नेपालमा फोहरपानी प्रशोधन : हिजो र आज

नेपालमा लिच्छबीकालमा निर्माण भएका प्राचीन खानेपानी आपूर्ती प्रविधि हिति (ढुंगेधारा) प्रणालीसँगै ढलनिकासको पनि व्यवस्था भएको पाइन्छ । यस समयमा विशेषगरी हितिबाट खेर गएको फोहरपानीलाई भूमिगत ढल, जसलाई ध्वं भनिन्छ, मार्फत् वस्ती बाहिर निकास गरी पोखरीमा जम्मा गरिन्थ्यो र आवश्यकता अनुसार खेतीकार्य एवम् कृषिजन्य उत्पादन पखाल्नको लागि प्रयोग गर्ने गरिएको पाइन्थ्यो। यसपछि मल्लकालमा आएर फोहरमैला र फोहरपानी व्यवस्थापनको लागि दिगो एवम् वातावरणमैत्री उत्कृष्ट प्रविधि र अवधारणाहरुको विकास गरिएको पाइन्छ ।

यसमध्ये साःगाः र नौगाः प्रमुख छन्। साःगाः घरबाट उत्पादन हुने फोहरमैला र फोहरपानी संकलन, भण्डारण र प्रशोधनको लागि घरको पछाडि निर्माण गरिने खाल्डो हो भने भान्छाबाट निस्किने खरानी र पिसाबलाई व्यवस्थापन गर्नको लागि नौगाः निर्माण गरिएको हुन्छ । यसरी साःगाः र नौगाःमा संकलित एवम् प्रशोधित फोहरमैलालाई कम्पोष्टको रुपमा खेतीकार्यमा प्रयोग गरिन्छ । नौगाःबाट खासै लिचेत (leachate) निस्कंदैन भने साःगाःबाट निस्किने लिचेतलाई वस्तीभित्र विकास गरिएको सतही ढलमार्फत् बस्तीबाहिर पठाइन्छ र अन्तमा खेतीमा पुनःप्रयोग गरिन्छ । यसरी मल्लकालमा वातावरणमैत्री प्रविधिका साथै फोहरलाई पुनःप्रयोग गर्ने अवधारणाको समेत राम्रो प्रचलन रहेको पाइन्छ ।

नेपालमा सन् १९२० बाट आधुनिक ढल प्रणालीको विकास गरिएको देखिन्छ । यसको शुरुवाती चरणमा काठमाडौं र पाटनमा निर्माण भएका ईंटाबाट निर्मित ५५ किमि लामो ढल प्रणाली एकिकृत रुपमा खेरपानी र वर्षेपानी संकलन र ढुवानीको लागि प्रयोग हुन्थ्यो। (Nyachhyon, 2006 cited in Shukla et al., 2012) । यसरी झण्डै सय वर्ष अघि विकास भएको फोहरपानी व्यवस्थापनको आधुनिक प्रविधि र अवधारणा वर्तमान् सम्म आइपुग्दा सिमेन्टका ठूल्ठूला ह्यूमपाइप र अत्याधुनिक फोहरपानी प्रशोधन केन्द्रमा विकास एवम् परिमार्जन भएको पाइन्छ । यद्यपी पछिल्लो चरणमा आएर विश्वव्यापी रुपमै फोहर व्यवस्थापनको दिगो अभ्यासको रुपमा पुनःप्रयोगलाई जोड दिन थालिएको छ ।


नेपाल तिव्र र अव्यवस्थित शहरीकरणबाट गुज्रिरहेको छ । केन्द्रिय तथ्यांक—२०१६ अनुसार सन् २०१५ सम्ममा घोषित नगरपालिकाहरुको जनसंख्या ४२.५ प्रतिशत छ । यसरी आजको अवस्थामा नेपालका झण्डै आधा जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्दछन् र नेपालमा सन् २००० पछि शहरी जनसंख्यामा व्यापक वृद्धि भएको पाइन्छ । यसरी अनियन्त्रित एवम् अव्यवस्थित रुपमा भइरहेको शहरीकरणको कारण नेपालमा फोहरमैला, फोहरपानी र दिसाजन्य लेदोको व्यवस्थापन दिनानुदिन विकराल र जटिल बन्दैछ ।

नेपालमा फोहरपानीको मुख्य स्रोत घरधुरी नै हो। केयुकेएलले २०१३ मा गरेको अध्ययनबाट झण्डै ९३ प्रतिशत फोहरपानीको घरधुरी हो भने मात्र ७ प्रतिशत फोहरपानी औद्योगिक क्षेत्रबाट
उत्पादन हुने गरेको छ । केन्द्रीय तथ्यांक ब्यूरो — २०१२ अनुसार नेपालमा ७० प्रतिशत फोहरपानी विशेष गरी दिसाजन्य लेदो स्थानीयस्तर वा उत्पादनक्षेत्रमै व्यवस्थापन गरिएको पाइन्छ भने ३० प्रतिशत फोहरपानी ढल निकास मार्फत् संकलन हुने गरिएको छ र यसरी संकलित सम्पूर्ण फोहरपानी शहरीक्षेत्रबाट उत्पादन भइरहेको छ ।

विद्यमान् जनसंख्या (२ करोड ८३ लाख) र प्रतिव्यक्ति १०० लिटर प्रतिदिन पानी उपभोगको आधारमा नेपालमा झण्डै ८६७ MLD फोहरपानी उत्पादन हुने देखिन्छ । अर्कोतिर नेपालका विभिन्न स्थानमा झण्डै २५ को संख्यामा विविध प्रविधियुक्त फोहरपानी प्रशोधन केन्द्रहरु निर्माण एवम् संचालन भएका छन्। तल प्रस्तुत रेखाचित्रले यसरी उत्पादित फोहरपानीको व्यवस्थापन कसरी भइरहेको छ भन्ने कुरालाई प्रष्ट्याउँदछ ।

चित्रः नेपालको फोहरपानी उत्पादन र प्रशोधनको विद्यमान अवस्था

भक्तपुरको हनुमानघाट स्थित फोहरपानी प्रशोधन केन्द्रको निर्माण मार्फत् सन् १९७५ मा नेपालमा पहिलोपल्ट आधुनिक प्रकारको फोहरपानी प्रशोधन प्रविधि भित्र्याइएको थियो।

त्यसपछि सन् १९८० मा ललितपुरको कोद्कु र धोबीघाट र भक्तपुरको सल्लाघारीमा अर्को फोहरपानी प्रशोधन केन्द्रको स्थापना गरिएको थियो। यसैगरी धार्मिक आस्था र सभ्यताको केन्द्र पवित्रतम् नदी बागमतीको स्वच्छता जोगाउन निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त गुह्यश्वरी फोहरपानी प्रशोधन केन्द्रको निर्माण भई सन् २००१ बाट संचालनमा आएको छ । यस बाहेक सन् १९९७ मा एन्फोले धुलिखेल हस्पिटलमा स्थापना गरेको वातावरणमैत्री विकेन्द्रीत फोहरपानी प्रशोधन केन्द्र देशका विभिन्न स्थानहरुमा निर्माण भएको छ । तर विडम्बनाबशः यसरी निर्माण भएका प्रशोधन केन्द्रहरुमा गुह्यश्वरी प्रशोधन केन्द्र मात्रै संचालनमा रहेको छ । त्यसैगरी घरेलु, संस्थागत र समुदायस्तरमा गरी हालसम्म ७० भन्दा बढीको संख्यामा निर्माण भएको विकेन्द्रीत फोहरपानी प्रशोधन केन्द्रको ५० प्रतिशत प्रणाली पूर्णतः संचालनमा रहेका छन् भने २३ प्रतिशत भन्दा बढी आंशिक रुपमा चलिरहेको छ ।

नेपालका ठूलास्तरका फोहरपानी प्रशोधन केन्द्रहरु

अहिले काठमाडौं उपत्यका फोहरपानी व्यवस्थापन परियोजना अन्तर्गत विद्यमान् फोहरपानी प्रशोधन केन्द्रको पुननिर्माण एवम् थप प्रशोधन केन्द्रको निर्माण समेत गर्ने योजना रहेको छ । यसबाहेक बागमती नदी जलाधार क्षेत्र सुधार आयोजना अन्तर्गत बागमती नदी र यसका शाखा नदीहरुको छेउमा विकेन्द्रीत फोहरपानी प्रशोधन केन्द्र निर्माणको लागि संभाव्यता अध्ययन कार्य भइरहेको छ ।

• राजेन्द्र श्रेष्ठ
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन ‘अञ्जुली’बाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार