लाई गंगाको कोखबाट जन्माएर नदी माथिको प्राचीन सोच, मूल्य र मान्यताको चित्रण गरेका छन्। नदीको सम्मान गरेका छन्।

महाभारतमा नै पनि सनातन सोच, मूल्य र मान्यताको अनुसरणले संरक्षित गंगाको एउटा स्पष्ट तस्बिर बनाइएको छ। भारत वर्षाका अनेकौं राज्यहरु गंगातटमा आफ्ना हजारौ जनता सहित एउटा युग बाँचे। बाँचे, गंगाको सम्मानमा। राजादेखि रैतीको पाप निमिट्यान्न गरिदिने गंगाजल भएर गंगा बगिरहिन। गंगा कहिल्यै नाली भइनन्।

गंगा स्वयम् एउटा पर्याय हुन्, सम्मानको। सम्मान, पुनःएउटा पदक हो।आत्मीय पदक। सम्मानभाव महत्व बोधको उपज हो। महत्व बोध बिना कस्तो सम्मान? महत्वाहीनहरु त यसै पनि कलंकित भएकै कारण महत्वाहीन हुन्।

कुनै पनि वस्तुको महत्वबोधले सम्मान भाव जन्माएपछि उक्त वस्तुको संरक्षण हुन्छ। संरक्षण भावले एउटा शौभाग्य दिन्छ,  वस्तुको मुलभूत गुणको साक्षात्कार र त्यो पनि अनन्तकालसम्म।आदीदेवको शिरमा टल्केकी गंगाको द्वापरयुगमा पनि उस्तै स्वरुप देखिनु त्यहि सम्मानभाव र त्यहि महत्वबोधको उपज हो। ऋषिमुनिहरु छटपटाएका हुनुपर्छ। प्यासमा। निरिह बनेका हुनुपर्छ, कतै अनकन्टारको तपस्यामा। त्यसैले त गंगातट पवित्र ध्यानस्थल बन्यो। अर्थात्प्राचीन पूर्वले नदीको सदैव जगेर्ना गर्यो।

अनि अहिलेको पूर्वले ? पूर्वीय सभ्यताको प्राणगंगा अहिले कुन अवस्थामा छिन् ? भारतको जलश्रोत मन्त्रालयका पूर्व सचिव रामास्वामी ऐयरले सन् २०११ मा गंगाको देहान्त हैन बरु गंगाको हत्या भएको भनि एउटा लेख लेखे। यो लेख पनि उनकै लेखलाई प्रेरणा मानी लेखिएको हो।

‘नदीहरु मर्दैनन्  र मारिन्छन्’  शिर्षकको उक्त लेख सरल तर सराहनीय छ।

मनिसलाई भोक लागेर होस गुम्ना साथ गंगाको चिरहरण कसरी भयो ? कसरी को जवाफ निम्न ४ बुदामा समेटी ऐयरले गुमेको गंगाको अस्तित्व फिर्ता ल्याउन नसकिने भनेका छन्।

 

१. कुनै पनि ‘नदी’ ‘नाली’ होइन- पछिल्लो समय नेपाल, भारत लगायतका मूलुकहरुले नदीलाई नालीमा परिणत गरिदिए। सोचिदिए,  नदी बनेकै मान्छेको फोहोर सफा गर्न हो। हो जब यो सोच आयो तब मानिसको मनबाट नदी प्रतिको त्यो पुरातन सम्मान भावको पनि हत्या भयो र हत्या भयो गंगाको। मनोहराको। बागमतीको। यदि तपाई प्रश्न गर्न चाहनुहुन्छ भने गर्नुस् ‘कसरी भयो सम्मान भावको हत्या ?’ म तपाईलाई प्रति प्रश्न गर्छु, के तपाईले आज सम्म बाटोमा बोरा बोकी ‘कागज फलाम’ भन्दै तपाइको घरको फोहोर किन्ने लालु काकाको पुजा गर्नु भएको छ ? नदीलाई नाली ठानेपछि अब कस्तो सम्मान?  अनि नालीको कस्तो संरक्षण ? बागमतीको कस्तो संरक्षण ?

 

२. नदीको आफ्नै बहाव हुन्छ- जलश्रोत व्यवस्थापनमा दशक लामो अन्वेषण गरिसकेका एकजना अन्वेषकलाई एकताका मैले सोधेको थिएँ, ‘दाई, बागमतीमा विसर्जन गरिएका ढल सबै बन्द गरिदिने हो भने बागमती कस्तो हुन्छ ?’ उनले उत्तर दिन पाँच पल पनि सोचेनन्, ‘ढल बन्द भए बागमती नि बन्द हुन्छ।’

स्वस्थ नदीको आधारभूत माग हो बहाव। बहावले नै त प्राकृतिक रुपमा नदीले स्वच्छताको चक्र पुरा गर्दछ। जस्तो कि, फोहोर भएको हात धुन पानी चाहिन्छ, त्यसरी नै नदीको फोहोर सफा गर्न पनि त नदीमा पानी चाहिन्छ। गंगा र बागमतीको परिदृश्य यहाँ निर फरक पर्न सक्दछ। जब नदीनाली बन्दछ तब नदीको मिर्गौला ‘फेल’ हुन्छ। नदीको मिर्गौला सतही गिट्टी र बालुवा हो। जैविक र अजैविक प्रदुषणले भरिएको नदीको भू-सतह टालिनु मान्छेको मिर्गौला बन्द हुनु बराबर हो। तर गंगाकै मिर्गौलाले बनेका टल्कने घरले फेरी त्यहि गंगामा जैविक र अजैविक प्रदुषण थपेपछि गंगाको हत्या मान्छे स्वयम्ले कसरी गरेन ?

 

३. संकुचित नदी तट नदीको ‘पोइजन’ हो- राजा भगिरथले बर्षौको तपस्या गरी ब्रह्मालाई फकाएपछि ब्रह्माले भगिरथ लाई प्रश्न गरे, ‘हे भगिरथ, गंगालाई पृथ्वी लोकमा पठाएर यहाँका मानवहरुको कल्याण गर्न पाउदा म पनि खुसी छु तर यो प्रक्रियामा यति धेरै शक्ति उत्पन्न हुन्छ कि केवल महादेवले मात्र उक्त शक्तिको नियन्त्रण गर्न सक्नुहुन्छ।’ अर्थात्, नदीको शक्ति चित्रण गरिएको यो एउटा अध्यायको विरुद्धमा हामी सधै नदीलाई ‘गेभियनवाल’ लगाएर थुन-छेक गर्न लाग्यौँ। यति सम्म हामी सबैले बुझेकै हौकि ‘अविरल बग्दछ इन्द्रावती।’

 

४. नदी फगत नदी होइन, नदी एक पूर्ण -पर्यावरण हो – यस तथ्यको ‘कम्प्रीहेनसन्’ अर्थात्विस्तृत व्याख्या गर्नुको अर्थ यो हुन्छ कि हामीले हाम्रो इतिहास, हाम्रो उत्पति र हाम्रो सभ्यताको उदय भुलिसकेका छौ। पूर्वजले पानीको स्वच्छताको जगेर्ना नगरी दिएका हुन्थे भने मानव इतिहास पनि ‘चीनियाँ पेडलफिस’ जस्तै लोप भईसकेको हुन्थ्यो। नदीमै सुरुवाती जीवनको अध्याय पार गरेको मानव इतिहासले भुल्नै नहुने कुरा हो, नदी जीवन भण्डार हो। नदी आफैमा एउटा पूर्ण पारिस्थितिक प्रणाली हो। गंगाको लास किन बन्यो ? किनकी हामीले यहि कुराहरु भुल्यौ।

 

अब बागमती तर्फ हेरौँ ।

सन् २०१८ मा मरिस्साटेलरले ‘बागमती मरेको छ- र यस बिषयमा हामी केहि पनि गर्न सक्दैनौ’ भन्ने शिर्षकमा लेख प्रकाशित गरिन्। ‘सफा गर्नु’ र ‘पुनर्स्थापना गर्नु’ फरक कुरा हुन्र बागमती पुनर्स्थापना गर्न अब हामी चुकिसकेका छौ भन्ने भावको उक्त लेख यथार्थपरक छ। कारण, बागमतीमा विसर्जित बोझ जुन छ त्यो बोझ बागमतीको बहाव भन्दा कयौं गुणा गर्हौ छ, मधुकर उपाध्यायको यस भनाईलाई उक्त लेखमा उद्रित गरिएको छ।

 

जलधार संरक्षणमा सबैभन्दा महत्वपूर्ण भूमिका सहायक नदीहरुको संरक्षण नीतिको रहन्छ। मुख्य नदी त सहायक नदीको विस्तृत रुप पनि त हो। धोबी खोला करिडोरको रंगिन ‘रेलिङ्ग’ ले अवस्य पनि खोला सजाएकोछ। बागमतीमा विसर्जित प्लास्टिक हटाउनाले अवस्य पनि खोला सफा भएको छ। अभियन्ताहरुले यो कुरा अवस्य बुझ्नु भएको छ कि यो दिगो समाधान हैन। कहिले सम्म टिप्ने त फोहोर यसरी ? बागमतीमा फोहोर फाल्दै नफाले त आहा !!! तर यसो किन सम्भव भएन ? महत्वबोधको सट्टा महत्वाहिनता- बोध गहिरिएर ? स्वतन्त्रताको पराकास्ठा सायद यहि पनि हुन सक्छ तर म स्वयम्पनि निरंकुशता चाहदिन।

 

समस्याको चुरो बागमती दृश्य होइन । चुरो त बुझाई हो। जब सम्म हामी नदीलाई नालीका रुपमा बुझ्छौँ तबसम्म नदी नदी हुदैन। नदी नाली भएर के फरक पर्छ त ? नदी नदी भएको भए काठमाडौँलाई किन मेलम्ची चाहिन्थ्यो ? अर्को रोचक कुरा, यदि मेलम्ची काठमाडौँको रैथाने नदी भएको भए के काठमाडौँमा खानेपानी पर्याप्त हुन्थ्यो ? अह ! मेलम्ची पनि ‘बागमती भर्सन २.०’ हुन्थ्यो अथवा ‘टुकुचा २.०’ हुन्थ्यो। अब भन्नु होला बागमतीमा त पानी नै छैन नि त। कुरो त्यसो पनि हैन। माथि उल्लेखित ऐयरउ वाच तेस्रो बुदाले यहि त भनेको छकि नदीलाई आफ्नै ‘स्पेस’ चाहिन्छ। अनि हामीले बागमतीलाई उसको भागको ‘स्पेस’ दिएका छौ त ? पटक्कै छैन । कंक्रिटको जंगल काठमाडौँले बागमती स्वयम्को प्यास बुझाउन सकेको छैन अनि कसरी बागमतीले हाम्रो प्यास बुझाउन ?

हामी ९० औँ दशकका पिडिहरुलाई पनि जलधार संरक्षणमा अग्रजले ज्ञान बाँडिरहे । माथि लेकमा एउटै कुवा हुनु, सबै किसान त्यही एउटै कुवामा आश्रित हुनुले हामीमा जलधारको महत्व बोध गरायो। प्रत्यक पटक पनि खान जाँदा बुवाले भन्नुहुन्थ्यो, ‘कुवामा वासुकी नाग छन् ,अपशब्द नबोल्नु, नथुक्नु।’ अझैसम्म त्यो कुवा उत्तिकै संग्लो छ ।

बागमती त यति उपेक्षित छिन्कि हामी बागमतीमा केके मात्र मिसाउदैनौ ? भनेपछि बागमतीलाई बागमतीकै तालमा छोडेर हामीले भोलिदेखि नै बागमतीमा केहि विसर्जन नगर्दा बागमतीको ‘पुनर्स्थापना’ सम्भव छ ? त्यतिले मात्र छैन ! तर सुधार अवस्य हुनेछ । जलधार संरक्षण बिषयको अन्वेषकका नाताले म यति चाहिँ भन्न सक्छु कि ‘मनसुन’ मा बागमतीको पानीको गुणस्तर र ‘पोस्ट-मनसुन’ मा बागमतीको पानीको गुणस्तरमा आकाश-जमिनको फरक पर्दछ। अर्थ, बागमती आफैँ पनि संग्लिन चाहन्छिन्। रोकेको त हामीले नै ‘डम्प’ गरेको प्रदुषणले न हो।अब कुराआयो, त्यसो भए बागमतीको पुनरुत्थान सम्भव नै छैन ? हैन छ। सम्भव छ, तर मैले त्यसको मूल्य भनेँ भने तपाईहरुले मलाई बिरोधी भन्नुहुन्छ। विकास बिरोधी। मानव समाज बिरोधी। फेरी पनि, मान्छेले बिगारेको प्रकृतिको पुनरुत्थान र पुनर्स्थापना त मान्छेको अवरोध हटाएर प्रकृतिलाई निस्फिक्री बाच्न दिनुमा नै हुन्छ।

त्यसो भए अब के गर्ने त ?

मुख्य कुरा जलधार र जलश्रोतको अथवा अन्य कुनै पनि प्राकृतिक सम्पदाको सम्मान गरौँ । मानव समाज स्वयम्पनि त प्रकृतिकै अभिन्न हिस्सा हो। हामी पनि त प्रकृतिकै देन हौँ। अर्को कुरा, के जाति गरेपछि दैलो देख्ने भन्ने उखान जस्तो व्यवहार नगरौँ। हुन त हामीले अझै पनि दैलो देखेकै छैनौँ। दैलो त हामी अन्तिममा कुनै उपायन भएपछि देख्नेछौँ। फोहोर गरेर पवित्र लाई अपवित्र बनाउने नै किन ? विकल्प खोज्नेपनि तस्व-इच्छाले हो। सहजता खोज्दा खोज्दै विकल्पहरु नदेखिने न हुन्। बागमती प्रदुषणको श्रोत तपाईको घरको ‘सेप्टिक ट्यांक’ हुदै हैन। यसको श्रोत तपाईले खानु भएको चकलेटको खोल कदापी हैन। यो त सिर्फ हाम्रो मानसिकता हो। नदीलाई नाली बनाउने हाम्रो मानसिकताको उपज आजको बागमती हो। र यो मानसिकता बदल्नाले जलधार संरक्षणमा अभुतपुर्व टेवा पुग्दछ।

लेखक, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) मा कार्यरत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार