सफा हिमाल अभियान–२०२२आरम्भ, ३५ टन फोहोर व्यवस्थापन गर्ने लक्ष्य

करिब १३ करोड लागत लाग्ने अनुमान

काठमाडौ : हिमाल सफाइको तेस्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ को आरम्भ भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाईका नेतृत्वकर्तालाई माउन्टेन क्लिन क्याम्पियन –२०२२ को व्यानर हस्तान्तरण गरेर सफा हिमाल अभियान २०२२ को औपचारिक आरम्भ गर्नुभएको हो ।

हिमाल सफाइ अभियान अन्तर्गत नेपाली सेनाले सगरमाथा,लोत्से,कञ्चनजंगा र मनास्लु हिमालको सफाइ गरी ३५ टन फोहोर व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । आगामी जेठ २२ गतेसम्म सञ्चालन हुनेहिमाल सफाइ अभियानमा हिमालमा थुप्रिएको फोहोर सफा गर्न पर्यटन विभागबाट २९ सेनाले अनुमति लिईसकेका छन्। सफाइ अभियानमा करिब ८७ जनाको सहभागिता हुने नेपाली सेनाले जनाएको छ ।

हिमाल सफाइ अभियानबाट संकलन हुने सड्ने फोहोरलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने र नसड्ने फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीहरूलाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताउनुभयो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा नेपाल सरकारका सम्बद्ध निकायहरु लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, Expedition Operators Associations, Himalayan Rescue Association, WWF Nepal, ब्यापारिक संघसंस्थाहरु कोकाकोला कम्पनी, युनिलिभर नेपाल, Surya Nepal Pvt. Ltd., Yeti Airlines, Nepal Distilleries Pvt. Ltd, Jawalakhel Group of Industries, Avni Ventures हरुको आर्थिक एवं प्राविधिक सहयोग समेत रहेको छ भने उक्त अभियानको सेवा प्रदायकको रुपमा Peak Promotion Company रहेको नेपाली सेनाले जनाएको छ ।

‘सफा हिमाल अभियान–२०२२’ विश्व वातावरण दिवसका दिन औपचारिक रुपमा समापन हुनेछ । यस बर्ष सफा हिमाल अभियानको दौरान नेपाली सेनाका ४ (चार) डाक्टर अधिकृतहरु खट्टिएर हाई अल्टिच्युडले स्वास्थ्यमा पार्ने प्रभाव अध्ययन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि माउण्टेन मेडिसिन रिशर्च समेत गर्नेछन् ।

नेपाली सेनाले विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि “सफा हिमाल अभियान” शुरु गरेको थियो । यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा Global Warming को असरलाई कम गर्न केही हदसम्म सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

हिमाल सफाइका लागि करिब १२ करोड ९६ लाख लागत लाग्ने अनुमान गरेको भए पनि हालसम्म ८ करोड ३० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ। नेपाल सरकारबाट यस बाहेक अभियानमा प्रयोग हुने हवाई साधन, मेडिकल र सञ्चार खर्चमा एक करोड ३० लाख रकम विनियोजन भएको जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार