काठमाडौ : स्कटल्याण्डको ग्लास्गोमा हालै सम्पन्न कोप २६ सम्मेलनमा सहभागी झण्डै २ सय राष्ट्रहरू जलवायु संकट रोक्न सहमत भएका छन् । सम्मेलनमा सहभागी राष्ट्रहरूले जलवायु परिवर्तनको असर रोक्न हरित गृह ग्यास उत्सर्जनको मुख्य स्रोत कोइलाको प्रयोग घटाउने विषय उल्लेख गरिएको छ । कोइलाको प्रयोग घटाउने सम्बन्धी यो पहिलो सहमति हो ।
हरित गृह ग्याँसको उत्सर्जन कोइला, खनिज इन्धनको अत्यधिक प्रयोग र औद्योगिक प्रतिस्पर्धा जस्ता कारणले धेरै हुने भएपनि तपाई हाम्रा आनीबानीका कारण पनि जलवायु परिवर्तनलाई बढावा दिन मद्दत पुगिरहेको हुन्छ ।
उसो भए जलवायु परिवर्तन गराउन सरसफाइको भूमिका कस्तो हुन्छ त ? काठमाडौ विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका उप प्राध्यापक डा. अनिश घिमिरे भन्नुहुन्छ ‘जलवायु परिवर्तन गराउन सरसफाइ क्षेत्रको भूमिका कम भएपनि जलवायु परिवर्तनको असर अरु क्षेत्रको तुलनामा सरसफाइ क्षेत्रमा अझ बढी देख्न देखिन्छ ।’
जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अनावृष्टि जस्ता कारणले त्यसको सीधा असर सरसफाइमा पर्न जाने उहाँको भनाइ छ । उहाँका अनुसार सरसफाइ सहित फोहोरमैलाको क्षेत्रबाट उत्सर्जन हुने हरितगृह ग्याँस उत्सर्जनको मात्रा पुग नपुग ३ प्रतिशत छ । यदि सरसफाइ वा फोहोर पानीको मात्र उत्सर्जन हेर्ने हो भने २ प्रतिशत भन्दा पनि कम आउँछ । त्यसमा प्रशोधन गर्न प्रयोग हुने उर्जाले गर्दा हरित गृह ग्यास उत्सर्जन गर्ने हुँदा फोहोरमैलाबाट हुने प्रत्यक्ष हरितगृह ग्याँसको उत्सर्जन अति नै कम छ । तर जलवायु परिवर्तनको असर भने सरसफाइमा अत्याधिक देखिन्छ ।
जलवायु परिवर्तनको दृष्टिले ढल रहित कि ढल सहितको प्रणाली उत्तम ?
ढल रहित सरसफाइ प्रणालीमा एनारोबिक सिस्टम हुन्छ । त्यहाँबाट केही मात्रामा मिथेन ग्यासको उत्सर्जन हुन्छ । त्यसपछि ढुवानी गर्ने क्रममा पनि ग्यासको उत्सर्जन हुन्छ । ढुवानीम एक किसिमले पेट्रोलियम पदार्थको प्रयोग हुन्छ । त्यसपछि प्रशोधन केन्द्रमा प्रशोधन गर्छौ, त्यहाँ पनि मिथेन ग्याँस उत्सर्जन हुन्छ । त्यहाँबाट थोरै भएपनि मिथेन संकलन गरेर प्रयोग गर्छौ भने उत्सर्जनलाई कम गरिरहेका हुन्छौं ।
सरसफाइ क्षेत्रमा हरित गृह ग्याँस उत्सर्जन कत्तिको भईरहेको छ भन्ने कुरा कस्तो खालको प्रविधि अपनाईरहेका छौं भन्ने कुरामा निर्भर हुने उप प्राध्यापक घिमिरे बताउनुहुन्छ । सप्लाई चेनमा पनि विभिन्न खालको प्रविधि हुने भएकाले हरित गृह ग्याँसको उत्सर्जनमा यसले पनि बढावा दिने उहाँको भनाई छ । सरसफाइ र जलवायु परिवर्तन बीचको सम्बन्ध कस्तो हुन्छ ? सरसफाइमा अपनाईने प्रविधि जलवायु परिवर्तन गराउन कति जिम्मेवार छ ? अनि हरित गृह ग्याँसको उत्सर्जनमा कमी ल्याउन कस्तो सरसफाइ प्रणाली हुन आवश्यक छ ? हामीले यिनै बिषयमा काठमाडौ विश्वविद्यालयको वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका उप प्राध्यापक डा. अनिश घिमिरे सँग भिडियो सम्वाद गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :