सरसफाइ प्रणाली अर्थात स्यानिटेसन भ्यालु चेन भनेको के हो ?

काठमाडौ : के तपाईलाई थाहा छ ? दिसापिसाब गरेपछि शौचालयमा फ्लस गरेको पानी कहाँ जान्छ होला रु ढल जडान भएको क्षेत्रको मानवमलमूत्र त ढल मार्फत बगेर फोहोरपानी प्रशोधन केन्द्रमा पुग्छ । तर ढल जडान नभएको क्षेत्रको मानवमलमूत्र भने व्यवस्थापन गर्न जरुरी हुन्छ । यसका लागि सबैभन्दा पहिले मानवमलमूत्रको व्यवस्थित संकलन देखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया अपनाउनुपर्छ । यसलाई सरसफाइ प्रणाली वा स्यानिटेशन भ्यालु चेन भनिन्छ।

यस अन्तर्गत पाँचवटा चरणहरु हुन्छन् । पहिलो हो संकलन, यो भनेको चर्पीमा मात्र दिसापिसाब गर्नु हो । दोस्रो हो भण्डारण, दिसापिसाब, पानी, ट्वाईलेट पेपर, अन्य फोहोरपानीहरु सेप्टिक ट्यांकमा जम्मा गर्नु नै भण्डारण हो । तेस्रो हो रित्याउने र ढुवानी गर्ने, यस अन्तर्गत खाल्डो वा सेप्टिक ट्यांक जम्मा भएको दिसाजन्य लेदो निकाल्नु र प्रशोधन स्थलसम्म पुर्याउने काम पर्दछ । सरसफाइ प्रणालीको चौथो चरण हो प्रशोधन ।

यस अन्तर्गत विभिन्न प्रशोधन प्रविधिहरुको प्रयोग गरेर दिसाजन्य लेदोमा भाएका हानिकारक वस्तुहरु, जीवाणु, किटाणु हटाउने र न्यूनीकरण गर्ने कार्य पर्दछ । त्यसपछि पाँचौं तथा अन्तिम चरणमा प्रशोधन पश्चात निस्किएको उत्पादनलाई सुरक्षित रुपमा प्रयोग गर्न सकिन्छ भने यसलाई सुरक्षित तरिकाले विसर्जन पनि गर्न सकिन्छ ।

सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल (सोफेन) का महासचिव राजीव जोशी भन्नुहुन्छ ‘शौचालयबाट आएको फोहोरहरु सेफ्टिक ट्याङ्कमा जम्मा हुन्छ । सेप्टिक ट्याङ्को फोहोरलाई हामीले डिस्लाजर ट्याङ्करद्धारा निकालेर प्रशोधन केन्द्रमा लैजान्छौं । प्रशोधन केन्द्रमा प्रशोधित गरिसकेपछि त्यसको फोहोरहरु दुई प्रकारको हुन्छ । एउटा चाहिं ठोस आउँछ, अर्को चाहिं तरल आउँछ ।’ उहाँका अनुसार प्रशोधन पछिको पानी खेतबारीमा प्रयोग गर्न सकिन्छ भने ठोस चाहिं मल बनाएर प्रयोग वा बेच्न पनि सकिन्छ । ठोस पदार्थ खेतबारीमा नाईट्रोजन र फस्फोरयुक्त भएको हुनाले खेतबारीलाई सहयोग गर्छ ।’

तर सेफ्टिक ट्याङ्कीमा जम्मा भएको दिसाजन्य लेदोलाई खाली गरी सुरक्षित तरिकाले ढुवानी गर्ने र प्रशोधन केन्द्रमा प्रशोधन भएपछि मात्र पुनः प्रयोग वा बिसर्जन गर्नुपर्ने भएपनि काठमाडौ उपत्यका सहित देशका मुख्य शहरहरुमा दिसाजन्य लेदो प्रशोधन केन्द्र नहुँदा व्यवसायीहरु खोलानाला वा ढलको मंगाल खोलेर बिसर्जन गर्न बाध्य छन् ।

दिसाजन्य लेदोलाई खोलानाला वा ढलको मंगाल खोलेर बिसर्जन गर्नु आफूहरुको बाध्यता रहेको र दिसाजन्य लेदो प्रशोधन केन्द्र भएमा लागत शुल्क व्यहोर्ने तर अनियन्त्रित तरिकाले विसर्जन नगर्ने सफाइ व्यवसायीहरु बताउँछन् । दिसाजन्य लेदो खोलानालामा विसर्जन गर्दा खानेपानीको स्रोत तथा वातावरण प्रदुषण हुने र जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले दिसाजन्य लेदो व्यवस्थापन अपरिहार्य भएको छ ।

मानवमूत्रको असुरक्षित बिसर्जनका कारण मानवीय स्वास्थ्यमा पुग्ने हानी र वातावरणीय प्रदुषण रोक्न मानवमलमूत्र व्यवस्थापन गर्न ढिलाई भईसकेको छ । यसका लागि तीनै तहको सरकार गम्भीर हुन आवश्यक छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार