नयाँ पाठ्यक्रममा महिनावारीको बिषय : पाठ्यक्रम अधिकृत सिलवाल

 3254 पटक हेरिएको

राष्ट्रिय पाठ्यक्रम प्रारुप बमोजिम पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम परिक्षणको क्रममा छ । गत बर्ष कक्षां १, २ र ३ को सेरोफेरो बिषयको पाठ्यक्रम तयार गरेका थियौं । कक्षा १ को लागु हुने क्रममा छ भने कक्षा २ र ३ को परिक्षणमा छ । यस्तै कक्षा ४ देखि ८ सम्मको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला बिषयको पाठ्यक्रम बनाइएकोमा कक्षा ६ को परिक्षणको क्रममा छ भने कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रमको मस्यौदा तयार भइसकेको छ । अब यो पाठ्यक्रम पुनरावलोकनको क्रममा छौं ।

२०६२ तथा २०६९ को पाठ्यक्रममा भन्दा यो पाठ्यक्रममा सरोकारवालाकै सुझाव बमोजिम महिनावारीको बिषयलाई विशेष महत्व दिएर समेट्ने प्रयास गरिएको छ । नयाँ पाठ्यक्रममा समावेश भएका बिषयवस्तु समसामयिक, किशोरावस्था र उत्तरबाल्यावस्थाका बच्चाहरुलाई सम्बोधन गर्ने किसिमका छन् । उनीहरुको उमेर अनुसार आउने शारीरिक परिवर्तन, किशोर अवस्थाको यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी, मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता पक्षलाई समेट्ने प्रयास गरिएको छ । खासगरी सरसफाइ र स्वास्थ्यको कुरा त कक्षा एक दुई तीन बाटै आउँछ, कक्षा ५ देखि ८ को पाठ्यक्रममा चाहिं विशेष गरी बालिकाहरुलाई महिनावारीका लागि पूर्व तयारी गराउने, महिनावारीको समयमा आउनसक्ने समस्या र समाधानको उपाय जस्ता विषयलाई समेटेका छौं ।

यस्तै कक्षा चारको पाठ्यक्रममा महिनावारीको सामान्य परिचय, पाँचमा सामान्य सरसफाइका कुराहरु, त्यसपछि क्रमिक रुपमा महिनावारी सम्बन्धी अन्य व्यवस्थापकीय कुराहरु, महिनावारी सम्बन्धी भ्रमहरु, अफ्ठ्याराहरु, किशोरकिशोरी, युवायुवती, परिवारको भूमिका जस्ता बिषयलाई समेट्दै क्रमिक रुपमा कक्षा ८ मा चाहिं प्याड व्यवस्थापन गर्ने कुरा, प्याड निर्माण गर्ने कुराहरुलाई पनि समावेश गरिएको छ । कक्षा ९ देखि १२ को पाठ्यक्रममा चाहिं ऐच्छिक पाठ्यक्रम रहेको छ । स्वास्थ्य तथा शारीरिक शिक्षाको पाठ्यक्रममा समेत महिनावारी व्यवस्थापन सम्बन्धी विषयबस्तुहरुलाई प्रजनन स्वास्थ्य अन्तर्गत समावेश गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत सुमन सिलवाल सँग गरिएको कुराकानीमा आधारित


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार