कौसी खेतीको अगुवाई गर्दै मध्यपुर थिमी, हरेक घरको कौसीमा खेती सुरु नहुँदासम्म कार्यक्रम नरोकिने

भक्तपुर : कौसी खेतीलाई वैकल्पिक कृषिको रुपमा अंगीकार गर्दै आएको भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले यसलाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले आगामी बर्षको कार्यक्रममा बजेट विनियोजन गरी कौसी खेतीलाई व्यापकता दिने भएको हो ।

मध्यपुर थिमी नगरपालिकामा सञ्चालित ‘हरित कौसी खेती जीवनका लागि पानी परियोजना’ को समापन तथा कौसी खेती सम्बन्धी गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा कौसी खेतीको बढ्दो प्रभावकारिताका कारण बजेटमै समावेश गर्न लागेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

युएन, ह्याबिट्याटको सहयोग र मध्यपुर थिमि नगरपालिकाको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले मध्यपुरथिमी नगरपालिकाको वडा नं. १ र ३ का सय घरपरिवारमा कौसी खेती सम्बन्धी प्रविधि र सीप अभिवृद्धि गरिएकोे छ । कौसी खेती मार्फत कुहिने फोहोर र खैरो पानी तथा आकाशेपानीको व्यवस्थापन गर्ने, खाद्य सुरक्षामा टेवा पुर्‍याउने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का सिनियर वास अफिसर सिर्जना शाक्यले बताउनुभयो । २०७७ चैत्रदेखि सुरु भएको ‘हरित कौसी खेती जीवनका लागि पानी परियोजना’ ले नगर क्षेत्रका बासिन्दालाई कौसी खेतीमा आकर्षण बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

‘हरित कौसी खेती जीवनका लागि पानी परियोजना’ ले सय घरलाई मात्र लक्षित गरी कार्यक्रम सञ्चालन गरेपनि यो परियोजनाको प्रभावकारिताका कारण नगरपालिकाले यसलाई आफ्नो कार्यक्रम बनाएर विस्तार गरिसकेको छ । नगरपालिकाले चालु आर्थिक बर्षभित्र ३ सय घरपरिवारलाई कौसी खेती सम्बन्धी तालिम दिईसकेको मध्यपुरथिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ बताउनुभयो ।

साबुन बनाउने, ढाकाको जुत्ता सिलाउने, धुप बनाउने, झोल साबुन बनाउने, खेलौना बनाउने जस्ता थुप्रै तालिमहरु सञ्चालन गरेपनि त्यसको प्रभावकारिता खासै नभएको भन्दै मेयर श्रेष्ठले कौसी खेती तालिम पश्चात ९० प्रतिशतले व्यवहारमा अबलम्बन भएको पाइएको बताउनुभयो ।

कौसी खेतीको माध्यमबाट आफ्नै घरमा हरिया सागपातको आपूर्ति हुने त छँदैछ, यसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत तन्दरुस्त राख्ने कौसी कृषकको अनुभव छ । नगरपालिका र एन्फोले प्रदान गरेको तालिमबाट माटो तयारी गर्ने, गोडमेल गर्ने, घरेलु बिषादी बनाउने र मल बनाउने तरिका समेत जानेपछि व्यवस्थित तरिकाले कौसी खेती गर्न थालेको कौसी कृषकहरु बताउँछन् ।

कौसी खेती सम्बन्धी एन्फोले नै गरेको अध्ययनमा ६१ प्रतिशत कृषकहरुले नगरपालिका मार्फत तालिम लिएको र ३९ प्रतिशतले विभिन्न संघसंस्थाबाट तालिम लिएको पाइएको छ । कौसी खेती प्रबर्द्वनको कामलाई नगरपालिकाले आफ्नो कार्यक्रम भित्र समावेश गरेकोमा एन्फोका वरिष्ठ कार्यक्रम व्यवस्थापन प्रशन्नमान प्रधानले खुसी व्यक्त गर्नुभयो । उहाँले जुनसुकै परियोजनाहरुको सीमित समयावधि हुने भएकाले त्यसपछिको कार्यक्रमलाई सरकारले नै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौ उपत्यका लगायत देशका मुख्य सहरहरुमा खेतीयोग्य जमिन घरैघरले भरिदै गएका छन् । शहरी क्षेत्रमा कौसी खेतीलाई बैकल्पिक खेतीको रुपमा प्रबर्द्वन गर्न सके कौसी खेतीबाट हुने तमाम फाइदाहरुबाट लाभान्वित हुनेमा दुई मत छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार