सहकारी म्यानेजरको ‘हाईड्रोपनिक हबि’ (भिडियो)

 2159 पटक हेरिएको

भक्तपुर : मध्यपुरथिमी नगरपालिकाको लोकन्थलीमा गत भदौमा कौसी खेती सम्बन्धी तालिम हुँदै थियो । मध्यपुर थिमी नगरपालिकाले तालिमका सहभागीहरु छनौटको जिम्मा महिला वचत तथा ऋण सहकारी संस्थाहरुलाई सुम्पेको थियो । तालिमको आयोजना गरेको थियो युएन ह्याबिट्याट, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), र मध्यपुर थिमी नगरपालिकाले ।

लोकन्थलीको दक्षिणकाली महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि केही सहभागीहरु छनौट गरेर तालिममा पठाउनुपर्ने थियो । संस्थाको प्रबन्धकको हैसियतले सहभागी छनौट गर्ने जिम्मा शान्ता मैनाली (चुडाल) को काँधमा आईपर्‍यो । त्यसो त विभिन्न सामाजिक क्रियाकलापहरुमा सहकारी संस्थाको तर्फबाट सहभागी पठाउनु पर्ने भएमा उहाँले नै संयोजनकारी भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

विगत लामो समयदेखि तालिम बिना नै कौसी खेती पनि गर्दै आउनुभएकी प्रबन्धक मैनालीले तालिममा साकोसका सदस्यहरु पठाउने मात्र नभई आफै पनि भाग लिने निर्णय लिनुभयो । भदौ २९ गतेदेखि ३१ गतेसम्म भएको तालिममा उहाँले पूरै समय बिताउनुभयो ।

कौसी खेती गर्ने, मल बनाउने, मल, माटो र अन्य पदार्थको मात्रा मिलाउने, गोडमेल गर्ने, भान्छाको फोहोरपानीलाई प्रयोग गर्ने तरिका आदिमा केन्द्रित रहेको तालिमको तेस्रो दिन उहाँले नसोचेको बिषयबारे जानकारी हासिल गर्नुभयो ।

तालिमको बिषय थियो ‘हाइड्रोपनिक प्रविधि’ मार्फत खेती । तालिममा प्रदर्शन गरिएको केही भिडियोहरु पत्याउन सकिने खालकै थिएनन् । उहाँको मनमा प्रश्न उठ्यो ‘यस्तो पनि हुन्छ र ?’

तालिममा यसबारे जानकारी मात्र गराएको होला भन्ने लागे पनि अन्त्यमा केहीले आफ्नै घरमा पनि ‘हाइड्रोपनिक प्रविधि’ बाट खेती गर्न सकिने बताएपछि उहाँले इच्छा जाहेर गर्दै सुरुमै हात उठाउनुभयो । अहिले उहाँले ‘हाइड्रोपनिक प्रविधि’ मार्फत तरकारी लगाउनुभएको छ । हेर्नुहोस्, १२ बर्ष देखि दक्षिणकाली महिला साकोसको प्रबन्धकमा कार्यरत शान्ता मैनाली (चुडाल) को हाईड्रोपोनिक खेतीको अनुभव :

युएन, ह्याबिट्याटको आर्थिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Green Roooftop Farming-Water for Life  Project भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालन गरिरहेको छ ।

शहरी समुदायले विगतदेखि नै कौसी खेती गर्दै आए पनि प्राविधिक ज्ञान र कौसी खेतीलाई बृद्धि गर्न प्रभावकारी र नयाँ प्रविधिहरुको अभाव देखिएकाले परियोजना सञ्चालन गरिएको एन्फोका सिनियर वास अफिसर सिर्जना शाक्यले बताउनुभयो । कौसी खेतीको माध्यमबाट खाद्य सुरक्षा, फोहोरमैला व्यवस्थापन तथा पानी संरक्षण गरी शहरी कृषिका नवीन तरिकाहरूलाई प्रबर्द्वन गर्ने उद्देश्यले सञ्चालित उक्त परियोजना मार्फत मध्यपुरथिमीका १०० भन्दा बढी घरधुरीले कौसी खेती गर्दै आएका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार