अस्पतालजन्य फोहोरबाट कोसी अस्पतालमा वायोग्यास उत्पादन

मोरङ : विराटनगर स्थित कोसी अस्पतालले अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन गर्न थालेको छ । अस्पतालको ५ लाख र ऊर्जा मन्त्रालयको ५ लाख रुपैयाँ लागत साझेदारीमा वायोग्यास प्लान्ट निर्माण गरिएको हो । अस्पतालबाट निस्किने फोहोरको व्यवस्थापन हुने र इन्धनमा हुने खर्च समेत जोगिने भएकाले अस्पतालले वायोग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरभित्र छुट्टै प्लान्ट निर्माण गरेर अहिले वायोग्यास उत्पादन सुरु गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले बताउनुभयो। अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारका फोहोर प्रशोधन गरेर वायोग्यास उत्पादन थालिएको उहाँको भनाइ छ ।

अस्पतालले निकालेको वायोग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी सुरु गरिएको उहाँले बताउनुभयो । ‘वायोग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही वायोग्यासको प्रयोगबाट गर्ने तयारी छ, त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट वायोग्यास बनाउन सुरु गरिएको हो,’ संयोजक सुवेदीले भन्नुभयो। अस्पतालको उत्तरपट्टिको खाली जमिनमा वायोग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ ।

छुट्टै घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले बताउनुभयो । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । वायोग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिइएको छैन,’ मेसु दासले भन्नुभयो ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी वायोग्यास उत्पादन सुरु गरेका छौँ ।’

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार