काठमाडौ : कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापनको कामले उद्योगी र कर्मचारी एवं सामाजिक रुपमा विभिन्न सकारात्मक परिणाम आउने एक अध्ययनले देखाएको छ । ठूलो संख्यामा महिलाहरु कार्यरत रहेका उद्योग एवं कलकारखानामा महिनावारी स्वच्छता व्यवस्थापन हुँदा महिलाहरुलाई काम गर्ने उपयुक्त वातावरण बन्ने, मानसिक तनाव व्यहोर्नु नपर्ने र यसले गर्दा काममा नियमित उपस्थिति हुने हुँदा यसको सकारात्मक प्रभाव स्वयं कर्मचारी र उद्योगको प्रतिफलमा देखिने अध्ययनको निष्कर्ष छ ।
युएसएआईडी (USAID) को सहयोगमा आईरिस ग्रुपले गरेको ग्लोवल रिसर्च प्रोजेक्ट अन्तर्गत नेपालको जोरपाटी स्थित सांग्रीला कार्पेट उद्योग र मिल्हा कस्टम रग्स्मा गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै आईरिस ग्रुपका डा. अञ्जना डंगोलले महिनावारी स्वच्छता व्यवस्थापनको कामले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने, मानसिक तनाव कम गर्ने, काम गर्न सहज हुने, आयआर्जन गर्ने क्षमता बढ्ने र थप अवसरहरु सिर्जना गर्ने देखाएको बताउनुभयो ।
५० महिला र ८० पुरुष कार्यरत रहेको सांग्रीला कार्पेट उद्योग र ४० महिला र २८ पुरुष रहेको मिल्हा कस्टम रग्स्मा १ बर्षभन्दा लामो समय लगाएर अध्ययन गरिएको थियो । अध्ययनको क्रममा उत्पादन र पूर्वाधार, कार्यस्थलमा नीति निर्देशिका र शिक्षा एवं व्यवहार परिवर्तन जस्ता पक्षमा वर्गीकरण गरी विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको थियो ।
अध्ययनकै क्रममा महिनावारीका लागि चाहिने उत्पादनहरु, महिलामैत्री शौचालय निर्माण, शौचालयको स्वच्छता एवं महिनावारीको समयमा चाहिं सामग्रीहरुको उत्पादन बारे कर्मचारी एवं उद्योग सञ्चालकलाई शिक्षा दिईएको थियो ।
यस्तै महिनावारी स्वच्छताको लागि आन्तरिक निर्देशिका बनाउनका लागि सिफारिस गरिएका, महिनावारी स्वचछता सल्लाहकार समिति गठन एवं त्यसका लागि प्रविधिक सहयोग गरिएको थियो भने शिक्षा र व्यवहार परिवर्तनको सवालमा हरेक कर्मचारीलाई महिनावारी शिक्षा र चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त क्रियाकलापहरुमा पुरुषहरुलाई समेत समावेश गरिएको थियो भने व्यवहार परिवर्तन सम्बन्धी सामग्री पनि वितरण गरिएको थियो ।
यी सम्पूर्ण क्रियाकलापबाट महिनावारीको समयमा हुने प्रति महिलाको अनुपस्थिति दर २३ घण्टा घटाउन सकेको र त्यसको सिधा प्रतिफल आम्दानीमा जोडिएको अध्ययनको निष्कर्ष छ । यस्तै महिनावारी भएको समयमा हुने प्रति महिला ८८५ रुपैयाँ समेत घटाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनको निष्कर्ष पछिको समूहगत छलफलमा भाग लिदै राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले हालसम्म सञ्जालको ध्यान समुदाय एवं स्कुलमा मात्र बढी केन्द्रित भईरहेको बेला यो निष्कर्षले कार्यस्थलमा समेत महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने रहेछ भन्ने बोध भएको बताउनुभयो ।
उक्त छलफलमा सांग्रीला कार्पेट उद्योगका सञ्चालक दोर्जीले अध्ययनकै क्रममा यो निक्कै सहभागितामूलक एवं अन्तरक्रियात्मक रहेको र महिलाहरुलाई स्यानिटरी प्याडको प्रयोग एवं व्यवस्थापन गर्ने तरिकाबारे समेत पैरवी गरेको बताउनुभयो । यसबाट समग्रमा आफ्नो उद्योगलाई ठूलो फाइदा पुगेको र आउँदो दिनमा यसको योगदान आफूमा मात्र सीमित नरही राज्यले नै फाइदा लिन सक्ने बताउनुभयो ।
कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापन हुँदा त्यहाँ कार्यरत कर्मचारीले मात्र नभई त्यसको प्रतिफल उद्योगले पाएको र उद्योगले पाउनु भनेको राज्यले नै पाएको उहाँको धारणा थियो । उद्योगको उत्पादन बढेर बढी आम्दानी हासिल गर्न सक्दा राज्यलाई बढी कर बुझाउने भएकाले यसको प्रतिफल सबै तिर बाँडिने र सबै उद्योग एवं कलकारखानामा महिलाहरुको लागि महिलामैत्री शौचालय, काम गर्ने शीलशीलामा महिनावारी हुँदा प्याडको सहज उपलब्ध र सुरक्षित प्याड व्यवस्थापन हुने वातावरण हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले अध्ययनबाट प्राप्त निष्कर्षलाई सरकारको योजनाहरुमा ढाल्ने काम गरिने र यसका लागि बेला बेलामा सरकारलाई झक्झक्याईरहनुपर्ने बताउनुभयो । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. उषा झा ले कुनै समय महिनावारीको कुरा गर्दा समाजले ‘उत्ताउली’ भन्ने गरेको स्मरण गर्दै यो प्रकारको वहस, छलफल र अध्ययन हुनु खुसीको बिषय भएको बताउनुभयो । उहाँले महिनावारी हुनु प्राकृतिक र स्वस्थ महिलाको परिचायक भएको बताउनुभयो ।
महिनावारी स्वच्छता व्यवस्थापनको कुरालाई घर घर, स्कुल एवं जहाँ महिलाहरु कार्यरत हुन्छन् त्यहाँ सम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।