शहरी कृषि : फोहोरमैला व्यवस्थापनको एक उचित विकल्प

नेपाल कृषि प्रधान देश भइकन पनि विभिन्न खाद्यान्न र तरकारीका लागि बाह्य देशहरुको उत्पादनमा भर पर्नुपर्ने रहेको छ । अव्यवस्थित शहरीकरण, बढ्दो जनसंख्या र खेतीयोग्य जमिनको कमिका कारण शहरवासीहरु खाद्यान्न र तरकारीको लागि छिमेकी जिल्लामा निर्भर हुन बाध्य छन्। बढ्दो वातावरणीय प्रदूषण र फोहोरमैला व्यवस्थापन पनि अहिले सबै शहरको मुख्य चुनौतीको विषय बनेको छ । बासी र विषाक्त तरकारीको सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै महँगीका कारण आर्थिक भार पनि खेप्न बाध्य भएका छन् शहरबासीहरु ।

यिनै र यस्तै कृषि सम्बन्धी समस्याहरुको समाधानको जमर्को गर्दै सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकामा सन् २०११ देखि २०१६ सम्म वेस्ट र रुवाफ फाउण्डेसन (WASTE, RUAF Foundation) को आर्थिक सहयोगमा एन्फोले खानेपानी, सरसफाइ र फोहोरमैला व्यवस्थापनसँगै शहरी कृषि सम्बन्धी कार्यक्रम संचालन गरेको थियो। घरबाट निस्कने जैविक फोहोरलाई कम्पोष्ट मल बनाई कौसी खेतीमा प्रयोग गर्न विभिन्न तालिम तथा अभियान संचालन गरेको थियो।

परिवारलाई आवश्यक तरकारी आफ्नै घरमा फलाई पैसाको वचत गर्नुका साथै ताजा र विषादी रहित तरकारीहरु समेत खान पाउनु भन्दा राम्रो अरु के होला र ?ढ विरेन्द्रनगर – ६, प्रगतीनगर टोल निवासी रत्ना गिरि, कार्यक्रमबाटै सिकेर मौसम अनुसार ६ जनाको परिवारलाई पुग्ने तरकारी उत्पादन गरी थप रु. १००० देखि १५०० सम्मको बेच्दै पनि आएको बताउँछिन्। खेतीयोग्य जमिन नभए पनि सोच र जाँगर छ भने घरमा भएको पुरानो प्लाष्टिकको बोतल र बाल्टिनको सही प्रयोग गरी तरकारीखेतीबाट पनि आयआर्जन गर्नसकिने र यसले वातावरणमैत्री नगर बनाउनमा टेवा मिल्ने रत्ना गिरि बताउँछिन्।

हाल विशेष गरी विरेन्द्रनगर वडा नं. ६ को बजार क्षेत्रको प्रगतीनगर टोल, मंगलगढी टोल, भगवती टोल, वडा नं. १६ को एकतानगर टोल र वडा नं. १८ को पञ्चज्वाला टोलमा तरकारी खेती प्रभावकारी रुपमा भइरहेको छ । घरबाट निस्कने कुहिने र नकुहिने फोहरका साथै खैरो पानी (नुहाएको, लुगा धोएको, भान्छाको र अन्य साधारण सरसफाइ पछिको फोहर पानी) लाई कौसीखेती र करेसावारीमा प्रयोग गरी घरको फोहोर घरमै व्यवस्थापन गर्न सकिने हुँदा नगरको सबै घरधुरीहरुमा त्यस किसिमको शहरी कृषि कार्यक्रम संचालन गर्नमा एन्फोले थप सहयोग गरिदिनु पर्ने सबैको माग पनि रहेको छ ।

खिम प्रसाद शर्मा, सुर्खेत/वातावरण र जनस्वास्थ्य संस्था एन्फोको प्रकाशन अञ्जुलीबाट साभार


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार