झापा : मेचीनगर नगरपालिकाले स्थानीयको असहमतिलाई बेवास्ता गर्दै फोहोर व्यवस्थापन र मल उत्पादनका लागि ल्यान्डफिल साइट निर्माण तयारी थालेको छ । यहाँ दैनिक १ हजार ५ सय टन फोहोर जम्मा हुने अनुमान गरेको छ ।
नगरपालिकाले बनाउन लागेको बायो ल्यान्डफिल साइट मेचीनगर ३ र बुद्धशान्ति गाउँपालिका ५ को सीमा क्षेत्रमा पर्छ । यी दुई वडाको बीचबाट निन्दा खोला बग्छ । वातावरणीय दृष्टिले पनि यो ठाउँ फोहोर बिसर्जनका लागि अनुपयुक्त देखिन्छ । निन्दा खोलाको बगर आसपास स्थानीय आदर्श माध्यमिक विद्यालयको करिब ६ बिघा जमिन छ ।
जमिन स्थानीयले ठेक्कामा जोतभोग गर्दै आएका थिए । ३ विघा जमिन नगरलाई ल्यान्डफिल साइटका लागि लिजमा दिने निर्णय भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन पोख्रेलले बताए । उनका अनुसार विद्यालयको जमिन भोग गर्दै आएका स्थानीयले ठेक्का रकम बुझाएका छैनन् । स्थानीय केदार गिरी, सुनिलाल मेचे, अर्जुन सुब्बालगायतले विद्यालयको जमिन भोग गर्दै आएको पोख्रेलले जनाए । विद्यालयले जमिनको धनीपुर्जा २०३५ सालमै प्राप्त गरेको थियो ।
नगरपालिकाले सुरुमा ल्यान्डफिल साइट निर्माण गर्ने भनेको थियो । तर अहिले शीर्षक परिवर्तन गरेर ‘बायो ग्यास प्लान्ट’ बनाइएको हो । ल्यान्डफिलका लागि अघिल्लो वर्ष सरकारबाट ३ करोड रुपैयाँ आएको थियो । करिब १३ करोड रुपैयाँको लागतमा बन्ने ल्यान्डफिल साइटमा विश्व बैंकले केही रकम अनुदान उपलब्ध गराउने जनाइएको छ । नगरले २०७६ चैत ५ गते ल्यान्डफिल साइट बनाउने भनी सूचना प्रकाशित गरेको थियो । सरोकारवालालाई थाहै नदिई गत वर्ष असारमा ठेक्का सम्झौता भएको थियो ।
निर्माण व्यवसायी नयन बरालको शान्ति–उद्देश्य जेभी निर्माण कम्पनीले २ करोड ७४ लाख रुपैयाँमा ठेक्का पाएको थियो तर स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेन । निर्माण कम्पनीले मोबिलाइजेसन भनेर ५० लाख रुपैयाँ पेस्की लगिसकेको योजना शाखाका एक कर्मचारीले बताए । नगर प्रमुख विमल आचार्यले नगर र नगरबाहिरको फोहोर व्यवस्थापनसँगै मल उत्पादनको लक्ष्य राखेर बायो ग्यास प्लान्ट निर्माण गर्न लागिएको भए पनि स्थानीयको अवरोधका कारण काम अघि नबढेको जनाए ।
स्थानीय पुष्पलाल नेपालले नगरपालिकाले सरोकारवालाहरूलाई जानकारी नै नदिई काम सुरु गर्न लागेको बताए । ल्यान्डफिल साइटदेखि करिब २ सय मिटर नजिकै गाउँ छ । ‘खेती सबै बगरमा छ । जमिनमुनिको पानीमा भर पर्नुपर्छ । घरमा वृद्ध आमाबुबा र नानीहरू छन्,’ अर्का किसान चुनीलाल मेचेले भने, ‘खेती गरेरै परिवार पाल्छौं । हाम्रो वरपर नै प्रदूषण भयो भने कसरी बस्न सक्ने ?’ निन्दा खोला पारि बुद्धशान्ति ५ का स्थानीय दीपक चौधरीले नगरपालिकाले स्थानीयको स्वास्थ्यमाथि नै खेलवाड गर्न खोजेको आरोप लगाए । साभार : पर्वत पोर्तेल/कान्तिपुर दैनिक