सरसफाइकर्मीको बस्ती नै फोहोरको दलदलमा


सर्लाही : बजारक्षेत्र, अफिस, होटल, सडक गल्ली देखि शौचालयको सेफ्टिक ट्याङ्क र नाली समेत सरसफाइ गरेर चिटिक्क पार्दै आएका सरसफाइकर्मी स्वयंको बस्ती भने फोहोरको दलदलमा परेको छ । परापूर्वकाल देखि नै सरसफाइको काम गर्दै आएका सर्लाहीको मेस्तर बस्ती फोहोरको चपेटामा परेको हो ।

बरहथवा नगरपालिका कार्यालयको सामुन्नेमै रहेको मेस्तर बस्ती वरपर अग्ला अग्ला भवनहरु छन् । ती अग्ला भवनमा बस्ने मानिसहरुले फोहोरजत्ति मेस्तर बस्तीको कुलेसोमा फ्याँक्ने गरेका छन् । आफूहरुको कुलेसोबाटै धनी मानिसहरुले फोहोरपानी पनि बगाईदिंदा आँगनमा बसि नसक्नु भएको मेस्तर बस्तीकी रानीदेवी मेस्तरले बताउनुभयो ।

जमेको फोहोर पानीमा पानीका बोतल, चप्पल, चाउचाउ र ड्राई फुड्सका खोल तथा थोत्रा कपडाका टुक्राहरु तैरिएका छन् । छाडा सुँगुर र अन्य पशु चौपाया पनि त्यही फोहोरपानीमा पस्छन् ।


सरसफाइको काम मेस्तर समुदायको पुर्ख्यौली पेशा हो । अझै पनि उनीहरु नगरपालिका क्षेत्रको सडक सरसफाइ, होटल तथा व्यापारिक स्थानहरु र विभिन्न कार्यालयको सरसफाइ गर्छन् । अरुको घर आँगन सफा पारे पनि आफूहरु भने फोहोरको डँगुरभित्र जीवन गुजार्न बाध्य भएको बरहथवा नगरपालिका ५, सर्लाहीका दिलिप मेस्तरले बताउनुभयो ।

बस्तीको बीचमा हातेपम्प गाडिएको छ । हातेपम्पको पानी पिउन योग्य रहे नरहेको उनीहरुलाई केही जानकारी छैन । पानीको लागि खासै समस्या नभए पनि बर्षातको समयमा डुबानमा पर्ने र घरभित्र सम्म फोहोरपानी पस्ने भएकाले अरुकै घरमा शरण लिएर बस्नुपर्ने बाध्यता हुने रानीदेवी मेस्तरले बताउनुभयो ।

 


बस्तीमै छैन शौचालय, बजारको शौचालय भत्काएर मन्दिर बनाउने सुरसार

बरहथवा बजारमा हरेक बिहीबार साप्ताहिक हाट लाग्छ । हाट सँगै रहेको मेस्तर बस्तीका कसैको घरमा पनि शौचालय छैन । बरहथवा बजारमा रहेको सार्वजनिक शौचालय समेत भत्काए पछि उनीहरुलाई पर्नु समस्या परेको छ । टोलभरिका मानिसले दिसापिसाब गर्दै आएको शौचालय भत्काएर दुर्गा मन्दिर बनाउने भएपछि आफूहरु विद्यालयको शौचालयमा जान बाध्य भएको मेस्तर बस्तीका दिलिप मेस्तरले बताउनुभयो । ‘बजारको शौचालय सधैंभरि खुला हुन्थ्यो, स्कुलको शौचालय सधैं खुला हुन्छ भन्ने पनि छैन । सार्वजनिक शौचालय भत्काएपछि सबैभन्दा बढी समस्या बालबालिका र बृद्धबृद्धालाई परेको छ ।’ उहाँले भन्नुभयो ।

सरकारी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका मेस्तर समुदायले शौचालय बनाउन चाहे पनि उनीहरुलाई शौचालय बनाउनै नदिएको रानीदेवी मेस्तर बताउनुहुन्छ । ‘हामीले यहाँ शौचालय बनाउन लाग्यौं भने यो खाली ठाउँ त नम्बरी जग्गा हो बनाउन पाईदैन भन्दै आउँछन्’ खाली जग्गा देखाउँदै उहाँले भन्नुभयो ‘भएका जग्गामा सानो सानो छाप्रो बनाएका छौं, यसमा बनाउन लाग्यौं भने व्यक्तिको जग्गा हो बनाउन पाईदैन भन्छन् ।’


जिल्लामै रहेको मुसहर, डुम लगायत भूमिहीनका लागि घर बनाईदिए पनि आफूहरुलाई राज्यले नै विभेद गरेको उनीहरुको गुनासो छ । हाल बसिरहेको ठाउँबाट समेत हटाउने चर्चा बेला बेलामा हुने गरेको सुनाउँदै दिलीप मेस्तरले आफूहरुलाई अन्यत्र बासको व्यवस्था गरेर मात्र बस्ती सार्ने कुरा गर्न आग्रह गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार