काठमाडौं : सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साईट फोहोर व्यवस्थापनका लागि तयार भईसकेको बताएपनि स्थानीय बासिन्दाले फोहोर व्यवस्थापन गर्न नदिने भएको छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी संरचना तयार भई नसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरू एकजुट हुने स्थानीय सनत उप्रेतीले बताउनुभयो ।
उहाँले सरकार र त्यहाँका स्थानीयहरूबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरूको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनीकरण गर्नुपर्ने लगायतका माग पूरा नहुन्जेल बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताउनुभयो ।
हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौं, वरिपरि ५ सयदेखि ७ सय वटा घरहरू छन्। त्यसको व्यवस्थापन गरिनुपर्छ, यहाँ अधिकार सम्पन्न समिति बन्नुपर्यो, यो समिति बने यहाँका जनताले सरकारले वारि र पारिका जनतालाई दिइरहेको ३र३ करोड पैसाले यहाँको जनताले प्रत्यक्ष रूपमा विकास निर्माणमा अनुभूति गर्न पाउँथे, त्यो पाएको अवस्था छैन, त्यो अनुभूति गर्न र समग्र मुद्दा हल गर्न अधिकार सम्पन्न समिति नै एकमात्र विकल्प हो उप्रेतीले भन्नुभयो ।
जसरी सिसडोलमा अहिले मानिसहरूको बालीनाली बिग्रिएको छ, पानीमा पस्दा रोग लागेर ज्यान गएको समेत कुरा छ, त्यो हुनु भएन,यदि सरकारले हेलचेक्र्याइँ गर्छ र सिसडोलकै जस्तो सम्झिन्छ भने हामी त्यसको प्रतिवाद गर्छौं’ उहाँले भन्नुभयो ।
सरकारले अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा काठमाडौंको फाहोर व्यवस्थापन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्याण्डफिल साईट बनाएको हो ।
तर, आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहले विरोध गरिरहेका छन् । आफूहरुसँग भएका ५ बुँदे सहमति लागू नभएसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयले चेतावनी दिएका छन् ।