काठमाडौ : जन्मदेखि मृत्युसम्म हामी कुनै न कुनै समयमा अस्पताल पुगेकै हुन्छौं। आफ्नो जीवनकालमा स्वास्थ्य सेवाको उपयोग नगर्ने को नै हुन्छ ररु स्वास्थ्य हेरचाह गतिविधिको क्रममा अस्पतालहरुले निकै महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्वास्थ्य जीवनको संरक्षण मात्र नभई जीवन बचाउने काममा अग्रस्थानमा रहेका अस्पतालहरुको कुनै विकल्प नै छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ६ हजार ९ सय ३४ वटा स्वास्थ्य संस्थाहरु छन्। ति अस्पतालहरुबाट दैनिक कति फोहोर निस्कन्छन् र व्यवस्थापन कसरी हुन्छन् भन्ने प्रश्न उठ्ने गर्छ।
स्वास्थ्य संस्थाबाट निस्किएका खतरनाक रसायनिक पदार्थहरु जमिनको सतहमा मिसियो भने माटोको उत्पादकत्व घट्ने र पिउने पानीको स्रोत दूषित हुने तथा ल्याण्डफिल साईट आसपास क्षेत्रको वातावरणमा नकारात्मक असरहरु देखिने गरेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरे बताउँछन्। काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालबाट एकदिनमा करिब सय टन फोहोर निस्कने उनले बताए।
विगत २० वर्षदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्रको फोहोर व्यवस्थापनमा क्रियाशील रहेको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार कतिपय सरकारी अस्पतालहरुमा फोहोर संकलन गर्दा मानवजन्य अङ्ग, आलो रगत, सिरिञ्जहरु फेला पर्ने गरेको छ।
‘स्वास्थ्य संस्थाहरुले फोहोर थुपारेपछि, व्यवस्थापन गर्नेले जस्तोसुकै तरिकाले गरोस् भन्ने मनस्थितिले फोहोर थुपार्ने गरेको हामीले देखेका छौं,’ उनले भने, ‘अहिले ओखरपौवा ल्याण्डफिल साईटमा फोहोरको पहाड बनाउने काम भईरहेको छ, त्यहाँको लिच्चेड कोल्फु खोलामा बगेर जान्छ। यदि त्यो खोलाको पानी कुनै जनावरले पिएमा बाच्दैन र यदि मानिसको खुट्टा वा हात त्यो पानीमा पर्यो भने हातखुट्टा नै पाक्छ। सामान्य फोहोरले निम्त्याएको असर त यस्तो छ भने, चिकित्साजन्य फोहोरको जोखिम झन् बढी छ।’
अस्पतालजन्य फोहोरको व्यवस्थापन दयनीय
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य हेरचाहका गतिविधिका क्रममा उत्पन्न हुने कुल फोहोरको, ८५ प्रतिशत फोहोर घरेलु फोहोरको तुलनामा गैर–खतरनाक फोहोरको रुपमा वर्गीकरण गरेको छ। बाँकी १५ प्रतिशत सामग्रीलाई भने खतरनाक फोहोरको रुपमा वर्गिकरण गरेको छ। जुन, संक्रामक, रासायनिक वा रेडियोधर्मी पनि हुन सक्छ। स्वास्थ्यजन्य फोहोरमा सम्भावित हानिकारक सूक्ष्मजीवहरू हुन्छन्। जसले अस्पतालका बिरामी, स्वास्थ्यकमी र सर्वसाधारणलाई पनि संक्रमित तुल्याउन सक्छ। यस्ता सूक्ष्मजीवहरू स्वास्थ्य संस्थाबाट सिधै वातावरणमा पनि फैलिन सक्छन्।
यस किसिमको लापरबाही भएमा अस्पतालदेखि ल्यान्डफिल साईटसम्म फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरु उपचारका क्रममा प्रयोग भएको विषाक्त वा संक्रामक धारिलो सामग्रीको उच्च जोखिममा पर्ने गर्दछन्। साथै श्वासप्रश्वास सम्बन्धी समस्या, एचआईभि एड्स र हेपटाईटिस ‘बि’ लगायतका रोगबाट सफाईकर्मीहरु संक्रमित हुन सक्छन्।
विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार नेपालमा अस्पतालजन्य फोहोरको व्यवस्थापन निकै दयनीय अवस्थामा रहेको छ। संगठनले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालका ५ प्रतिशत स्वास्थ्य संस्थाले मात्र अस्पतालमै फोहोर वर्गीकरण गरि संकलन र व्यवस्थापन गरेका छन्। फोहोरको प्रकृति अनुसार स्रोत मै वर्गीकरण गर्नु फोहोर व्यवस्थापनको प्रारम्भिक र अनिवार्य नियम हो। तर नेपालमा केही स्वास्थ्य संस्थाबाहेक बाँकीले यो नियमको पालना गरेको पाइँदैन।
नेपालमा पहिलो पटक अस्पतालजन्य फोहोरको व्यवस्थापन वि.सं. २०६८ सालमा विर अस्पतालबाट सुरु भएको थियो। अस्पतालका तत्कालिक निर्देशक प्रा.डा. बुलन्द थापाको नेतृत्वको टोलीले स्वास्थ्यजन्य फोहोरको वर्गीकरण, निर्मलीकरण तथा विसर्जन गर्ने कामको सुरुवात गरेको थियो। अस्पतालबाट उत्पादन भएको पुनःप्रयोग गर्न मिल्ने फोहोर बिक्री गरेर मासिक रुपमा ५० हजार रुपैयाँ आमदानी समेत गर्न सफल भएको थियो। तर हाल त्यो पनि बन्द भईसकेको अवस्था छ। हाल केही सरकारी अस्पतालहरुले मात्र स्वास्थ्यजन्य फोहोरको व्यवस्थापन गरीरहेको पाइएको छ।
निजी अस्पतालको फोहोर व्यवस्थापनमा अनुगमनकै अभाव
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहोरमैला व्यवस्थापन केन्द्रनै स्थापना गरी चिकित्साजन्य फोहोरको व्यवस्थापन गर्दै आएको छ। अस्पतालले नर्सिङ्ग ईन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहोरको व्यवस्थापन गर्दै आएको छ। अस्पतालले फोहोर संकलन गर्ने क्रममा नै वर्गीकरण गरी संकलन गर्ने गरेको छ। संकलन गरेको फोहोरलाई अस्पतालको फोहोरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोरलाई छुट्याई व्यवस्थापन गरिरहेको छ।
अस्पतालजन्य फोहोरहरु अस्पताल हाताभन्दा बाहिर पठाउनुभन्दा पहिले फोहोरको उचित उपचार गर्न जरुरी हुन्छ। यसका लागि केमिकल वा तापजन्य उपकरणको प्रयोग गरी फोहोरलाई निर्मलीकरण गर्न सकिन्छ। साईरेक्स, हाईपोक्लोराईड र क्लोरिन लगायतका रशायनहरुको प्रयोग गरेर खतराजन्य फोहोरलाई निसंक्रमण गरिन्छ भने संक्रमित फोहोरको उचित प्रबन्ध गर्न वैज्ञानिक तथा आधुनिक उपकरण मेडिकल अटोक्लेवबाट निर्मलीकरण गरिन्छ। त्यसबाहेक फोहोरलाई सुरक्षित रुपमा अस्थायी भण्डारण गरेर पनि अन्तिम व्यवस्थापन गर्ने गरिएको देवकोटाले बताइन्।
त्यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल लगायतले पनि पद्धतिगत रुपमा चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन गर्ने गरेको वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गाना बताउँछन्। तर निजी अस्पतालहरुले स्वास्थ्यजन्य फोहोर कसरी व्यवस्थापन गरिरहेको छन् भन्ने विषयमा सरकारले अनुगमन गरेको भने पाइँदैन।
शाखाका प्रमुख ढुङ्गानाका अनुसार हाल नेपालभरका ५५ वटा अस्पतालहरुमा फोहोर व्यवस्थापनको वस्तुस्थितिको बारेमा अध्ययन भईरहेको छ। ‘अध्ययन प्रतिवेदन आएपछि स्वास्थ्य संस्थाहरुमा फोहोर व्यवस्थापन गर्ने मापदण्ड बनाउने प्रक्रियामा हामी अगाडि बढ्ने छौं’, उनले भने।
पूर्वाधार नभएसम्म अस्पतालजन्य फोहोर व्यवस्थापन असम्भव
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्य जन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सो को सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहोरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिएको छ।
फोहोर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालजन्य फोहोर व्यवस्थापन निर्देशिका– २०७१ जारी गरे तापनि त्यस अनुरुप फोहोर व्यवस्थापनमा काम नभएको सम्बन्धित सरोकारवालाको भनाई छ। नागरिक स्तरमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना तथा अस्पतालहरुमा फोहोर व्यवस्थापनको लागि आवश्यक पूर्वाधारको व्यवस्थापन नभएसम्म चिकित्साजन्य फोहोरको व्यवस्थापन हुन नसक्ने विर अस्पतालका पूर्व निर्देशक प्रा.डा. बुलन्द थापाको भनाई रहेको छ।
अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभए वा सामान्य त्रुटिले समेत संक्रामक रोग फैलाउन सक्ने सम्भावना बढाउँछ। अझ विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मास्क, पन्जा र पीपीई लगायतका स्वास्थ्य सामग्रीको खपत बढेसँगै फोहोरमा यस्ता सामग्रीहरुको मात्रा पनि बढेको छ। जसका कारण रोगब्याधि फैलिने सम्भावना बढेको देखिएको छ।
सामान्य अवस्थामा पनि अस्पतालजन्य फोहोरको व्यवस्थापन जटिल प्रक्रिया हो। अझै संक्रमित फोहोरको व्यवस्थापन त झनै जटिल प्रक्रिया हो। यसको उचित व्यवस्थापन गर्न नसकेको अवस्थामा यसबाटै महामारी फैलिने सम्भावना अझै बढी गर्दछ। संक्रमण नियन्त्रणका लागि अस्पतालजन्य फोहोरको व्यवस्थापनमा सम्पूर्ण सरोकारवाल निकायले अत्यन्तै संवेदनशीलताका साथ काम गर्नुपर्ने देखिन्छ। यो खबर नागरिक दैनिकबाट साभार गरिएको हो ।