काठमाडौं : फोहोरपानी वा ढल प्रशोधन केन्द्र निर्माण गर्दा वरपर दुर्गन्ध फैलिएर बस्नै सकिदैन भन्ने आम बुझाई छ । तर गुहेश्वरीमा निर्माण भएको प्रशोधन केन्द्रले यो धारणालाई गलत साबित मात्र गराएको छैन कि फोहोरपानी प्रशोधन केन्दको आकर्षक भौतिक पूर्वाधारले वरपरको शोभा बढ्ने र थप रोजगारी सिर्जना गर्ने समेत प्रमाणित गरेको छ ।
गुहेश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रमा बनेका भौतिक संरचना, फोहोरपानी प्रशोधनका लागि जडित यन्त्र र अत्याधुनिक प्रविधिको प्रयोगले यही तथ्य पुष्टि गरेको छ ।
प्रशोधन केन्द्र रहेको गुहेश्वरी भन्दा माथि तिरका बस्तीहरु चावहिल, बौद्ध, जोरपाटी लगायतका ठाउँमा बसोबास गर्ने ३ लाख जनसंख्याको मानव मलमूत्रलाई प्रशोधन गर्ने गरी यो फोहोरपानी प्रशोधन केन्द्र बनाइएको हो । दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने क्षमता रहेको यस प्रशोधन केन्द्रमा अहिले २ करोड लिटर जत्ति पानी प्रशोधन हुँदै आएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रोजेक्ट म्यानेजर चन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
ढलको माध्यमबाट बग्दै आएको मानव मलमूत्रलाई प्रशोधन गरी कसरी सफा बनाएर वाग्मती पठाईन्छ ? आज हामी फोहोरपानी प्रशोधन केन्द्रको सुरुको भाग अर्थात ‘कोर्स स्क्रीन’ देखि वाग्मती नदीमा पानी विसर्जन हुँदा सम्मको चरण देखाउँदैछौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो
यसरी सुरुमा ढल मार्फत बग्दै आएको कालो पानी अर्थात दिसा मिसिएको पानी विभिन्न चरणमा प्रशोधन हुन्छ । सुरुमा बिओडीको मात्रा २५० पिपीएम् भन्दा बढी भएपनि प्रशोधन पछि विओडीको मात्रा १० पिपीएम भन्दा तल ल्याएपछि सोडिएम हाईड्रोक्लोराईड मिसाएर मात्र वाग्मतीमा पठाईन्छ ।
आयोजना कार्यान्वयन निर्देशनालय, पीआईडीका इन्जिनियर प्रभात केसीका अनुसार अहिले दैनिक डेढ करोड लिटर अर्थात प्रति घण्टा ६५० घनमिटर पानी प्रशोधन गरेर वाग्मतीमा पठाईरहेको छ ।
…………………………………………………………….
फोहोर पानीलाई त हानिकारक रसायन हटाएपछि आँखाले हेर्दा सङ्लो बनाएर वाग्मतीमा पठाईन्छ । फोहोरपानीमा भएको ठोस पदार्थ चाहिं कहाँ जम्मा हुन्छ त ? अनि त्यसबाट कसरी ग्यास र विजुली निकालिन्छ ? यसबारे थाहा पाउन अर्को भिडियो पनि हेर्न नभुल्नुहोला ।