बिल गेट्स फाउन्डेसनका डाईरेक्टर श्रेष्ठको अपेक्षा ‘धाप बाँधले वाग्मतीलाई पुनर्जन्म दिन्छ’

 4152 पटक हेरिएको

काठमाडौ : बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका डेपुटी डाईरेक्टर डा. रोशनराज श्रेष्ठले शिवपुरी राष्ट्रिय निकुञ्जभित्र निर्माण भईरहेको धाप बाँध निर्माण सम्पन्न भएपछि वाग्मतीले पुनर्जन्म पाउने धारणा व्यक्त गर्नुभएको छ । उहाँले नेपाल रहँदा घुमेका ठाउँहरुबारे फेसबुकमा लेख्दै नेपाल बसाईमा चिसापानी भ्रमण विशेष रहेको र उक्त क्षेत्रमा निर्माण भईरहेको धाप बाँधको प्रगति देखेर धेरै खुसी लागेको स्मरण गर्नुभएको छ ।

बाँधको निर्माण सम्पन्न भएपछि त्यहाँ वर्षाको पानी जम्मा गरिनेछ । असार, साउन, भदौ र असोजमा पर्ने पानीलाई जम्मा गरेर बाँकी ८ महिना बागमतीमा पठाईनेछ । झण्डै एक वर्ग किलोमिटरमा फैलने बाँधमा जम्मा भएको पानी छोड्दा वाग्मतीमा प्रति सेकेण्ड ४० लिटर सफा पानी थपिनेछ ।

धाप बाँघ परियोजना वाग्मती कार्ययोजना २००९ ले बागमती संरक्षणका लागि गरिएका सिफारिसहरू मध्येको एक हो । वाग्मती कार्ययोजना युएन ह्याबिट्याटको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सन् २००९ मा तयार पारेको थियो । डेपुटी डाईरेक्टर श्रेष्ठले आफूले युएन ह्याबिट्याटको नेतृत्व सम्हालेको बेला बनेको कार्ययोजना मध्ये धाप बाँध निर्माण भईरहेको देख्दा खुसी लागेको र गौरवान्वित भएको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले परियोजना सम्पन्न भएपछि वाग्मती नदीले पुनर्जन्म पाउन सकिने आशा व्यक्त गर्नुभएको छ । ‘यो मेरो जिन्दगीको सबैभन्दा ठूलो सपना हो र पक्कै पनि यो सबैजसो काठमाडौंबासीहरुको पनि सपना हुनुपर्छ ।’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

काठमाडौंवासी पानी स्मार्ट जनता बन्नुपर्ने 

परियोजना सँगसँगै काठमाडौं उपत्यकामा निर्माणाधीन सबै फोहोरपानी प्रशोधन केन्द्रहरू सञ्चालन हुने र सुख्खायाममा धाप बाँधबाट पानी निस्कने हो भने अवको पाँच वर्षभित्र सफा र स्वच्छ वाग्मती देख्न सकिने उहाँको अपेक्षा छ । तर काठमाडौंवासीले पनि आफ्नो आनीबानीमा परिवर्तन गरेर पानी स्मार्ट जनता बन्नुपर्ने उहाँको सुझाव छ ।

‘आफ्नो घरबाट निस्कने फोहोर र फोहोर पानीलाई व्यवस्थित गर्नुको साथसाथै सकेसम्म आकाशेपानी संकलन वा व्यवस्थित गर्नुपर्दछ’ उहाँले लेख्नुभएको छ ‘यदि काठमाडौंका जनताहरुले सो कार्य नगरेमा सरकार वा नगरपालिकाले कडा भन्दा कडा कारबाही गर्नुपर्दछ ।’

मेलम्चीको पानी सबैको धाारमा आएपछि फोहोरपानी पनि प्रशस्तै निस्किने भएकाले फोहोरपानी प्रशोधन अबको प्राथमिकता हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

वाग्मती कार्ययोजनामा वाग्मती संरक्षणका अन्य थुप्रै सुझावहरु समेटिएको र ती सुझावहरु खासै कार्यान्वयनमा नआएकाले योजना विद्हरुले एकपटक वाग्मती कार्ययोजनालाई फुर्सद दिएर पढ्न आग्रह गर्नुभएको छ । यस्ता परियोजनाहरू जलवायु परिवर्तनको चुनौतीसँग जुध्नका लागि पनि नगरी नहुने भएकाले कार्यान्वयनमा ल्याउन उहाँले जोड दिनुभएको छ ।

धाप बाँधमा साढे ८ लाख घनमिटर अर्थात ८५ करोड लिटर बर्षातको पानी जम्मा हुनेछ । यसका लागि बागमती तर्फ २४ मिटर अग्लो बाँध निर्माण गरिएको छ । अन्य तीन ठाउँमा इन्द्रावती जलाधार क्षेत्रमा पानी जान नदिने गरी साना साना ३ वटा बाँध निर्माण गरिएको छ । बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

झण्डै ५१ करोड लागतमा निर्माण भइरहेको बाँध सन् २०१९ को अप्रिलमै सक्नुपर्ने भएपनि निर्माण व्यवसायीले म्याद थप गर्दै आएको छ । चिनियाँ कम्पनीसँगको सहकार्यमा लामा र रमन जेभीले बाँधको निर्माण गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार