काठमाडौ : काठमाडौ महानगरपालिकाले सिसडोल ल्याण्डफिल्ड साईट जाने बाटोमा पहिरो गएको कारण देखाउँदै काठमाडौको फोहोर नउठाउँदा करिब १६ हजार टन फोहोर सडक तथा घरमै थुप्रिएको छ । काठमाडौ महानगरपालिकाले काठमाडौको फोहोर उठाउन छाडेको १५ दिन भईसकेको छ । फोहोर व्यवस्थापनको काम रोकिंदा करीब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको काठमाडौं महानगरपालिकाको वातावरण विभागको अनुमान छ ।
झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले यस अघि नै शहरवासीलाई फोहोर बाहिर ननिकाल्न सार्वजनिक रुपमा आव्हान गरिसकेको छ । फोहोरका कारण घरभित्रै दुर्गन्ध सहनुपर्ने बाध्यता सिर्जना भएको छ । घरधनीलाई भन्दा बढी डेरामा बसेकाहरुलाई समस्या परिरहेको छ । दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले राती चोक, सडक र नदी किनारमा फालिदिने गरेका छन् ।
काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको थियो । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिका सहित आसपासका नगरबाट ५३७ टन फोहोर उत्सर्जन हुँदै आएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षाका कारण सिसडोल सडकखण्डमा पहिरो गएका कारण पनि फोहोर व्यवस्थापन गर्न नसकेको बताउनुभयो । ‘फोहोर बोकेका गाडीहरु सिसडोल जानसक्ने स्थिति रहेन, पहिरो त पन्छाइसकेका छौं । र पनि गाडीहरु जान सक्ने अवस्था छैन । कहिले गाडी चल्छ र फोहोर उठ्छ, यसै भन्न सकिन्न ।’मेयर शाक्यले भन्नुभयो ।
कहाँ कति फोहोर उत्सर्जन ?
ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक छ ।
चन्द्रागिरि, महालक्ष्मी र मध्यपुरथिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।
शंकरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाका महानगरपालिका र नगरपालिका बाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा आउने गरेको छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम अवरुद्ध भएको छ ।