काठमाडौ उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिदै

काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा सिसडोलको दिगो विकल्प भएको बताएपछि सहरी विकास मन्त्रालयले सिसडोलदेखि २ किलोमिटर दूरीको निर्माणाधीन सेनेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्न लागेको हो । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले आइतबारबाट बन्चरेडाँडामा फोहोर फाल्न मिल्ने गरी तयारी थालिएको बताउनुभयो । ‘आइतबारसम्म फोहोर फाल्न मिल्ने गरी पहिलो सेल तयार हुन्छ,’ उहाँले भन्नुभयो । वर्षायाममा सिसडोलको सडक पार गर्न अप्ठ्यारो हुने उहाँको भनाइ छ । तर महानगरले कसरी फोहोर पुर्‍याउँछ भन्ने आफूलाई एकिन नभएको उहाँले बताउनुभयो ।

मन्त्रालयले आइतबारदेखि बन्चरेडाँडामा फोहोर फाल्ने तयारी थाले पनि त्यसको भौतिक पूर्वाधारको काम अझै सकिएको छैन । मन्त्रालयले तयारी थालेको बताए पनि काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बन्चरेडाँडामा फोहोर फालिने विषयमा जानकारी नरहेको बताउनुभयो । फोहोर फाल्न दिइएको खण्डमा महानगरले फोहोर संकलन गरेर बन्चरेमा विसर्जन गर्ने उहाँले बताउनुभयो ।

सरकारले २०६२/६३ मा सिसडोलको विकल्पमा बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढाएको हो । अब साइट वरपरको सडक पिच गर्ने, आधाजसो ड्याम बाँध्ने, फोहोर प्रशोधन सेन्टर बनाउने, कर्मचारी बस्ने घर लगायतको बाँकी काम सक्न ६ महिना लाग्ने उपमहानिर्देशक घिमिरेले बताउनुभयो । यसैबीच, काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न एक साता लाग्ने जनाएको छ । ‘टेकु ट्रान्सफर स्टेसनदेखि सडक र घरघरमा एक महिनादेखि थुप्रिएको फोहोर सिसडोल पुर्‍याउन एक साता लाग्छ,’ महानगर वातावरण विभाग प्रमुख श्रेष्ठले भन्नुभयो ‘सडकका फोहोर उठाएर सकिएपछि मात्र अन्य फोहोर सिसडोल लगिन्छ ।’

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार